NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एसका २१ उम्मेदवार : दुई/चार जना ढुक्क, गठबन्धनले सहयोग नगरे अरु सबै उम्मेदवार जोखिममा

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेलेको नेकपा (एकीकृत समाजवादी) दोस्रोपटक चुनावी मैदानमा उत्रिएको छ ।

एमालेबाट विद्रोह गरी नयाँ दल खोलेको १५ महिनामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन लागेको हो । यसअघि ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गठबन्धनको सहयोगमा चुनावी मैदानमा उत्रिएको थियो ।

एकीकृत समाजवादीले गठबन्धनको सहकार्यमा २० सिट पाएको छ । तीमध्ये रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोग खारेज गरेको छ । यद्यपि उम्मेदवारी रद्द गर्ने आयोगको निर्णय विरुद्ध गुरुङले सर्वोच्च मुद्दा हाले पनि आयोगको निर्णयलाई सदर गरिदियो । जसले उनको उम्मेदवारी खारेज भएको छ ।

२० सिटमा गठबन्धनसँग तालमेल गरेको उसले धनुषा २ र रामेछाप १ मा माओवादीसँग मिलेर निर्वाचनमा भाग लिएको छ । स्थानीय तह निर्वाचनमा जम्मा २२ सिट जितेको एसले ठूला महानगरपालिका र उपमहानगरपालिकामा एमालेलाई हराउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

सिराहा ४ मा बाहेक आसन्न निर्वाचनमा अध्यक्ष माधव नेपालसहित पदाधिकारीका अधिकांश नेताहरू एमालेसँग प्रतिस्पर्धा गर्दैछन् । योपटक पनि एमालेलाई हराउन निर्णायक शक्ति मानिएको एकीकृत समाजवादीका उम्मेदवार कति सुरक्षित छन् भन्नेबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी हुन थालेको छ ।

२०७४ को निर्वाचनमा काठमाडौं २ बाट विजयी भएका अध्यक्ष नेपालले योपटक रौतहट १ बाट निर्वाचनमा भाग लिएका छन् । सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनाल साविक निर्वाचन क्षेत्रबाट नै उठेका छन् । कर्णालीमा माओवादीे नेतृत्वको सरकार जोगाउन एमालेसँग विद्रोह गरेका उपमहासचिव प्रकाश ज्वालाले सल्यानबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

एमालेले भीम रावललाई टिकट नदिएको अछाम १ बाट सरकारका श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । एमालेका सचिव गोकर्ण बिष्टसँग एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री भिड्दैछिन् । वाग्मती प्रदेशका मुख्यमन्त्री रहेका राजेन्द्रप्रसाद पाण्डेसँग एमालेका भूमि त्रिपाठीको रोचक भिडन्त हुने अनुमान गरिएको छ । त्यस्तै पाल्पा २ मा सोमप्रसाद पाण्डेसँग एमालेका लोकप्रिय युव नेता ठाकुर गैरेले पहिलोपटक प्रतिस्पर्धा गर्दैछन् । बझाङमा एमालेका चर्चित विद्यार्थी नेता ऐन महरसँग भानुभक्त जोशी मैदानमा उत्रिएका छन् ।

धनुषा २ रामचन्द्र झालाई माओवादीले साथ दिएको छ । कांग्रेसले रामकृष्ण यादवलाई मैदानमा उतारेको छ । रामेछापमा देवशंकर पौडेललाई गठबन्धन दल कांग्रेसका उम्मेदवार पूर्णबहादुर तमाङले चुनौती दिएका छन् । एमाले विभाजनमा २३ जना सांसदले एकीकृत समाजवादीलाई साथ दिएका थिए । तीमध्ये १३ जनामात्र प्रत्यक्ष निर्वाचित सांसद थिए । मंसिर ४ मा हुने निर्वाचना यी सबै रोचक परिदृश्यको बाबजुद एसले कति सिट जित्ला भन्नेमा आम चासो रहेको छ ।

