NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चुच्चे नक्साकै जिल्ला दार्चुलाबाट ओलीले किन गर्दैछन् पहिलो चुनावी सभा ?

काठमाडौं । गठबन्धन विरूद्ध आक्रामक चुनावी अभियान सञ्चालन गर्न लागेको एमालेले पहिलो चुनावी सभा दार्चुलामा गर्ने भएको छ । भारतसँग मुख्य सीमा विवाद रहेको दार्चुलामा एमालेले चुनावी अभियान सुरू गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रम अनुसार कात्तिक १८ गते दार्चुलाको खलङ्गामा पहिलो चुनावी सभा गर्न लागिएको हो । त्यस कार्यक्रमलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

‘हामीले कात्तिक १८ गतेदेखि देशव्यापी चुनावी कार्यक्रम राखेका छौं । दार्चुलाको खलङगामा हुने कार्यक्रमलाई अध्यक्षज्यूले सम्बोधन गर्नुहुन्छ’, उनले भने, ‘राष्ट्रघाति गठबन्धनको भण्डाफोर गर्दै एमालेले सुदूरपश्चिम, मध्यपश्चिम, उपत्यका, पश्चिम हुँदै पूर्वी नेपालमा गएर अभियान टुंगिनेछ । यी सबै कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्षज्यू आफै जानुहुनेछ ।’

ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरेकालाई एमालेले आफ्नो महत्वपूर्ण उपलब्धी ठानेको छ । एमालेले पहिलो चुनावी कार्यक्रम दार्चुलालाई रोज्नुको पछाडि नेपालको भू–भाग फिर्ता ल्याउन एमालेको सरकार आवश्यक रहेको सन्देश दिन रणनीतिक रुपमा अगाडि सारिएको बुझिएको छ ।

२०७२ मा पहिलोपटक प्रधानमन्त्री बन्नुअघि भारतीय नाकाबन्दीको खुलेर विरोध गरेका ओली राष्ट्रवादी नेताको छवि बनाएका थिए । त्यतिबेला भारतीय नाबाबन्दीको विरूद्ध ओली उभिएकै कारण २०७४ को निर्वाचनमा एमालेले १२१ सिट एकलौटी जितेको थियो ।

आगामी निर्वाचनमा १५० सिट जित्ने दाबी गरेका ओलीले राष्ट्रियताको विषयलाई मुख्य एजेण्डाको रूपमा अघि सार्ने रणनीति बनाएका छन् । देशको आधाबढी जिल्लामा चुनावी सभा गर्ने कार्यतालिका अनुसार दिनको तीन/चार वटा जिल्लामा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

वर्तमान सरकारलाई सर्वोच्च आदालतको परमादेशी सरकार भएको आरोप लगाउँदै आएको उनले देउवा नेतृत्वको सरकारले लिएको आर्थिक नीति, सरकार सञ्चालनमा देखिएको बेथितिमाथि प्रहार र आफ्नो नेतृत्वको सरकारले गरेका राष्ट्रियता, भौतिक पूर्वाधार विकास र आर्थिक वृद्धि लगायतलाई मुख्य मुद्दा बनाउने एमाले सुदूरपश्चिमका सहइन्चार्ज कर्णबहादुर थापाले बताए ।

‘एमाले नेतृत्वको सरकार ढलेपछि राष्ट्रियता, भौतिक पूर्वाधार विकास, आर्थिक वृद्धि र जनजिवीकाको विषयमा गठबन्धन सरकारले सिन्को भाँचेको छैन । हाम्रै पालामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्यो’, उनले भने, ‘वास्तविक रुपमा नेपालको भूमि फिर्ता ल्याउन पनि एमाले नेतृत्वको सरकार आवश्यक छ । एमालेको सरकार बनेपछि शिथिल आर्थिक वृद्धि, सुस्त भौतिक पूर्वाधार विकास र जनजिवीका पक्षमा रफ्तारमा काम हुन्छ ।’

निर्वाचन परिचालन कमिटीका अनुसार त्यसैदिन बैतडी र कन्चनपुरमा पनि चुनावी सभा राखिएको छ । ती सबै कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको एमालेले कात्तिक १६ सम्ममा अन्य जिल्लामा हुने चुनावी कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको रिजालले बताए । यी बाहेक प्रदेश र जिल्लाले आ–आफ्नै हिसाबले चुनावी कार्यक्रम गर्नेछन् । यी सबै कार्यक्रम निर्वाचन आयोगले परिमार्जन गरेको आचारसंहिताभित्र रहेर हुने उनले बताए ।

सामाजिक संजाल फेसबुक, ट्वीटर, टिकटकलगायत डिजिटल माध्यमाबाट आक्रामक प्रचारप्रसारमा उत्रिएको एमालेले अब चुनावीसभामार्फत आफ्नो एजेण्डा जनतामाझ लैजान लागेको हो । सुगम र दुर्गम हेरी एकैदिन तीन/चार जिल्लाको कार्यक्रम भ्याउने सभास्थल बनाउने र आवश्यक ठाउँमा हेलिकप्टेरको व्यवस्था गर्न लागिएको परिचालन कमिटीले जनाएको छ ।