NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

रुपन्देही-२ मा विष्णु पौडेललाई छैन चुनौती, गठबन्धनलाई केशवको भर

काठमाडौं । सत्ता गठबन्धनले रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णयसँगै बुटवलको राजनीति थप तातिएको छ ।

यसअघि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रहेका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेपछि विकल्पमा गठबन्धनले थापालाई रोजेका हुन् । बुधबार बसेको सत्ता गठबन्धको बैठकले थापालाई समर्थन गर्ने निर्णय गरेपछि आगामी निर्वाचनमा पौडेल र थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

कात्तिक ४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिँदै गुरुङको मुद्दा खारेज गरेको हो । बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै उजुरी परेपछि असोज २५ गते निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णय गैरकानुनी भएको जिकिर गर्दै गुरुङले असोज २७ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

रुपन्देही २ एमाले उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो । २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार विजयी भएका पौडेलको चुनौती योपटक गठबन्धनका उम्मेदवार गुरुङसँग हुने ठानिएको थियो । गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ मा पौडेल निर्विकल्प उम्मेदवार देखिएका थिए । तर गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेपछि थापा एकाएक चर्चामा आएका छन् ।

को हुन् थापा ?

पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका उनी जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष हुन् । २०७३ मा निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीको केन्द्रीय अध्यक्षमा खड्कबहादुर पालुंगाको नाम उल्लेख छ । महाराजगञ्ज केन्द्रीय कार्यलय रहेको राजपाको निर्वाचन चिन्ह घर रहेको छ । राजपाभित्र थापा दोस्रो तहका कार्यकारी अध्यक्ष हुन् ।

२०४३ सालतिर थापा मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी निकट प्रगतिशील विद्यार्थी युनियनको राजनीतिमा सक्रिय थिए । ०४६ सालको आन्दोलनमा उनी माक्र्सवादीबाट नै आन्दोलनमा सक्रिय भए । ०४७ मा माले र माक्र्सवादी एकता भइ एमाले गठबन भएपछि उनी राजनीतिमा निस्क्रिय रहेका थिए । ०५१ सालतिर उनी जनमुक्ति पार्टीमा लागेका थिए । थापा २०५६ राजपाको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसपछि उपमहासचिव, महासचिव हुँदै कार्यकारी अध्यक्ष भएका हुन् । उम्मेदवार छनोटमा गठबन्धनको कमजोरीका कारण थापालाई थप चर्चामा आइपुगेका छन् । जनमुक्ति पार्टीले एकल हिसाबले उम्मेदवारी दिएपनि गठबन्धनको मतसमेत पाउने उनी भाग्यमानी उम्मेदवार भएका छन् ।

गृहमन्त्रीसमेत रहेका रुपन्देही ३ का कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई समर्थन गर्ने सर्तमा जनमुक्ति पार्टीलाई समर्थन गरेको गठबन्धनका एक नेताले बताएका छन् । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले कांग्रेसका उम्मेदवार खेलराज पाण्डेलाई समर्थन गरेको आधारमा कांग्रेसले थापाको नाम प्रस्ताव गरिएको बुझिएको छ । उक्त पार्टीले देशभर आफ्नो संजाल रहको दबी गरेपछि अन्यन्त्रको तुलनामा बुटवल राम्रै जनाधार रहेको मानिन्छ । पौडेलसँग योपटक स्वतन्त्रसहित १५ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । गठबन्धनले थापालाई सहयोग गरेपनि पौडेलको जित सुनिश्चि रहेको एमाले स्थानीय नेताहरू बताउँछन् ।

२०७४ को निर्वाचनमा यस्तो छ मतपरिणाम

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पौडेलले ४४ हजार ९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । उनको मतान्तर २२ हजार ६३ रहेको छ । २०७० को निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पराजित गरेका थिए ।

२०७४ मा समानुपातिकतर्फ एमालेले ३६ हजार ५३७ मत पाएको थियो । कांग्रेसको १९ हजार ६२६, विवेकशील साझाको ४ हजार १४६, राष्ट्रिय जनमुक्ति पार्टीको ३ हजार ९५५ मत रहेको छ । त्यस्तै माओवादीको ३ हजार ८६२, राष्ट्रिय जनमोर्चा ५२४, नयाँ शक्ति ४५३ मत रहेको छ । अन्यको मत ३०९१ छ ।

स्थानीय तह निर्वाचन २०७९ मा यस्तो छ वडागत अवस्था

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा रूपन्देही २ मा कांग्रेस ३४ हजार ९५९ मतसहित पहिलो दल रहेको छ । एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समजवादीको १ हजार ३८२ र जसपाको १८३ मत रहेको थियो । यहाँ गठबन्धनको जम्मा मत ३९ हजार ५२९ रहेको छ । एमाले ६ हजार ३४२ मतले पछाडि रहेको थियो । योपटक गठबन्धन एकै स्थानमा रहेकाले एमाले दोस्रो र जनमुक्ति पार्टी तेस्रो स्थानमा रहेको छ ।

रूपन्देही–२ मा १३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाका १, २, ३, ४, ५ र ६ वडा पर्छन् । सैनामैना नगरपालिकाका १, २, ३ र ४ यो क्षेत्रमा पर्छन् । यहाँ एक लाख २६ हजार ८०७ मतदाता छन् ।

स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने १३ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो । एमालेले २, नेकपा एसले १ र स्वतन्त्रले १ वटामा विजयी भएको थियो । सैनामैना नगरपालिकामा मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । ४ वडामध्ये २ वडामा एमाले, कांग्रेस र माओवादी केन्द्रले एक÷एक वडा जितेको थियो ।
तिलोत्तमा नगरपालिकामा तिलोत्तमा नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । यो क्षेत्रमा पर्ने ६ वडामध्ये ४ वटामा कांग्रेस र २ वटामा एमाले उम्मेदवार विजयी भएको थियो ।

केन्द्रीय राजनीतिमा प्रभाव राख्न सक्ने, उपप्रधानमन्त्रीसहित रक्षामन्त्री भएका र दुई–दुईपटक अर्थमन्त्रीसमेत भएर काम गरेकाले पौडेलको विकल्प खोज्ने अवस्थामा रुपन्देही २ का मतदाता नरहेको स्थानीय नेता तथा कार्यकर्ताको बुझाइ छ । चुनावी मतपरिणामले गठबन्धन केही अगाडि भएपछि निर्वाचन जित्नेमा पौडेल ढुक्क देखिन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष