NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

काठमाडौं २ मा ओनसरी र मणिरामलाई चुनौती दिंदै स्वतन्त्रकी सोविता

काठमाडौं । काठमाडौं २ मा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादीकी ओनसरी घर्ती र एमालेका मणिराम फुयाँललाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम अगाडि सरेकी छिन् । २७ वर्षीया सोविता ४४ वर्षीया घर्ती र ५६ वर्षीय फुयाँललाई चुनौती दिन अघि सरेकी हुन् ।

रवि लामिछानेको नयाँ पार्टीबाट उम्मेदवारी दिएकी सोविता ठूला पार्टीकै शैलीमा घरदैलोमा व्यस्त छिन् ।

आफूहरूको पुस्तालाई पुरानो राजनीतिक नेतृत्वले गरेको गल्ती दोहोर्याउने छुट नभएको भन्दै यतिखेर घरदैलोमा व्यस्त छिन् ।

यो क्षेत्र २०७४ सालमा एमालेका माधवकुमार नेपालले जितेको क्षेत्र हो । तर यसपटक नेपाल रौतहटबाट चुनाव उठ्दैछन् । यसैले सत्ता गठबन्धनको भागबण्डामा यो क्षेत्राबाट माओवादी ओनसरी घर्ती चुनावी मैदानमा उत्रिएकी छिन् । २०६४ सालमा माओवादीका झक्कुप्रसाद सुवेदीले माधव नेपाललाई हराएको क्षेत्र पनि यही हो ।

एमालेले यसपटक मणिराम फुयाललाई उम्मेदवारका रुपमा अगाडि सारेको छ । एमाले र माओवादीको परीक्षण भइसके पनि नयाँ दलका रुपमा स्वतन्त्र पार्टीको जनमत पहिलोपटक परीक्षण हुन लागेको छ ।

स्वतन्त्र पार्टीले युवा अनुहारलाई उम्मेदवारमा अवसर दिएको छ । उनी अधिवक्ता, सामाजिक अभियन्ता, टेलिभिजन प्रस्तोता हुँदै लामिछानेको पार्टीमा पुगेकी हुन् ।

यो क्षेत्रमा जसपाबाट गोपालबहादुर तण्डुकार, राप्रपाबाट कुन्तीदेवी पोखरेल उम्मेदवार छन् । अरु विभिन्न दल र स्वतन्त्र गरी यो क्षेत्रबाट अरु एक दर्जन बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन

के छ अघिल्लो चुनावको परिणाम ?

२०७४ सालमा एमाले र माओवादी मिल्दा एमालेका माधवकुमार नेपाल १२४६३ मतान्तरले विजयी भएका थिए । नेपालले २७३६६ र कांग्रेसका दीपकप्रकाश कुइँकेलले १४९०३ मत प्राप्त गरेका थिए ।

स्थानीय तह निर्वाचनमा को बलियो ?

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं २ भरका वडाध्यक्षतर्फ एमालेले १७३२८, कांग्रेसले १४१२८, नेकपा एसले ७९११, राप्रपाले ७२०० र माओवादीले ३१३१ मत प्राप्त गरेका थिए । यो मत हेर्दा सत्ता गठबन्धनको २५१७० मत हुन आउँछ । एमाले मतमा झण्डै ११ हजार अन्तरले पछाडि देखिन्छ ।

अब के होला ?

यो क्षेत्र एमालेपछि कांग्रेसको राम्रो मत रहेको स्थानीय तहको निर्वाचनले पनि देखाउँछ । कांग्रेसको धेरै मत रहेको ठाउँमा माओवादीबाट उम्मेदवार रहेपछि कांग्रेसका असन्तुष्टि पनि देखिन्छ । यस्तो असन्तुष्टिको फाइदा यसपटक एमालेले उठाउन पनि सक्नेछ । ओनसरी टुरिस्ट उम्मेदवार भन्दै यसपटक आलोचित छिन् । यद्यपी सभामुख भइसकेको, कुनै विवादमा नतानिएको र शीर्ष नेता हुनुको फाइदा उनलाई छ । तर पनि गठबन्धनको हिसाब भएजति मत उनले पाउने देखिंदैन ।

रवि लामिछानेको पार्टीबाट उठेकी सोविता नयाँ पार्टीर्की नयाँ युवा अनुहार हुन् । स्वतन्त्रको पक्षमा लहर देखिने र कांग्रेसको भोट पनि क्रस हुने अवस्था आए सोविता पनि यसपटक चुनौती दिन सक्नेछिन् । किनकी स्थानीय तहको निर्वाचनमा स्वतन्त्रका बालेन शाहले काठमाडौंमा तहल्का नै मच्चाएका थिए । निक्कै चलाखी गरेर रविले पनि पार्टीको नाम स्वतन्त्र राख्न सफल भएका छन् । यही स्वतन्त्रको बलमा रविको पार्टीले कति चुनौती दिन सक्ला यो मतदाताको मुडले नै निर्धारण गर्छ ।

स्वतन्त्रकी सोविताले ठूला पार्टीकै शैलीमा दिनहुँजस्तो घरदैलो कार्यक्रम गरिरहेकी छिन् । परम्परागत राजनीतिक दलले देशमा विकृति र विसंगती भित्र्याएको नारा लिएर अब देशलाई सुधार गर्ने कार्यक्रम लिएर उनी भोट माग्नमा केन्द्रित छिन् ।

पुराना गल्ती र कमजोरीलाई सुधार्ने यसपटक नयाँ युवा अनुहारलाई भोट दिएर जिताउन आग्रह गर्दै संगठित एमाले र सत्ता गठबन्धनका दलसामू उनी चुनौती पेश गर्दै छिन् ।

परम्परागत दलबाट वाक्क भएकाका मत आफनो दलतर्फ तान्ने पहिलो रणनीतिमा उनी लागेकी छिन् । परम्परागत पार्टीकै असन्तुष्ट भोट तानेर र पुराना दलसँग टक्कर गर्ने रणनीतिमा सोविता लागेकी छिन् ।

आफू सक्षम र योग्य पुस्ता भएको भन्दै कमाउन र भ्रष्टाचार गर्न नभई जनताको हितको निम्ति काम गर्न राजनीतिमा अघि बढेको उनले बताउँदै आएकी छिन् ।