NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

एलन मस्क-ट्विटर द्वन्द्व : आदिदेखि अन्त्यसम्म

काठमाडौं (एजेन्सी) । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क र ट्विटरबीच विगत नौ महिनादेखि चलिरहेको लडाइँ अन्ततः सकिएको छ । मस्क अब माइक्रो ब्लगिङ साइट ट्विटरको पनि मालिक बनेका छन् ।

ट्विटरको स्वामित्व मस्कसमक्ष सहजै भने आइपुगेन । निकै ठूलो तनाव र विवादबाट यो मामला गुज्रियो ।

मस्कले ट्विटरको कमाण्ड लिनेबित्तिकै ट्विटरका सिइओ पराग अग्रवाललगायत अधिकारी बर्खास्त गरेका छन् । जसको संकेत उनले पहिले नै दिइसकेका थिए ।

ट्विटर र मस्कबीच एउटा सहमति भएको थियो । तर त्यसमा विवाद भयो । यसलाई अन्त्य गर्न ट्विटरलाई सजिलो थिएन। बारम्बार सम्झौताको साथमा मस्कको यू–टर्नले पनि ट्विटरलाई समस्यामा पार्यो । अन्ततः ट्विटरले अदालतको सहारा लिनुपर्यो र सम्झौता पूरा गर्यो।

जहाँबाट सुरु हुन्छ कथा

मस्कले आफ्नो एक ट्विटमा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी ट्विटरको नीतिमाथि प्रश्न उठाएका थिए। यसैक्रममा उनले नयाँ सामाजिक सञ्जाल प्लेटफर्म बनाउन सुझावसमेत दिए ।

नयाँ सोसल मिडिया प्लेटफर्म बनाउन सुझाव दिएपछि मानिसहरूले मस्कलाई ट्विटर किन्नु पर्ने सुझाव दिएका थिए। त्यसपछि ४ अप्रिल २०२२ मा ट्विटरले मस्कले कम्पनीमा ९.२ प्रतिशत हिस्सेदारी लिएको घोषणा गर्यो । जुन मार्च ४ को शेयर मूल्यको आधारमा करिब ४२.९ बिलियन थियो।

कम्पनीमा हिस्सेदारीपछि मस्क अप्रिल ५, २०२२ मा ट्विटरको बोर्डमा सामेल भए । ट्विटरका सिइओ पराग अग्रवालले ट्विटको श्रृंखलामा मस्कलाई ट्विटर बोर्डमा नियुक्त गरिएको घोषणा गरे।

ट्विटरका सीईओ अग्रवालको घोषणाको केही दिनपछि मस्क यू–टर्न भए । उनले ट्विटर बोर्डमा सामेल हुन अस्वीकार गरे।

बोर्डमा सामेल हुन अस्वीकार गरेपछि मस्कले अप्रिल १४ मा ट्विटरको पूरै स्वामित्व आफूले लिने प्रस्ताव गरे । ट्विटरलाई ४३ अर्ब डलर प्रति सेयर ५४.२० डलरमा किन्ने उनको प्रस्ताव थियो र त्यहीअनुरूप सम्झौता भयो । जसलाई सेयरधनीहरूले अनुमोदन गरिदिएका थिए ।

यो सम्झौतापछि मस्क फेरि यू–टर्न भए । मस्कले ट्विटर प्रयोगकर्ताहरूको वैधतामाथि प्रश्न उठाउन थाले। ट्विटर प्रयोगकर्तामध्ये पाँच प्रतिशत स्प्याम भएको जिकिर उनले गरे । यसबारे ट्विटरसँग जानकारी मागे तर उसले अस्वीकार गर्यो । आफूले मागेको जानकारी उपलब्ध नगराएपछि जुलाई ९ मा मस्कले सम्झौताबाट बाहिरिने निर्णय गरे।

ट्विटरले ढक्ढकायो अदालतको ढोका

मस्कको यू–टर्न पछि, ट्विटर अदालतमा पुग्यो। मर्जर सम्झौताअन्तर्गतको दायित्व उल्लङ्घन गरिएको जिकिर ट्विटरले गरेको थियो । विवादले माइक्रो ब्लगिङ साइटको व्यापारलाई नोक्सान पुर्याइरहेकाले जतिसक्दो चाँडो सम्झौता सम्पन्न गर्नुपर्ने ट्विटरको अडान थियो ।

अदालतमा दुवै पक्षको लामो बहसपछि मुद्दाको सुनुवाइ १७ अक्टुबरबाट हुने तय भयो। तर त्यसअघि नै मस्कले सम्झौतामा फर्केर यसलाई पूरा गर्न भनेका थिए । यसपछि डेलावेयरको अदालतले अक्टोबर २८ सम्ममा ट्विटरको सम्झौता पूरा गर्न आदेश दियो र विवादको अन्त्य भयो ।