NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

भेटिन छाडे परम्परागत घुमाउने घर

बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरू पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् ।

एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् ।

पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरूको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका-१ का थिर्तराम गुरुङको भनाइ छ ।

उनले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताए । ‘१२/१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरू भेटिन्थे, अहिले १/२ वटा पनि भेट्याउन मस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ’, उनले भने, ‘तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।’ गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरूको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउँछन् ।

त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भने, ‘घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?’ निसीखोला गाउँपालिका-६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउँछन् ।

यस्ता घरहरूलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उनको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्यांक संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उनको सुझाव छ ।

घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरू यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उनले बताए । उच्च पहाडी क्षेत्रमा जनजाति समुदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरूमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष