NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

दाङमा चुनावी गतिविधि तीव्र

दाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् ।

उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् ।

यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ । सो क्षेत्रमा गठबन्धनअन्तर्गत कांग्रेसका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ ।

कांग्रेसबाट केन्द्रीय सदस्य दीपक गिरी, एमालेबाट कोमल वलीसहित सो निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र गरी १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजाजन्त्र पार्टीबाट ओजबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी, नागरिक उन्मुक्ति पार्टीबाट कुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णवीर नेपाली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, जनता समाजवादी पार्टीबाट देवीलाल डाँगी, लोकतान्त्रिक समाजवादी पार्टीबाट रणेन्द्रविक्रम केसी र नेपाल मजदुर किसान पार्टीबाट वीरबहादुर चौधरी प्रतिस्पर्धामा छन् ।

यस्तै स्वतन्त्रबाट घनश्याम डाँगी, टोपेन्द्र बस्नेत, तिलक खड्का, भूपबहादुर भण्डारी, लीलाधर न्यौपाने, हेमन्तबहादुर मल्ल र नेपाल कम्युनिष्ट पार्टीबाट शालिकराम चौधरी चुनावी मैदानमा छन् । विद्यार्थी जीवनदेखि कांग्रेसको राजनीतिमा सक्रिय गिरी २०५१ सालयता यो क्षेत्रमा तीनपटक निर्वाचन लडिसकेका छन् ।

चौथोपटक संसद्को यात्राका लागि प्रतिस्पर्धामा रहेका गिरी यसअघि २०७४ सालमा एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए । उनी २०७० सालमा विजयी हुँदै सिँचाइमन्त्री बनेका थिए । पूर्व पूर्वसञ्चारकर्मी वली भने र राष्ट्रिय सभासदस्य भइसकेका छन् ।

यो निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि १५ वडा, बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका पर्दछन् । गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा तुलसीपुरका आठवटा वडामा गठबन्धनले जित हासिल गरेका छन् भने अन्य वडा र प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ ।

त्यस्तै शान्तिनगर, बबई र दङ्गीशरणमा कांग्रेसले गठबन्धन नगरी आफ्ना उम्मेदवार उठाएको थियो । ती पालिकामा कांग्रेसले विजयी भएको थियो । ‘सिँचाइमन्त्री हुँदा गरेका विकास निर्माणका कामको जनताले मूल्याङ्कन गरिसकेकाले मत पाउनेमा ढुक्क छु’, उृनले भने । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले पनि जित सुनिश्चत रहेको गिरीको भनाइ छ ।

एमालेका उम्मेदवार वली गठबन्धन हुँदा स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा जितेकाले आफू चुनाव जित्नेमा ढुक्क छन् ।

उनी भन्छन् ,‘यस क्षेत्रको विकासका आफू लागिरहेको र राष्ट्रियसभा सदस्य हुँदा यहाँको विकासका लागि सक्दो प्रयास गरेकाले मेरो जित निश्चित छ ।’ यो क्षेत्रमा वली पहिलोपटक उम्मेदवार बनेका हुन् । क्षेत्र नं ३ मा एक लाख ४८ हजार चार सय ७५ मतदाता छन् ।