आगामी निर्वाचनमा वामपन्थी विभाजनले एमालेको भोटलाई प्रभावित पार्ने र त्यसको सोझो फाइदा कांग्रेसलाई हुने धेरैको अनुमान छ । देशभर सांगठनिक जनाधार निकै कमजोर रहेको माओवादी र एकीकृत समाजवादी अप्ठ्यारो स्थितिमा रहेपनि एमालेका उम्मेदवारलाई हराउन निर्णायक देखिएका छन् ।

एकीकृत समाजवादीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १६ सिट जित्ने अनुमान गरेको छ । गुल्मी २, पाल्पा २, काठमाडौं ८, बझाङ, धनुषा २, रामेछाप १ जितको लागि बढी मेहनत गर्नुपर्ने उनीहरूको आन्तरिक मूल्याङन रहेको छ ।

उपमहासचिव प्रकाश ज्वालाले कर्णालीमा एकीकृत समाजवादीले पाएको तीनै सिट जित्ने दाबी गर्छन् । ‘अन्त के हुन्छ भन्न सक्दिनँ तर हाम्रो प्रदेशको तीनै सिट हामीले जित्छौ’, उनले नेपालवाचसँग भने, ‘लुम्बिनी, गण्डकी, वाग्मती, मधेशलगायत केही सिटमा जित निकाल्न मेहनत गर्नुपर्ने देखिन्छ । दुई–तीन सिटबाहेक लगभग हाम्रा सबै उम्मेदवार जित्ने सम्भावना बलियो छ ।’

आगामी निर्वाचनमा एमालेले नराम्रो झड्का बेहोर्ने उनको जिकिर छ । ‘एमालेलाई हामीले हराउनै पर्दैन ओलीको दम्भ र अहंकारले उसलाई हराउन पार्टीभित्रकै शक्ति काफी छ ।’ उनी भन्छन् । निर्वाचनपछि एमाले २० सिटभन्दा तल खुम्चिने अवस्था रहेको ज्वालाको अनुमान छ । एमालेले सर्मनाक हार व्यहोर्ने दाबी गरेको एकीकृत समाजवादीले उसकै अवस्था के छ भन्ने विषयमा गठबन्धनको सहयोग, प्रतिस्पर्धी उम्मेदवार, चुनावी एजेण्डा र मतदाताको मनोविज्ञान बुझ्न आवश्यक छ ।

को कति सुरक्षित ?

प्रदेश १

गठबन्धनले इमान्दारिता देखाए जित सहज

इलाम १ बाट एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले योपटक एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन् । २०५६ को निर्वाचनबाहेक सबै निर्वाचन जित्दै आएका खनालले यसपटक अन्तिमपटक भन्दै मतदातासँग भोट मागेका छन् ।

२०७४ को निर्वाचनमा वामपन्थी गठबन्धनबाट खनाल ३८ हजार ८०५ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । उनको मतान्तर १७ हजार १६७ रहेको छ ।

योपटक कांग्रेस र माओवादीको सहयोगमा मैदानमा उत्रिएका खनालका प्रतिस्पर्धी बस्नेत कमजोर उम्मेदवार भएकाले जित निकाल्न सहज रहेको उनी निकटस्थको भनाइ छ । स्थानीय तह निर्वाचनमा इलाम १ मा एमालेको २६२३३, कांग्रेसको २५७७२, एसको ९४८१, जसपाको १८२९, माओवादीको १२३५ र राप्रपाको ११६९ मत रहेकोछ । एमालेसँगको मतान्तर ८ हजार ४२६ रहेको छ ।

वर्षौंदेखिको परिचित अनुहार, त्यहाँको भूगोल र जनतासँग राम्रो जानकार रहेका उनलाई गठबन्धनले इमान्दार साथ दिए जित्ने सम्भावना बलियो देखिन्छ ।

जित चुनौतीपूर्ण

धेरै गलफत्तिपछि अन्तिममा नेकपा एसको भागमा परेको उदयपुर २ मा गठबन्धनबाट उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उठेका छन् । उनको प्रतिस्पर्धीमा एमालेका अम्बरबहादुर रायमाझी उत्रिएका छन् । २०७० को निर्वाचनमा खतिवडालाई जिताउन रायमाझी खटिएका थिए । तर खतिवडा पराजित भए । यसपटक उनै खतिवडालाई हराउन एमालेले रायमाझीलाई अघि सारेको छ । उनले पहिलोपटक एमालेबाट निर्वाचनमा भाग लिएका हुन् । २०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका खतिवडा पछिल्ला २ वटा निर्वाचनमा पराजित भएका थिए ।

२०७४ मा वाम गठबन्धन हुँदा सो क्षेत्र माओवादीलाई परेको थियो । सुरेश राई २२ हजार ५५१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायणबहादुर कार्कीको १५ हजार ४५५ मत रहेको छ । मतान्तर ७ हजार ९६ रहेको छ ।
वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उदयपुर २ मा एमालेको १८ हजार ५७३, कांग्रेसको ११ हजार ३४४, माओवादीको ८ हजार २०२,

नेकपा एसको ३ हजार ४२७ र जसपाको १ हजार ४३४ मत रहेको छ । यहाँ गठबन्धनको २२ हजार ९७७ रहेको छ । एमालेसँगको मतान्तर ४४०० रहेको छ । योपटक कांग्रेस र माओवादीको साथ खतिवडालाई भएकाले जित सहज देखिन्छ । तर कांग्रेस इमान्दार नदेखिए खतिवडालाई अप्ठ्यारो पर्न सक्छ ।

मधेश प्रदेश

सत्तापक्ष र प्रतिपक्षको बराबर मत

सिराहा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका तर्फबाट उपाध्यक्ष धर्मनाथप्रसाद साहले जसपाका वीरेन्द्र महतोसँग प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो निर्वाचनमा राजपाका नेता राजकिशोर यादव २१ हजार १४४ मत विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार अजयशंकर नायकले १७ हजार ५७५ मत पाएका थिए ।

कांग्रेस वडाध्यक्षका उम्मेदवारहरूले १२ हजार ८ सय ६, माओवादीको ११ हजार ६८६ र समाजवादीका उम्मेदवारले ३६ सय र लोसपाले १ सय ९७ मत प्राप्त गरेका छन् ।

एमाले वडाध्यक्षका उम्मेदवारहरूको मत १४ हजार ६७१ छ भने जनता समाजवादी पार्टीका उम्मेदवारहरूको मत १३ हजार ६ सय १४ रहेको छ । राप्रपाको मत १ हजार २ सय ४४ छ ।

यस क्षेत्रमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच झिनो मतको अन्तर छ । सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत २८ हजार २८९ छ भने एमाले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरूले २८ हजार २ सय ८५ मत पाएका थिए । स्थानीय तहको मतपरिणाम अनुसार जसपासँग साहको प्रतिस्पर्धा निकै कडा देखिन्छ ।

त्रिपक्षीय रोचक भिडन्त

सत्तागठबन्धनको भागबण्डामा धनुषा २ कांग्रेसले लिएपछि एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दिएका छन् । उनलाई माओवादीले साथ दिएको छ । कांग्रेसकोतर्फबाट रामकृष्ण यादवले उम्मेदवारी दिएका छन् । एमालेबाट भर्खर पार्टी प्रवेश गरेका उमाशंकर अरगरिया उम्मेदवार बनेका छन् । जसपाले आनन्द यादवलाई उम्मेदवार बनाएको छ । एक्लाएक्लै निर्वाचन लडेका सत्तापक्ष र विपक्षीबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । झा यसअघि माओवादीबाट एकीकृत समाजवादी प्रवेश गरेका नेता हुन् । अघिल्ला निर्वाचनमा पनि पराजित भएका उनको अहिले जित्ने सम्भावना देखिँदैन ।

स्थानीय तह निर्वाचन परिणाम अनुसार धनुषा २ मा कांग्रेस बलियो देखिएको छ । उसले २१ हजार २३२ मत पाएको छ । दोस्रोमा जसपाको मत १३ हजार ८८९ रहेको छ । एमालेको मत ११ हजार ५८३, माओवादीको १० हजार ७९४ र एसको ८ हजार ९९७ रहेको छ । त्यस्तै लोसपाको ६ हजार ७१३, जनमत पार्टीको ४ हजार २८३ र राप्रपाको २१३ मत रहेको छ ।

जितको बलियो दाबेदार

अघिल्लो निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल योपटक रौतहट १ मा गएका छन् । उनलाई एमालेका उम्मेदवार अजयकुमार गुप्ताले टक्कर दिएका छन् । उनी गौर नगरपालिकाका पूर्वमेयर हुन् । यो क्षेत्रमा एकीकृत समाजवादीको संगठनात्मक मत बलियो भएकाले नेपालको जित्ने सम्भावना बलियो छ । एकवर्षसम्म गठबन्धनमा रहेका जसपाले एमालेसँग तालमेल गरेकाले केही भोट प्रभावित हुने सम्भावान देखिन्छ ।

२०७४ मा यो क्षेत्रबाट राजपाका उम्मेदवार अनिलकुमार झा २१ हजार ४७२ मत ल्याइ वियजी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । अहिले लोसपाको साथ गठबन्धनलाई नै भएकाले नेपाल सुरक्षित जोनमा रहेको देखिन्छ ।

यस क्षेत्रमा दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धनसँग ५६ हजार ८७९ मत देखिन्छ ।

नेकपा एसको १९६९८, कांग्रेसको १६९२८, लोसपाको १२०६२, जसपाको ८२४१, माओवादीको ८१९१ र एमालेको ७३८५ मत रहेको छ । एमाले–जसपाको मत १५ हजार ६ सय २६ छ ।

भाग्य बलियो

बारा–४ मा समाजवादीका किसान श्रेष्ठ र एमालेका एकवाल मियाँसँग रोचक प्रतिस्पर्धा हुनेछ ।

मियाँ लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर हालसालै एमाले प्रवेश गरेका नेता हुन् । श्रेष्ठ अघिल्लो पटक तनहुँ १ बाट निर्वाचित सांसद हुन् । गठबन्धनको भागबण्डामा तनहुँ १ रामचन्द्र पौडेललाई परेपछि उनले बारा ४ रोजेका हुन् ।

यस क्षेत्रमा सत्ता गठबन्धनका मत ४५ हजार ७ सय ५९ रहेको छ । एमाले गठबन्धनको मत २६ हजार ८५८ रहेको छ । गठबन्धन १८ हजार ९०१ मतले अघि छ । यहाँ कांग्रेसको मत १६ हजार ५८९ रहेको छ, माओवादी केन्द्रको ९ हजार ७१ र एकीकृत समाजवादीको ५ हजार ६ सय १९ मत छ । एमालेको मत २१ हजार १६७ रहेको छ । जसपाको मत ५ हजार ६ सय ९१ रहेको छ ।

वाग्मती प्रदेश

त्रिपक्षीय प्रतिस्पर्धामा कमजोर उम्मेदवार

धनुषा २ मा जस्तै रामेछाप १ एकीकृत समाजवादीका उम्मेदवार देवशंकर पौडेल एक्लै चुनावी मैदानमा उत्रिएका छन् । उनलाई माओवादीले साथ दिएको छ । यहाँ एमालेले कैलाशप्रसाद ढुंगेललाई उठाएको छ कांग्रेसका पूर्णबहादुर तामाङ उठेका छन् ।

स्थानीय तह निर्वाचन परिणाम अनुसार रामेछापमा कांग्रेसको मत ४१ हजार ५१ रहेको छ । एमालेको ३९ हजार ३३, माओवादीको २७ हजार ३९, एसको १ हजार ५७० र राप्रपाको ९३५ मत रहेको छ । यहाँ एकीकृत समाजवादीको मत नदेखिएकाले माओवादीको मात्र मतले जित्ने सम्भावना देखिँदैन ।

राजेन्द्रलाई राजनीतिमा कमब्याक गर्न अन्तिम मौका

धादिङ १ मा सत्ता गठबन्धनको साथ पाउँदा वाग्मतीका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रप्रसाद पाण्डे सुरक्षित देखिएका छन् । उनी एकीकृत समाजवादीका उपाध्यक्षसमेत हुन् । अघिल्लो निर्वाचनमा एमालेका भूमि त्रिपाठी ४९ हजार १२१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्व अर्यालले २१ हजार ९६८ मत पाएका थिए । अघिल्लोपटक पाण्डे धादिङ–१ १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

धादिङ १ मा वडाध्यक्षका उम्मेदवारहरूको मत हेर्दा एमालेको गठबन्धनमा आवद्ध दलभन्दा सत्ता गठबन्धन १५ हजार ७०९ मतले अघि छ । सत्ता गठबन्धनका दलमा रहेका वडाध्यक्षका उम्मेदवारहरूले ५३ हजार १ सय ८७ मत पाएका थिए भने एमालेको मत ३७ हजार ७ सय ७८ छ । यसक्षेत्रमा कांग्रेसको १९ हजार ४२३, माओवादीको २४ हजार ९२८ र एकीकृत समाजवादीको ८ हजार ८ सय ३६ मत रहेको छ ।

कांग्रेसको भर

अघिल्लो निर्वाचनमा एमालेबाट काठमाडौं ८ मा विजयी भएका जीवनराम श्रेष्ठ योपटक एकीकृत समाजवादीबाट सोही क्षेत्रमा एमालेसँग प्रतिस्पर्धा गर्दैछन् । पर्यटनमन्त्री तथा एकीकृत समाजवादीका सचिवसमेत रहेका श्रेष्ठसँग एमालेका शिवसुन्दर राजवैद्य मैदानमा उत्रिएका छन् । सुरुमा यस क्षेत्रबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उठ्न चाहेकी थिइन् तर जिल्लाबाट राजेश शाक्यकोमात्र उम्मेदवारी सिफारिस भएपछि उनी पछि हटेकी थिइन् । पछि अध्यक्ष ओलीले अष्टलाई उठ्न जोडबल गरेका थिए । तर उनले आफूले रोजेका वैद्यलाई मैदान खाली गरिन् ।
२०७४ मा मन्त्री श्रेष्ठ यस क्षेत्रबाट १३ हजार ३९७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं–८ मा वडाध्यक्षका उम्मेदवारहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ३ हजार ७ सय ४ मतले अघि छ । एमाले गठबन्धनमा आवद्ध दलका वडाध्यक्षका उम्मेदवारहरूको मत ९ हजार ३५० छ । सत्ता गठबन्धनको जम्मा मत १६ हजार २ सय १४ छ । यहाँ कांग्रेसले १० हजार ८७२ प्राप्त गरेको छ ।

गठबन्धनको साथ आवश्यक

ललितपुर २ मा एकीकृत समाजवादीले कृष्णलाल महर्जनलाई पुनः उठाएको छ । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट २७ हजार ७१३ ल्याइ विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत पाएका थिए । अहिले एमालेका प्रेमलाल महर्जनसँग भिड्ने छन् ।

ललितपुर–२ मा वडाध्यक्षका उम्मेदवारहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ११ हजार ८ सय १५ मतले अघि छ । एमालेको मत १७ हजार ७१२ रहेको छ । सत्ता गठबन्धनको मत २९ हजार ५२७ छ । यहाँ काग्रेसले २१ हजार ८१ मत प्राप्त गरेको छ । माओवादी केन्द्रको ५ हजार २५४, एकीकृत समाजवादीले ३१ सय ९२ मत प्राप्त गरेको छ । त्यस्तै एमालेले १७ हजार ७१२ मत प्राप्त गरेको छ ।

विरोधको अपराजित यात्रामा छैन चुनौती

मकवानपुर क्षेत्र नम्बर २ बाट विरोध खतिवडाको स्थिति सहज देखिन्छ । अघिल्लोपटक एमालेबाट सोही क्षेत्रमा विजयी भएका उनले एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेका थिए । अहिले उनी आफ्नै चेला एमालेका महेश बर्तौलासँग प्रतिस्पर्धा गर्र्दैछन् । यो क्षेत्रमा एकीकृत समाजवादीको मत निकै कम भएपनि गठबन्धनका कारण स्थिति सहज भएको हो । तर उनी स्वास्थ्य मन्त्री हुँदा राम्रो काम गर्न नसकेकाले केही जनमत प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूले ६० हजार ३४ मत पाएका छन् । एमालेको मत ३७ हजार ८६ छ । यहाँ कांग्रेसको मत ३४ हजार २ सय ४० रहेको छ । माओवादी केन्द्रको २२ हजार ६ सय ६१ मत रहेको छ । एकीकृत समाजवादीको मत २ हजार ७ सय १९ रहेको छ । यसैगरी एमालेको मत ३६ हजार ८ सय ६६ रहेको छ ।

गण्डकी प्रदेश

जित्न कठिन

गण्डकी प्रदेशमा जम्मा एक सिट पाएको एकीकृत समाजवादीले जित निकाल्न निकै कठिन देखिन्छ । नेकपा एसले पाएको कास्की–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार श्रीनाथ बराललाई बनाएको छ । उनको प्रतिस्पर्धामा एमालेकी विद्या भट्टराई रहेकी छिन् । भट्टराई एमालेका दिवंगत नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी भएकाले बराललाई थप चुनौती थपिएको छ । स्थानीय तहको मतपरिणाम अनुसार सत्ता गठबन्धन झिनो मतले अघि छ । यहाँ सत्ता गठबन्धनको जम्मा मत २२ हजार ३०० छ ताकि एमालेको मत २१ हजार ३१७ छ । यस क्षेत्रमा सत्ता गठबन्धन विपक्षीभन्दा ९ सय ८३ मतले मात्रै अघि छ ।

यहाँ कांग्रेसको मत १९ हजार ८ छ । माओवादी केन्द्रको १ हजार १९९, समाजवादीको २ हजार ५३ छ । त्यस्तै एमालेको मत २१ हजार १ सय ६४ रहेको छ । जसपाको १ सय ५३ मत रहेको छ ।

लुम्बिनी प्रदेश

विष्टको विरासत तोड्न झाँक्रीलाई कठिन

गुल्मी २ मा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीेबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । एकीकृत समाजवादीको जनाधार निकै कम रहेको यस क्षेत्रमा झाँक्रीलाई जित्न निकै कठिन रहेको अनुमान गरिएको छ । विष्ट ०५१ देखि त्यस क्षेत्रका निर्वाचित सांसद हुन् । उनको विरासत तोड्न सके झाँक्रीले नयाँ रेकर्ड कायम राख्नेछिन् । कांग्रेसका बागी उम्मेदवार दामोदर भुसालले चुनौती दिएपछि झाँक्री थप संकटमा परेकी थिइन् । तर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेपछि भने उनलाई केही सहज भएको छ ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार सत्ता गठबन्धन विपक्षी एमालेभन्दा २ हजार २८५ मतले अघि छ । एकीकृत समाजवादी र माओवादीको मत समान १ हजार ८ सय ४१ देखिन्छ । यस क्षेत्रमा समाजवादीले जित्नका निम्ति कांग्रेसको मत भारी मात्रामा आवश्यक पर्छ । यस क्षेत्रमा कांग्रेसको मत २९ हजार ८ सय २१ रहेको छ । यहाँ विपक्षी एमालेको मत ३१ हजार ३ सय ५२ रहेको छ ।

माहोल गैरेको चुनौती पाण्डेको

योपटक पाल्पा २ मा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई एमालेका चर्चित युवा नेता ठाकुर गैरेले चुनौती दिएका छन् । एमाले विभाजन अघि पाण्डेका कारण गैरेले टिकट पाएका थिएनन् । उनी एकीकृत समाजवादी गएपछि गैरेको उम्मेदवार बन्ने बाटो खुलेको हो । गैरेको पार्टीभित्र र बाहिर राम्रो छवि छ । तर पनि पहिलोपटक प्रतिनिधिसभा सदस्यमा उठेका उनले पाण्डेलाई जित्न निक्कै मेहनत गर्नुपर्ने देखिन्छ ।

