NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारको प्रतिबद्धता

रसुवा । प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्णरूपले पालना गर्ने रसुवाका उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवामा बुधबार आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनसमाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेश्नल अर्गनाइजेशन र राष्ट्रिय स्वतन्त्र पार्टीसमेतका राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारसमेतले सो प्रतिबद्धता जनाएका हुन् ।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल, प्रमुख जिल्लाअधिकारी नवराज जैसी, सुरक्षा अङ्गका प्रमुख, जिल्ला निर्वाचन अधिकारी श्रीराम थापालगायतका सो कार्यक्रममा सहभागिता रहेको थियो ।

राजनीतिक दलको तर्फबाट सम्बन्धित जिल्ला पार्टी प्रमुख, प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, प्रदेशसभाका लागि माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद गोतामे , कांग्रेसका प्रदेश उम्मेदवार प्रभात लामा, राप्रपाका प्रदेश उम्मेदवार हरिप्रसाद घिमिरेसमेतका उम्मेदवारको सहभागिता रहेको प्रमुख कोष नियन्त्रक एवं आचारसंहिता अनुगमन समितिका जिल्ला संयोजक हेमराज पौडेलले जानकारी दिए ।

निर्वाचन आचारसंहिता २०७९ पूर्णरूपमा पालना गर्ने दलका नेता तथा कार्यकर्ताले प्रतिबद्धता गर्नुभएका कारण जिल्लाको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न हुनेमा नागरिक समाज पूर्ण आशावादी रहेको समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

सर्वदलीय बैठकमा आचारसंहिता २०७९ को नयाँ व्यवस्थाअन्तर्गत झण्डाको साइज, प्रचारप्रसारको अवधि, शिष्ट भाषाको प्रयोग, सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्दा अपनाउनुपर्ने विधिसमेतका निर्वाचन आयोगद्वारा जारी गरेको विविध सामग्री प्रस्तुत गरिएको थियो ।

आसन्न निर्वाचनमा जिल्लामा ३९ हजार चार सय ५९ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रहरी कार्यालय रसुवाले म्यादी प्रहरीलाई तालिम प्रदान गरिरहेको बताइएको छ ।