NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले हारेका ४० नेता को–को हुन् ?

काठमाडौं । २०७० सालको निर्वाचनमा १०५ सिट जितेको कांग्रेस २०७४ सालमा भने नराम्ररी पराजित हुन पुगेको थियो । एमाले र माओवादीको चुनावी गठबन्धन बनेपछि कांग्रेस प्रत्यक्षमा २३ सिटमा खुम्चिएको थियो ।

२०७० सालमा २४० सिट भए पनि ७५ सिट घटाएर १६५ सिट कायम हुँदा प्रतिनिधिसभामा कांग्रेसले २०७४ सालमा यत्तिको कमजोर नतिजा आत्मसात गर्नुपरेको थियो । केही शीर्षबाहेकका अधिकांश कांग्रेस नेताहरू निर्वाचनमा पराजित हुन पुगेका थिए । जसले पार्टीलाई नमिठो धक्का लागेको थियो ।

कांग्रेसले चारदेखि पाँच हजारसम्म, एकदेखि दुई हजारसम्म र एक हजार मुनी प्रत्येक हजारको खण्डमा ८र८ सिट गरी २४ सिट गुमाएको थियो । तीनदेखि चार हजार अन्तरमा ९ र दुईदेखि ३ हजारको अन्तरमा ७ सिट गरी एमाले र माओवादीको गठबन्धनसँग एक्लै लड्दा कांग्रेसले ४० सिट गुमाएको थियो । दुई बलिया दल मिल्दा पनि कांग्रेसले तीन हजार मुनी २३ सिट गुमाएको थियो । समग्रमा पाँच हजार मुनी कांग्रेसले ४० महत्वपूर्ण सिट गुमाएको थियो ।

एक हजारभन्दा कम अन्तरले ८ सिट गुम्यो

कांग्रेसले एक हजारभन्दा कम अन्तरले ८ वटा निर्वाचन क्षेत्र गुमायो । जसमा ६ सिटमा एमालेसँग र एकएक सिटमा माआवादी र स्वतन्त्रसँग पराजय बेहोर्यो । कांग्रेसले सबैभन्दा कम मतान्तरको हार हुम्लामा स्वतन्त्रका उम्मेदवारसँग बेहोर्यो । हुम्लामा माओवादीका विद्रोही छक्कबहादुर लामाले कांग्रेस उम्मेदवारलाई ४७ मतान्तरले पराजित गरेका थिए । लामाले ८,४९१ मत र कांग्रेसका मंगलबहादुर शाहले ८४४४ मत ल्याए ।

एक हजारभन्दा कम अन्तरको हार बेहोर्नेमा डा। शेखर कोइराला, नवीन्द्रराज जोशी, टेकबहाुदर गुरुङ, रोमी गौचन थकाली, रमेश लेखक, दीपकुमार उपाध्यायसहितका चर्चित अनुहारका नेता थिए ।

मोरङ ६ मा एमालेका लालबाबु पण्डितसँग कांग्रेसका डा। शेखर कोइराला ६७५ मतले पराजित हुन पुगे । पण्डितले ३३९४१ र कोइरालाले ३३२६६ मत प्राप्त गरेका थिए ।

धादिङमा २ मा कांग्रेस उम्मेदवार दिलमान पाख्रिन एमालेका खेमप्रसाद लोहनीसँग ६४० मतले पराजित हुन पुगे । लोहनीले ३६२५६ र पाख्रिनले ३५६१६ मत ल्याए ।

काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठसँग कांग्रेसका नवीन्द्रराज जोशीले ४४४ मतको पराजय बेहोरे । श्रेष्ठले १३३९७ मत ल्याउँदा जोशीको १२९५३ मत आएको थियो ।

मनाङमा एमालेका पाल्देन गुरुङसँग कांग्रेसका टेकबहादुर गुरुङ २७९ मतान्तरले पराजित हुन पुगेका थिए । पाल्देनले २३०० मत ल्याउँदा गुरुले २०२१ मत ल्याएका थिए ।

मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनसँग कांग्रेसका रोमी गौचन थकाली ३६३ मतान्तरले पराजित भएका थिए । तुलाचनले ३५४४ र थकालीले ३१८१ मत ल्याएका थिए ।

त्यस्तै कञ्चनपुरमा एमालेका दीपकप्रसाद भट्टसँग कांग्रेसका रमेश लेखक २५८ मतान्तरले पराजित भएका थिए । भट्टले २६३६४ र लेखकले २६१०६ मत ल्याए ।

कपिलवस्तु १ मा माओवादीका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई ९४६ मतान्तरले पराजित गरिदिए । जहाँ खनालले २९७९९ मत ल्याए । कांग्रेसका उपाध्यायको २८,८५३ मत आयो ।

एक हजारभन्दा कम मतान्तरको जित हात पार्नेमा तत्कालीन राष्ट्रिय जनता पार्टीका प्रमोद साह पनि छन् । सर्लाही १ मा एमालेका ध्रुवप्रसाद गौतमलाई ५७१ मतान्तरले पराजित गरे । शाहले २२०३६ र गौतमले २१४६५ मत ल्याए ।

१ देखि २ हजार अन्तरमा पनि कांग्रेसले गुमायो ८ सिट

कांग्रेसले १ देखि २ हजारको अन्तरमा पनि ८ वटा प्रतिनिधिसभाका सिट गुमाएको थियो । एक दुई हजारका मतान्तरमा दीपक खड्का, अजयकुमार चौरसिया, वीरबहादुर बलायर, मदनबहादुर अमात्य र सुनिल शर्मासहितका प्रभाशाली नेता पराजित हुन पुगेका थिए ।

संखुवासभा १ मा एमालेका राजेन्द्रप्रसाद गौतमसँग कांग्रेसका दीपक खड्का ११३० मतले पराजित हुन पुगे । गौतमले ३२७६९ र खड्काले ३१६३९ मत प्राप्त गरे ।

नवलपरासी २ मा एमालेका तीलबहाुदर महत क्षेत्रीसँग कांग्रेसका विष्णुकुमार कार्की १३३३ मतले पराजित भए । क्षेत्रीले ३९०५३ र कार्कीले ३७७२० मत ल्याए ।

पर्सा ३ मा संघीय समाजवादी फोरम नेपालका हरिनारायणप्रसाद रौनियारसँग कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी १३६७ मतले पराजित हुन पुगे । फोरमका रौनियारले १५,१६८ र कांग्रेसका चौधरीले १३८०१ मत ल्याए ।

पर्सा २ मा कांग्रेसका अजयकुमार चौरसिया संघीय समाजवादी फोरम नेपालका विमलप्रसाद श्रीवास्तवसँग १४६५ मतले पराजित हुन पुगे । श्रीवास्तवले २१,१६९ र चौरसियाले १९७०४ मत ल्याए ।

डोटी १ तत्कालीन एमालेका प्रेमबहादुर आलेले कांग्रेसका वीरबहादुर बलायरलाई १६३२ मत पराजित गरे । आलेले ३२५१० र बलायरले ३०८७८ मत ल्याए ।

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसालसँग कांग्रेसका मदनबहादुर अमात्य १७०८ मतले पराजित हुन पुगे । भुसालले २४०३६ मत प्राप्त गर्दा अमात्यले २२३२८ मत ल्याए ।

कैलाली २ मा एमालेका झपटबहादुर रावलले कांग्रेसका मोहनसिंह राठौरलाई १८४४ मतले पराजित गरे । रावलले २५१५७ र राठौरले २३३१३ मत ल्याएका थिए ।

मोरङ ३ मा कांग्रेसका सुनिल शर्मा एमालेका भानुभक्त ढकालसँग १९०७ मतले पराजित हुन पुगे । ढकालले ४२४१३ मत ल्याउँदा शर्माको ४०५०६ मत आयो ।

२ देखि ३ हजार अन्तरमा हारे कांग्रेसका सात उम्मेदवार

तेह्रथुममा एमालेका भवानीप्रसाद खापुङले कांग्रेसका सीता गुरुङलाई २०२१ मतले पराजित गरे । खापुङले २१३३५ र गुरुङले १९३१४ मत ल्याइन् । दुईदेखि तीन हजारको अन्तरमा विलेन्द्र निधि, विश्वप्रकाश शर्मा, महेन्द्र यादव जस्ता चर्चित नेताले नै हार्नुपरेको थियो ।

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापासँग कांग्रेसका खबहादुर गर्बुजा २३२८मतले पराजित भए । थापाले २३३०८ र गर्बुजाले २०९८० मत प्राप्त गरे ।

धनुषा ४ मा पनि एमालेका रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवलाई २५४१ मतले पराजित गरिदिए । महासेठले २२५३२ र यादवले १९९९१ मत ल्याए ।

अछाम २ मा एमालेका यज्ञबहादुर बोगटीले कांग्रेसका पुष्पबहादुर शाहलाई २८५९ मतले पराजित गरे । बोगटीले २१९६५ र शाहले १९१०६ मत प्राप्त गरे ।

झापा १ मा माओवादी केन्द्रका सुरेन्द्रबहादुर कार्कीले कांग्रेसका विश्वप्रकाश शर्मालाई २८६३ मतले पराजित गरे । कार्कीले ३६१७३ र शर्माले ३३३१० मत ल्याएका थिए ।

धनुषा ३ मा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २९०३ मतले पराजित गरे । महताले ३०७५० र निधिले २७८४७ मत प्राप्त गरेका थिए ।

बाँके १ मा माओवादी केन्द्रका महेश्वरजंग गहतराजसँग कांग्रेसका माधवराम खत्री २९५६ मतले पराजित हुन पुगे । गहतराजले ३११७३ र खत्रीले २८२१७ मत प्राप्त गरेका थिए ।

३ देखि चार हजार अन्तरमा ९ सिट गुम्यो

मुगुमा एमालेका गोपालबहादुर बमले कांग्रेसका हस्तबहादुर मल्ललाई ३१७३ मतले पराजित गरिदिए । हमालले १३०३४ र मल्लले ९८६१ मत प्राप्त गरे । यो अन्तरका हार बेहोर्नेमा पूर्णबहादुर खड्का, चिनकाजी श्रेष्ठ, बलबहादुर केसी, शंकर भण्डारी, गोपालमान श्रेष्ठ र अमृत अर्याल जस्ता चर्चित अनुहार नै छन् ।

सप्तरी ३ मा राष्ट्रिय जनता पार्टीका चन्द्रकान्त चौधरीसँग कांग्रेसका दिनेशकुमार यादव ३१८३ मतले पराजित भए । चौधरीले २२५८४ र यादवले १९४०१ मत प्राप्त गरे ।

गोरखा १ मा माओवादी केन्द्रका हरिराज अधिकारीसँग कांग्रेसका चिनकाजी श्रेष्ठ ३२१७ मतान्तरले पराजित हुन पुगे । अधिकारीले २९८६० र श्रेष्ठले २६६४३ मत ल्याए ।

सुर्खेत १ मा कांग्रेसका पूर्णबहादुर खड्का एमालेका ध्रुवकुमारी शाहीसँग ३३८२ मतान्तरले पराजित हुन पुगे । शाहीको ३६७५९ र खड्काको ३३३७७ मत आएको थियो ।

सोलुखुम्बुमा माओवादीका हेमकुमार राईले कांग्रेसका बलबहाुदर केसीलाई ३४५३ मतले पराजित गरे । राईले २०७४७ र केसीले १७२९४ मत प्राप्त गरे ।

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी एमालेको केदार सिग्देलसँग ३२७९ मतले पराजित हुन पुगे । सिग्देलले ३२९२४ र भण्डारीले २९६४५ मत ल्याए ।

कपिलवस्तु २ मा एमालेका बृजेशकुमार गुप्ताले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई ३५८१ मतले पराजित गर्न पुगे । गुप्ताले ३५१४७ र आचार्यले ३१५६६ मत प्राप्त गरे ।

स्याङजा २ मा एमालेकी पद्यमाकुमार अर्यालसँग कांग्रेसका गोपालमान श्रेष्ठ ३७०६ मतले पराजित हुन पुगे । अर्यालले ३५१४२ र श्रेष्ठले ३१४३६ मत ल्याए ।

मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मंडलसँग कांग्रेका अमृतकुमार अर्याल ३७९२ मतले पराजित हुन पुगे । मंडलले २२९४५ र अर्यालले १९१५३ मत ल्याए ।

चार हजारदेखि ५ हजार अन्तरमा ८ सिटमा कांग्रेसको हार

कांग्रेसले ४ देखि ५ हजारसम्मको अन्तरमा पनि ८ वटै सिट गुमाएको थियो । यो अन्तरमा आरजु राणा देउवा, रामजनक चौधरी, तीर्थ लामा, भुपेन्द्रजंग शाही, अनिल रुंगटासहित परिचित नाम नै पराजित हुन पुगेका थिए ।

काभ्रे १ मा कांग्रेसका तीर्थबहादुर लामा माओवादी केन्द्रका गंगाबहादुर तामाङसँग ४०२६ मतान्तरले पराजित भएका थिए । तामाङले ४३६३१ र लामाले ३९६०५ मत ल्याएका थिए ।

काडमाडौं ३ मा एमालेका कृष्णबहादुर राईले कांग्रेसकी अम्बिका बस्नेतलाई ४२८५ मतान्तरले पराजित गरेका थिए । राईको १९१६९ र बस्नेतको १४८८४ मत आएको थियो ।

कैलाली ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरीले कांग्रेसका रामजनम चौधरी ४३८५ मतले पराजित हुन पुगे । चौधरीले २४८७९ र चौधरीले २०४९४ मत ल्याए ।

पर्सा १ मा संघीय समाजवादी फोरम नेपालका प्रदीप यादवसँग कांग्रेसका अनिल रुंगटा ४६५१ मतले पराजित हुन पुगे । यावदले २११३२ मत ल्याउँदा रुंगटाले १६४८१ मत ल्याएका थिए ।

कालिकोटमा कांग्रेसका भुपेन्द्रजंग शाहीले माओवादी केन्द्रका दुर्गबहादुर रावतसँग ४७०५ मतको पराजय बेहोरे । रावतले २१११२ र शाहीले १६४०७ मत ल्याए ।

कैलाली ५ मा एमालेका नारदमुनी रानाले कांग्रेसकी आरजु राणा देउवालाई ४८८० मतले पराजित गरेका थिए । रानाले २७२०२ र आरजुले २२३२२ मत ल्याएकी थिइन् ।

बाजुरामा एमालेका लालबहादुर थापाले कांग्रेसका कविराज पण्डितलाई ४८८४ मतान्तरले पराजित गरे । थापाले २८०६५ र पणिडतले २३१८१ मत ल्याए ।

नवलपरासी १ मा एमालेका हृदयेश त्रिपाठीसँग कांग्रेसका देवकरणप्रसाद कलवार ५००१ मतले पराजित हुन पुगे । त्रिपाठीले ३८५९२ र कलवारले ३३५९१ मत प्राप्त गरे ।

कांग्रेसले जितेका २३ सिटमामा कसले कति मतान्तरले जिते रु

प्रदेश १ मा : ५ सिटमा जित

मोरङ २ बाट डा। मीनेन्द्र रिजाल १८०५ मतान्तरले विजयी भएका थिए । उनले एमालेका ऋषिकेश पोखरेलाई पराजित गरेका थिए । सुनसरी २ मा सीताराम महतोले माओवादीका डम्मरु सुवेदीलाई ६१४६ मतले पराजित गरेका थिए । सुनसरी ३ मा विजयकुमार गच्छदारले एमालेकी भगवती चौधरीलाई १५३३ मतले पराजित गरेका थिए । सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका रमेश श्रेष्ठलाई ६५९७ मतान्तरले पराजित गरेका थिए । उदयपुर १ मा डा। नारायण खड्काले एमालेकी मञ्जुकुमारी चौधरीलाई ५४८ मतले पराजित गरेका थिए ।

