NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

नवलपरासी । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित भएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि खुसी भएकी छन् ।

स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि उच्च रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो ।

गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् । उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त नगरपालिकामा चालु आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनको २० देखि २४ गतेसम्म स्वास्थ्यकर्मी घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिन साथै आवश्यक परामर्श प्रदान गर्ने पनि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ख्यामबहादुर क्षेत्रीले बताए ।

‘घरघरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीन सय ज्येष्ठ नागरिकले लाभ लिएका छन्’, उनले भने, ‘यसबाट अशक्त, अपाङ्ग, दीर्घरोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरिकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।’

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए ।

जनताका बीचमा गरिएको प्रतिबद्धताअनुसारका ज्येष्ठ नागरिकलाई घरआँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए । उनले भने, ‘हामीले पहिलो चरणमा उनीहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्य चौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँ ।

पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायत आधारभूत तथ्यांक टिपोट गरी लगत संकलन गरिएको छ । सबै लाभग्राहीको छुट्टाछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।

प्रत्येक ६/६ महिनामा विशेषज्ञ चिकित्सकसहित घरघरमा स्वास्थ्य परीक्षण गरिएको र घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहन भत्तासमेत उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष