NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सेनासँग हतियार र गाडी सापट लिएर माली मिसनमा खटिँदै सशस्त्र प्रहरी

नेपाली सेनासँग हतियार र बुलेटप्रुफ एमपिभी (मल्टी पर्पाेज भेहिकल) सापटी लिएर सशस्त्र प्रहरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा अफ्रिकी देश माली खटिने भएको छ । तयारीका लागि छोटो समय भएकाले खरिद प्रक्रियाको समस्याका कारण सशस्त्रले सेनासँग चारवटा हतियार र एमपिभी सापट लिएको हो ।

नेपाली सेनाको धेरैवटा शान्ति मिसन भएकाले उससँग जगेडामा एपिसी र एमपिभी रहन्छन् । खरिद गर्दा समय लाग्ने भएकाले सेनासँग सशस्त्र प्रहरीले सापट लिएको हो । सेनासँग सहकार्य गरेर सशस्त्र प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन माली खटिन लागेको हो । राष्ट्र संघको टोली गत साता काठमाडौं आई तैनाथीपूर्वको अन्तिम निरीक्षण गरेर फर्किसकेको छ । निरीक्षणको अन्तिम रिपोर्ट नआए पनि उनीहरूले सकारात्मक जवाफ दिएकाले आगामी डिसेम्बरदेखि सशस्त्र प्रहरी मालीमा खटिने निश्चित भएको सशस्त्र प्रहरी उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सेनाबाट लिइएका एमपिभीको शोधभर्ना सेनालाई नै दिने गरी सहमति गरिएको छ । शान्ति मिसनमा प्रयोग गरिएका सबै सामानको राष्ट्र संघले शोधभर्ना दिनेछ । सशस्त्र प्रहरीसँग यसअघि खरिद गरिएका आठवटा मात्र एमपिभी छन् । सेनासँग चारवटा सापट लिई १२ वटा एमपिभी माली पठाउन लागिएको छ । नेपाली सेनाको समेत सहयोगमा मालीमा सशस्त्रको एफपियू मिसन स्थापना हुन लागेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए । मिसनकै लागि सशस्त्रले सेनासँग केही हतियार पनि सापट लिएको छ ।

मालीको किदाल क्षेत्रमा सशस्त्र प्रहरीलाई राष्ट्र संघले खटाउन लागेको हो । विद्रोही समूहको हिंसात्मक गतिविधिका कारण सो क्षेत्र निकै जोखिमपूर्ण छ । सोही कारण सशस्त्र प्रहरीले १२ वटा एमपिभी लैजान लागेको हो । सो स्थानमा नेपाली सेनासमेत खटिँदै आएको छ । माली मिसनमा खटिने सशस्त्र प्रहरीको एक सय ४० जनाको टोली तयार भइसकेको छ । डिसेम्बरमा पहिलो टोली त्यहाँ खटिने र दोस्रो चरणमा जनवरीमा पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । शान्ति मिसनलाई सुरक्षाकर्मी निकायमा आकर्षक अवसरका रूपमा लिइन्छ । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी मिसन बन्द भएकाले अवसर घटेका थिए । सशस्त्र प्रहरीले तीन महिनाको छोटो अवधिमै पूर्वतयारी गरेर माली मिसनमा खटिन लागेको छ । नेपाल प्रहरीले पनि मालीमा एफपियू मिसन खटाउन लबिङ गर्दै आएको छ । गत साता राष्ट्र संघको टोलीले प्रहरीमा पनि प्रारम्भिक निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरीमा अब कार्यालय प्रमुख (इन्चार्ज)का रूपमा सरुवा हुने अधिकृतहरूको एक महिना पहिले नै पूर्वानुमान सूची प्रकाशन हुने भएको छ । सरुवामा हुने अनावश्यक चलखेल रोकी सबैलाई कमान्डको समान अवसर दिन यससम्बन्धी नयाँ मापदण्ड बनेको छ । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापाका अनुसार इन्स्पेक्टरदेखि डिआइजीसम्मको सरुवा पूर्वानुमान सूची बनेको छ । ज्येष्ठताका आधारमा इन्चार्जमा खटाउने समय तोकेर यस्तो सूची प्रकाशन गर्न लागिएको छ । यस्तो मापदण्ड लागू हुँदा सशस्त्र प्रहरीमा बिओपी, गण, गुल्म, तालिम केन्द्र तथा बाहिनीमा इन्चार्ज खटाउने प्रक्रियालाई पारदर्शी हुने र यसबाट अनावश्यक दबाब र चलखेलसमेत रोकिने सशस्त्र प्रहरी अधिकारी बताउँछन् ।