NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

६५८ भोट ल्याउने पार्टीकी झाँक्रीले ३१२५३ मत ल्याउने पार्टीका विष्टलाई पराजित गर्लिन् ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टको विरासत तोड्ने दाबीसहित पहिलोपटक चुनावी मैदानमा उत्रिएकी छिन् ।

मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेकी झाँक्री अघिल्ला निर्वाचनमा विष्टलाई जिताउन सक्रिय थिइन् । एमालेमा रहँदा झाँक्री र विष्ट दुवै माधव–झलनाथ निकटका नेता हुन् । गत भदौमा एमाले विभाजन हुँदा झाँक्रीले माधवलाई साथ दिइन् । विष्टले साथ छोडेका थिए ।

१० बुँदे पक्षधरका नेता मानिएका विष्टले पार्टी विभाजनमा साथ नदिएपछि झाँक्री उनीसँग निकै आक्रोसित भएकी थिइन् । ०५६ देखि सोही क्षेत्रबाट विष्टले लगातार निर्वाचन जित्दै आएका छन् । झाँक्री अघिल्लोपटक एमालेकी समानुपातिक सांसद थिइन् । अघिल्लो निर्वाचनमा विष्टलाई जिताउन सारथी बन्दै आएकी उनै झाँक्री अहिले हराउन कम्मर कसेर लागेकी छिन् ।

झाँक्रीले तोड्लिन त एमालेको विरासत ?

एमाले विभाजन हुनुअघि झाँक्री एमालेमा केन्द्रीय सदस्य थिइन् । विष्ट सचिव थिए । दुवैजना माधव–झलनाथ समूह निकट नेता हुन् । त्यतिबेला झाँक्रीलाई गुल्मीबाट टिकट दिने चर्चा चलेपनि अन्तमा उनी काठमाडौंबाट समानुपातिक सदस्य बस्न राजी भइन् । गुल्मी २ बाट विष्टले नै टिकट पाएका थिए ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विष्ट ३४ हजार ६१८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । विष्टको मतान्तर १४ हजार ४६१ रहेको थियो । विष्ट २०६४ को संविधानसभा निर्वाचनबाहेक २०५६ देखि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

झाँक्री त्यहीक्षेत्रको बासिन्दा भएपनि काठमाडौंबाट राजनीतिमा सक्रिय छिन् । एमाले विभाजपछि बनेको देउवा नेतृत्वको सरकारमा ९ महिना सहरी विकासमन्त्री भइन् । गठबन्धनबाट गुल्मी २ को उम्मेदवार बनेकी उनलाई विष्टको विरासत तोड्न निकै पापड बेल्नुपर्ने देखिन्छ । यो क्षेत्रमा नेकपा एसको जनाधार निकै कमजोर रहेकाले चुनाव जित्न पुरै गठबन्धनको भर पर्नुपर्नेछ । स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेको कांग्रेसले सो क्षेत्रमा टिकट पाउने अपेक्षा राखिएको थियो । तर सात सय भोट पनि नरहेको एसले टिकट पाएपछि गुल्मी कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

झाँक्रीविरुद्ध कांग्रेसका जिल्ला नेता दामोदर भुसालले बागी उम्मेदवारी दिएका थिए । यद्यपि पार्टीको दबाबका कारण उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । एकीकृत समाजवादीको सिंगो जिल्ला कमिटी एमालेमै फर्किएका कारण नेकपा एस थप दबाबमा रहेको छ । त्यसैले कांग्रेस, माओवादीको सबै भोट तान्दा पनि झाँक्रीलाई चुनाव जित्न मुस्किल देखिन्छ ।

एमालेका उम्मेदवार रहेका विष्टको पछिल्लो गतिविधि र काम गर्ने शैलीप्रति त्यहाँका जनता सन्तुष्ट नभएको स्थानीय नेता तथा कार्यकर्ता बताउँछन् । झाँक्री पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी र महिला उम्मेदवार भएकाले केही भोट उनलाई आउनसक्ने अनुमान गरिएको छ । प्रचण्ड–माधव पक्षमा लागेर ओलीविरुद्ध गतिविधि गरेकाले योपटक विष्टलाई ओलीपक्षबाटै अन्तर्घात हुन सक्ने विपक्षी गठबन्धनको अनुमान छ ।