मधेस प्रदेशमा : ६ सिटमा कांग्रेस

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीले राजापाका मृगेन्द्रकुमार यादवलाई ९२२७ मतले पराजित गरे । सिराहा कांग्रेसका प्रदीप गिरिले एमालेका गंगा यादवलाई २५८० मतले पराजित गरेका थिए । सर्लाली ४ मा कांग्रेसका अमरेशकुमार सिंहले राजपाका राकेशकुमार मिश्रलाई १५३९ मतले पराजित गरे । रौतहट २ मा कांग्रेसका मोहम्मद अफताब आलमले संघीय समाजवादी फोरमका किरणकुमार साहलाई १९६८ मतले पराजित गरे । रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले एमालेका वंशीधर मिश्रलाई ५२२२ मतले पराजित गर्न सफल भए । बारा १ मा कांग्रेसका उमाकान्त चौधरीले एमालेका अच्युतप्रसाद मैनालीलाई २४२० मतले पराजित गरे ।

वाग्मतीमा : कांग्रेसलाई जम्मा ५ सिट

रसुवामा कांग्रेसका मोहन आचार्यले एमालेका जनार्दन ढकाललाई ४१७५ मतले पराजित गरे । काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहले विवेकशील साझाका रवीन्द्र मिश्रलाई ८१८ मतले पराजित गरे ।

काठमाडौं ४ गगन थापाले एमालेका राजन भट्टराईलाई ३४१८ मतान्तरले पराजित गरे । काठमाडौं ६ मा भीमसेनदास प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई १३०० मतान्तरले पराजित गरे । काठमाडौं १० मा राजेन्द्रकुमार केसीले माओवादीका हितमान शाक्यलाई २२८३ मतले पराजित गरे ।

गण्डकीमा : कांग्रेसलाई मात्रै एक सिट

सिंगो गण्डकी प्रदेशमा कांग्रेसले जम्मा १ सिट प्रत्यमा जितेको थियो । नवलपरासी १ डा। शशांक कोइरालाले माओवादीका भविसोर पराजुलीलाई ४०२४ मतले पराजित गरेका हुन् ।

लुम्बिनीमा : कांग्रेसलाइ ५ सिट

रुपन्देही ४ मा कांग्रेसका प्रमोदकुमार यादवले राजपाका सर्वेन्द्रनाथ शुक्ललाई ११३०२ मतान्तरले पराजित गरे । रुपन्देही ५ मा कांग्रेसका भरतकुमार शाहले माओवादीका डिलाराम आचार्यलाई १२६५० मतान्तरले पराजित गरे ।

कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप शाहले संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्तालाई ४१७५ मतान्तरले पराजित गरे । बर्दिया १ मा कांग्रेसका संजयकुमार गौतमले एमालेका वामदेव गौतमलाई ७५६ मतान्तरले पराजित गरे । नवलपरासी २ मा देवेन्द्रराज कँडेलले माओवादीका घनश्याम अधिकारीलाई १०२३२ मतान्तरले पराजित गरे ।

कणाली प्रदेशका कांग्रेसमा नी

कांग्रेसले २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा भने एक सिट पनि जित्न सकेन । पूर्णबहादुर खड्का जस्ता प्रभावशाली नेता नै पराजित हुन पुगे ।

सुदूरपश्चिममा एक सिट

सुदूरपश्चिममा कांग्रेसले एउटा मात्रै सिट जित्यो । जसमा डडेल्धुराबाट शेरबहादुर देउवा निर्वाचित भएका थिए । डडेल्धुरामा शेरबहादुर देउवाले माओवादीका खगराज भट्टलाई ६९४८ मतान्तरले पराजित गरे ।

यसरी २३ सिट जित्दा कांग्रेसका उम्मेदवारले एक हजारभन्दा कम मतान्तरको जित ३ सिटमा हासिल गरे । १ हजारदेखि २ हजारसम्मको मतान्तरले कांग्रेसले ५ सिट जित्यो । दुई हजारदेखि तीन हजारको अन्तरले कांग्रेसले ३ सिटमा विजय प्राप्त गर्यो । तीन हजारदेखि १० हजारसम्म ९ सिट र १० हजारदेखिमाथिको अन्तरमा ३ सिट जित्यो ।