यो क्षेत्रमा पनि समाजवादी कांग्रेसमै निर्भर देखिन्छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार सत्तागठबन्धन ४ हजार ७८० मतले अघि छ । यहाँ कांग्रेसको मत २९ हजार ३९ छ । माओवादी केन्द्रको ४ हजार ९ सय ९० र राष्ट्रिय जनमोर्चाको मत ८ सय ४० रहेको छ । यसैगरी एमालेको ३० हजार ५ सय ६६ रहेको छ । त्यसैले यो क्षेत्रमा भर्खर डेब्यू गर्न लागेका गैरे र पटक–पटक अवसर पाएका पाण्डेबीचको भिडन्त रोचक हुने देखिन्छ ।

एमालेकै तीन चौधरीको रोचक भिडन्त

दाङ १ मा शहरी विकासमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीे, एमालेकी चर्चित नेता शान्ता चौधरी र भर्खर एमाले परित्याग गरेकी गंगा चौधरीबीच रोचक भिडन्त हुने देखिन्छ । २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा मेटमणि विजयी भएका थिए । उनले एकीकृत समाजवादी रोजेपछि एमालेले शान्तालाई योपटक अवसर दिएको हो । यसअघि उनी समानुपातिक सांसद रहेकी थिइन् । उनलाई चुनौती दिन गंगा मैदानमा उत्रिएकी छिन् । शान्ताले टिकट पाएपछि उनले एमाले परित्याग गरेकी थिइन् । गंगाको उपस्थितिले शान्तालाई केही चुनौती थपिएको छ । मेटमणिलाई केही राहत मिलेको छ ।

दाङ–१ मा विपक्षी गठबन्धनभन्दा सत्ता गठबन्धन २३ हजार ७८८ मतले अघि छ । एमालेको मत २७ हजार ८५ रहेको छ । यहाँ कांग्रेसको मत २९ हजार ७५७ रहेको छ । माओवादी केन्द्रको मत १९ हजार २७६ छ । एकीकृत समाजवादीको मत २ हजार ३४१ छ । राष्ट्रिय जनमोर्चाको मत २ हजार ५ सय ९६ रहेको छ ।

कर्णाली प्रदेश
तीन वटै सिट सुरक्षित

कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार टिकाउन एमालेसँग विद्रोह गरेका प्रकाश ज्वाला योपटक सल्यानबाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । कर्णालीका पूर्वअर्थमन्त्रीसमेत रहेका उनी एकीकृत समाजवादीका उपमहासचिव हुन् । त्यसक्षेत्रमा एकीकृत समाजवादीसहित कांग्रेस र माओवादीको मत बलियो भएकाले उनको जित सहज भएको मानिन्छ । उनलाई योपटक एमालेका राजेन्द्रवीर रायले चुनौती दिएका छन् ।

सल्यानमा सत्ता गठबन्धन एमालेभन्दा फराकिलो अन्तरले अघि छ । वडाध्यक्षहरूको मत परिणामअनुसार सत्ता गठबन्धन ४३ हजार १७६ मतले अघि छ ।

गठबन्धनको जम्मा मत ६९ हजार ८०७ रहेको छ । एमालेको जम्मा मत २६ हजार ६२८ रहेको छ । कांग्रेसका उम्मेदवारहरूको मत ३३ हजार ६१६, माओवादी केन्द्रको मत २६ हजार ७ सय १८ र समाजवादीको मत ९ हजार ४ सय ६७ रहेको छ ।

डोल्पा १ धनबहादुर बुढाको जित निकै सहज भएको ज्वाला बताउँछन् । योपटक एमालेका गणेशबहादुर शाहीले उनलाई टक्कर दिएका छन् ।

त्यस क्षेत्रमा सत्ता गठबन्धन ४ हजार ७ सय १३ मतले अघि देखिएको छ । यहाँ गठबन्धनको जम्मा ९ हजार २५८ मत रहेको छ । एमालेको मत ४ हजार ५४५ रहेको छ ।

