NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

चितवनको भुइँकटहर दुई चिरा

काठमाडौं । गत स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन दलले माओवादीकी रेनु दाहाललाई मेयर उम्मेदवार बनाएपछि कांग्रेसमा तीव्र असन्तुष्टि चुलियो । प्रचण्डपुत्री रेनुलाई मेयर टिकट दिएपछि सबैभन्दा रुष्ट थिए, जगन्नाथ पौडेल ।

०७४ को स्थानीय चुनावदेखि कांग्रेस भएर कांग्रेसमा मत दिन नपाएकाको प्रतिनिधित्व गर्दै पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए । उनले जसलाई परास्त गर्न उम्मेदवारी दिएका थिए, उल्टो उसैलाई सप्ठ्यारो पर्यो । पौडेलले कांग्रेसका असन्तुष्टको मत पाउँदा रेनुले एमाले उम्मेदवारलाई सहजै पाखा लगाइन् ।

स्थानीय चुनाव पौडेलले भुइँकटहर चुनाव चिह्न पाएका थिए । त्यसैले कांग्रेसको यो विद्रोही खेमालाई भुइँकटहर समूहका रूपमा चिनिने गरेको छ ।

चितवन कांग्रेसको यो विद्रोही समूहमा पौडेलसँगै शम्भु अर्याल, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेललगायत थिए ।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यो समूहमा एकाएक फाटो आएको छ ।

चितवन क्षेत्र नं. ३ मा मीना खरेलले यो समूहबाट उम्मेदवार बन्ने आकांक्षा देखाएकी थिइन् । स्थानीय तहमा उठेको व्यक्ति पुनः प्रतिनिधिसभा चुनावमा पनि खडा हुँदा राम्रो सन्देश नजाने भएकाले आफूले टिकट पाउनुपर्ने अर्यालको मत थियो । तर गत स्थानीय चुनावमा भरतपुर महानगरका मेयर प्रत्यासी पौडेलले नै उम्मेदवारी दर्ज गराए । यही विवाद तन्किँदै जाँदा भुइँकटहर अहिले दुई चिरामा विभक्त भएको हो ।

पौडेललाई सुरुदेखि नै साथ दिनेमध्ये शम्भु अर्याल र तरुण दलका आनन्दराज राउत मात्र अहिले उनीसँग छन् । बाँकी पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल पौडेलको कार्यशैलीप्रति असन्तुष्ट जताएर अर्को खेमामा उभिएका छन् ।

संघीय निर्वाचनमा पौडेलले प्रस्तावक र सर्मथकमा अरूलाई नै राखेर उम्मेदवारी दर्ता गराए । तर उनी आफू रहरले नभई सबैको आग्रहमा उम्मेदवार बनेको दाबी गर्छन् ।

स्थानीय तहको निर्वाचनमा भूईंकटर चुनाव चिह्न पाएका पौडेलले यसपटक सूर्यमुखी पाएका छन् । तर स्थानीय तह निर्वाचनमा जस्तो उनको चमक छैन ।

असन्तुष्टको साथ कोइरालालाई

पौडेलले प्रतिनिधिसभा उम्मेदवार हुन लोभ गरेको भन्दै असन्तुष्ट बनेकाहरूले दिनेश कोइरालालाई साथ दिने भएका छन् । कोइराला कांग्रेसका बागी उम्मेदवार हुन् ।

असन्तुष्ट कांग्रेसीको एजेण्डा कोइरालाले बोकेकाले आफूहरूले उनैलाई समर्थन गर्ने यो समूहको भनाइ छ ।

कांग्रेसका असन्तुष्ट समूह एकै ठाउँ उभिनुपर्ने मत पनि योबीचमा प्रकट भएका छन् । तर पौडेल अहिलेसम्म आफ्नो उम्मेदवारी निष्क्रय पार्ने पक्षमा छैनन् ।