NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

केपी ओलीका सालोसँग प्रतिस्पर्धा गर्दै कांग्रेसका चित्रकार

काठमाडौं । २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार रहेका विद्यासुन्दर शाक्य एमाले अध्यक्ष केपी ओलीका सालो भन्दै चर्चित बनाइयो । तर केपी ओलीका आफ्नै सालो फेरि  भने यसपटकको निर्वाचनमा उम्मेदवार बनेका छन् ।

कांग्रेस ललितपुरका परिचित र चर्चित अनुहार रामकृष्ण चित्रकारसँग ओलीका आफ्नै सालो ज्ञानेन्द्र शाक्यले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
ललितपुर २ (२)मा चित्रकार र ज्ञानेन्द्रबीच प्रदेशसभामा प्रतिस्पर्धा हुन लागेको हो ।

‘अघिल्लोपटक काठमाडौंमा विद्यासुन्दर शाक्यलाई केपी ओलीको सालो भनेर खुबै चर्चा गरियो । तर यसपटक मसँगै एमाले मात्रै होइन, केपी ओली र उनका सालो नै प्रतिस्पर्धा हुनुहुन्छ ।’ चित्रकारले बुधबार भएको पत्रकार भेटघाटमा भने, ‘भन्नलाई शाक्य उम्मेदवार भनिए । उनी एमालेको अध्यक्षका आफ्नै सालो हुँदा यहाँ फरक प्रतिस्पर्धा हुँदैछ । तर यो हाम्रो बलियो पकड भएको, कांग्रेस एक ढिक्का भएको र सत्ता गठबन्धनको साथ भएकोले हामीलाई यसपटक गाह्रो छैन ।’

ललितपुर २ (२) मा अघिल्लोपटक एमाले र माओवादी मिलेर चुनाव लड्दा एमालेका उनै शाक्य विजयी भएका थिए । शाक्य १२०६३ मत ल्याएर विजयी भएका थिए । पराजित कांग्रेस उम्मेदवार प्रेमकृष्ण महर्जनले ९४२० मत प्राप्त गरेका थिए । चित्रकारसँगकाे प्रतिस्पर्धामा फेरि शाक्य नै उम्मेदवार बनेका हुन् । एमाले पराजित विभाजित भएकाे, यसपटक गठबन्धन उल्टिएकाे, प्रतिनिधिसभामा नेकपा एसकाे उम्मेदवार भएकाेले यसपटक चित्रकार बलिया उम्मेदवार देखिएका छन् ।

कांग्रेस एक्लैले पनि प्रतिस्पर्धा गरेर जित्न सक्ने ठाउँमा गठबन्धनको समेत आफूलाई साथ रहेको उनले बताए । ललितपुर २ को प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार बनेका छन् । अघिल्लोपटक एमालेबाट उनी नै उम्मेदवार बनेर जितेका थिए ।

सत्ता गठबन्धनतर्फ कांग्रेसबाट उम्मेदवार बनेका चित्रकारले २०४६ सालको जनआन्दोलन नै ललितपुरको २ को २ प्रदेशसभाबाट सुरु भएको भन्दै ऐतिहासिक ठाउँमा उम्मेदवार बन्न पाउनु आफ्नो सौभाग्य भएको बताए । ‘म कांग्रेसको तर्फबाट मात्रै उम्मेदवार बन्दै छैन । यो जनआन्दोलन सुरु भएको, मुक्ति आन्दोलन सुरु भएको ऐतिहासिक क्षेत्र हो ।’ चित्रकारले भने, ‘देशकै सबैभन्दा ठूलो हस्तकला भएको क्षेत्र मात्रै होइन । सानो ठाउँमा सांस्कृतिक सम्पदको उन्नत र बेजोड सम्पदा भएको क्षेत्र पनि हो । यसैले यहाँबाट प्रतिनिधित्व गर्न पाउँदा छुट्टै गौरव बोध हुन्छ ।’

पाटनको कृष्णमन्दिर, दरबार स्क्वार, गोल्डेन टेम्पल, महाबौद्ध जस्ता मन्दिर र बिहार यही प्रदेशसभामा रहेको भन्दै महत्वपूर्ण सांस्कृतिक सम्पादको अझै विकास र विस्तारमा आफूले जोड दिने बताए ।

४० हजार मतदाता रहेको क्षेत्रमा १० हजारले हस्तकलाको सामग्री उत्पादनमा रोजागारी पाएको भन्दै यसलाई हस्तकलाको हब र शैक्षिक केन्द्र बनाउने बताए ।

ढल र फोहोरमैला व्यवस्थापन, खानेपानीको व्यवस्थाको लागि आफूले महत्वपूर्ण योजना र कार्यक्रम ल्याउने पनि उनले बताए ।
कार्यक्रममा ललितपुर १ (१) की प्रदेशसभा उम्मेदवार कांग्रेसकी रिसा श्रेष्ठले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन सकेमात्रै ऐतिहासिक ललितपुरको विकास र समृद्धि माथि जाने बताइन् । महिला सशक्तिकरणका लागि आफूले अग्रसर भएर काम गर्ने भन्दै उनले कांग्रेसले उठाएका एजेण्डा नै जितका आधार रहेको बताइन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार फरिन्दा महर्जनले कांग्रेसको जितले मात्रै देशले विकासको मुहार फेर्ने बताइन् ।