यस्तो छ स्थानीय तहको मतपरिणाम

वैशाखमा भएको स्थानीय तह निर्वाचनको तथ्यलाई हेर्दा गुल्मी २ भरका वडाध्यक्षतर्फ एमालेले ३१ हजार २५३ मत पाएको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसको मत परिणाम २९ हजार ८२१ रहेको छ । त्यस्तै माओवादीको १ हजार ८४१, नेकपा एसको ६५८ र राप्रपाको मत १०१ रहेको छ । यहाँ गठबन्धनको जम्मा भोट ३२ हजार ३२० रहेको छ । एमालेभन्दा गठबन्धन १०६७ मतले अगाडि रहेकोछ ।

चुनावी परिणाम अनुसार कांग्रेसको जनमत राम्रो भएकाले झाँक्रीलाई जित्न मुस्किल देखिन्छ । चौंथो स्थानमा रहेको एकीकृत समाजवादीले यो क्षेत्रमा हजार भोट पनि कटाउन सकेको छैन । गठबन्धनबाट उनले टिकट पाएको खण्डमा स्थानीय कांग्रेस कार्यकर्ताले असहयोग गर्न सक्ने खतरा पनि उत्तिकै देखिन्छ ।

झाँक्री मन्त्री हुनुअघि लोकप्रिय थिइन् । तर सरकारमा पुगेपछि लोकप्रियता खस्किएको छ । मन्त्रीबाट फिर्ता हुने विषयमा झाँक्री र पार्टीबीच द्वन्द्व नै भएको थियो । केही साताअघि उनकै निर्वाचन क्षेत्रबाट जिल्ला अध्यक्ष नरेश भण्डारीसहित पूरै कमिटी एमालेमा फिर्ता भएका थिए । आगामी निर्वाचनमा नयाँ मतदाताको भूमिका पनि उत्तिकै रहने हुँदा त्यसले समग्र मतपरिणामलाई फरक पार्न सक्छ ।

को हुन् विष्ट ?

०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली–३ मा जन्मिएका विष्टले ०३५ देखि अखिलबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । ०४० मा सरकारी जागिर छाडेर राजनीतिमा होमिएका थिए । ०४३ सालमा पार्टी सदस्य लिएका विष्ट अनेरास्ववियुको वाग्मती अञ्चलका अध्यक्ष हुँदै केन्द्रीय प्रचार विभाग प्रमुख भएर काम गरेका छन् ।

०५० सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । ०५३ सालमा महासचिव र ०५७ सालदेखि दुई कार्यकाल अध्यक्ष भएका थिए । विष्ट ०६८ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेका थिए । उर्जामन्त्री हुँदा लोडसेडिङ घटाएर उनले खेलेको भूमिकाका कारण उनी चर्चामा आएका थिए । उनले व्यवस्थापनमा स्नाकोत्तर र कानुनमा स्नातक गरेका छन् ।

पार्टीभित्र विष्टले बुद्धिजिवी परिषदको इन्चार्ज स्थानीय विभाग, विद्यार्थी र युवा फाँटको इन्चार्ज भएर काम गरेका छन् । २०७१ मा भएको नवौं महाधिवेशनमा सचिवमा निर्वाचित भएका विष्ट गतवर्ष चितवनमा भएको १० औं महाधिवेशनमा पुनः सचिवमा निर्वाचित भएका थिए । २०७४ मा ओली नेतृत्व सरकारमा श्रम तथा रोजगारमन्त्री भएर काम गरेका थिए ।

को हुन् झाँक्री ?

२०३४ सालमा गुल्मीको मयाल पोखरी–१ मा झाँकीको जन्म भएको थियो । उनी विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् ।

२०६५ सालमा भएको अनेरास्ववियुको १९ औं सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् । गोकुल घर्तीलाई सात सय मतान्तरले पराजित गरी झाँक्री अध्यक्षमा चुनिएकी थिइन् । उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष हुन् । दोस्रो जनआन्दोलनका क्रममा बागबजारमा भएको प्रहरी झडपमा घाइते भएको उनको तस्बिर निकै चर्चित रहेको छ ।

२०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनले गतवर्ष एमाले विभाजन हुँदा माधव नेपाललाई साथ दिएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी झाँक्री ओलीको कडा आलोचक हुन् । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उनी प्रचण्ड–माधव गुटमा लागेकी थिइन् । गतवर्ष गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको सार्वजनिक अभिव्यक्ति विवादमा परेपछि उनी पक्राउ परेकी थिइन् ।

२०७८ भदौ २ मा एमाले विभाजन हुँदा उनले माधव–झलनाथलाई साथ दिएकी थिइन् । देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री भइन् । अहिले उनी एकीकृत समाजवादी पार्टीकी सचिव रहेकी छन् । एकीकृत समाजवादी पार्टी दर्ता गर्नेक्रममा उनले माधव नेपालको हात समातेको तस्बिर निकै चर्चित रहेको छ ।