दैलेख १ माओवादी केन्द्रको साथ रहेकाले एकीकृत समाजवादीका उम्मेदवार अमरबहादुर थापालाई सहज भएको देखिन्छ । यहाँ एमालेका रविन्द्रराज शर्माले थापालाई चुनौती दिएका छन् । कर्णालीमा एमालेसँग विद्रोह गर्नेमध्ये थापा पनि एक हुन् ।

यस क्षेत्रमा सत्ता गठबन्धन एमालेभन्दा १० हजार बढी मतले अघि छ । सत्ता गठबन्धनको मत २९ हजार ७० रहेको छ । एमालेको मत १९ हजार ६१ छ ।

सुदूरपश्चिम प्रदेश

भीम बाहिरिँदा शेरबहादुर शेर

अछाम १ मा एमालेका बलिया उम्मेदवार रहेका भीम रावललाई टिकट नदिएपछि शेरबहादुर कुँवरको जित सहज भएको अनुमान गरिएको छ । पूर्वउप्रधानमन्त्री तथा उपाध्यक्षसमेत रहेका प्रभावशाली नेता रावललाई ओलीले टिकट नदिएर पूर्वमाओवादी पृष्ठभूमिका झपटबहादुर बोहरालाई टिकट दिएका हुन् । ताकि बोहराकै रोहबरमा रावललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको थियो । ओलीले जिल्लाबाट सिफारिस नै नभएका व्यक्तिलाई टिकट दिएर रावलको शेखी झारेका थिए । रावलले टिकट नपाएपछि अछाम एमालेमा विद्रोह भएको छ । चार प्रदेश सचिवालय सदस्यसहित ४० बढीले एमाले परित्याग गरेका छन् । यसको असर अछाममा मात्र नभइ पूरै सुदूरपश्चिमा पर्ने स्थानीय नेता तथा कार्यकर्ताले बताएका छन् ।

स्थानीय तह निर्वाचनको अंकगणित अनुसार अछाम–१ मा सत्ता गठबन्धन एमालेभन्दा ९ हजार बढी मतले अघि छ । यहाँ सत्ता गठबन्धनको मत २६ हजार २७० छ । एमालेको मत १६ हजार ७२८ छ ।

ऐनलाई छैन चुनौती

आसन्न निर्वाचनमा बझाङ १ मा नेकपा एसका भानुभक्त जोशीे र एमालेका चर्चित युवा नेता ऐनबहादुर महरबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । महर अनेरास्ववियूका पूर्व अध्यक्ष हुन् । उनले पहिलोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन् । महरको उपस्थितिले जोशीलाई चुनौती थपिएको छ ।

बझाङमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूको मतपरिणाम अनुसार सत्ता गठबन्धन एमाले भन्दा ८ हजार बढी मतले अघि छ । यहाँ सत्ता गठबन्धनको जम्मा मत ३६ हजार ९४३ रहेको छ । एमालेको मत २८ हजार १८४ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले बलियो साथ नदिए जोशीको जित कठिन रहेको देखिन्छ । यहाँ कांग्रेसको मत २० हजार १६६ रहेको छ । माओवादी केन्द्रको ९ हजार १४५ र एकीकृत समाजवादीको मत ७ हजार ६३२ छ ।

बलियो स्थितिमा प्रेम

पूर्वपर्यटनमन्त्रीसमेत रहेका प्रेम आले योपटक फरक कित्ताबाट डोटी १ मा उठेका छन् । उनको प्रतिस्पर्धा एमालेकी गौरीकुमारी ओलीसँग हुनेछ । डोटीमा कांग्रेस ३४ हजार ४७ मतसहित पहिलो दल रहेको छ । एमालेको मत २४ हजार ९१६ रहेको छ । माओवादीको ७ हजार ७८९ र नेकपा एसको ३ हजार २०५ र राप्रपाको ९८७ मत रहेको छ ।

डोटीमा सत्ता गठबन्धन एमालेभन्दा २० हजार १ सय २५ मतले अघि छ । सत्ता गठबन्धनको मत ४५ हजार ४१ मत छ । यहाँ एमालेको मत २४ हजार ९१६ छ । आले प्रभावशाली नेतासमेत भएकाले उनले जित्ने सम्भावना बलियो रहेको देखिन्छ ।