NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
वेथिति

आरजूसँगको झलकरामको त्यो वाचा, जुन पूरा नगर्दा भयो डिजीबाट सरुवा

काठमाडौं । जिम्मेवारी सम्हालेको चार महिना पूरा नहुँदै राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीलाई गत मंगलबार हटाइयो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हतार–हतार यस्तो बेला डिजी परिवर्तन गरेको छ जतिबेला कर्मचारीको सरुवा, बढुवा, नियुक्ति गर्न निर्वाचन आचारसंहिताले अंकुश लगाएको छ । राजस्व अनुसन्धान विभागजस्तो महत्त्वपूर्ण निकायको नेतृत्व चार महिनामै त्यो पनि निर्वाचन आचारसंहिता लागिरहेका बेला किन परिवर्तन गर्नुप-यो ? यसबारे कसैले औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर कुबेलामा गरिएको यो सरुवाले अनेक जिज्ञासा जन्माएका छन् ।

अधिकारी महानिर्देशकबाट हटाइनुमा उनको कार्यसम्पादन गौण र स्वार्थ प्रमुख रहेको जानकारहरू बताउँछन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, अधिकारीले महानिर्देशकको जिम्मेवारीमा जानुपूर्व मासिक एक करोड रूपैयाँ प्रधानमन्त्रीपत्नी आरजू राणा देउवालाई बुझाउने कबोल गरेका थिए । कर्मचारीबीच चलेको चर्चाअनुसार, अधिकारीले आरजूसँगको भद्र सहमति पालनाका लागि इमान्दार प्रयास गरेका थिए । तर आर्थिक संकटबाट गुज्रेका व्यवसायीहरूबाट आवश्यकताअनुसार रकम उठाउन उनी सफल भएनन् ।

‘मासिक एक करोड कमिसन बुझाउने प्रस्तावपछि आरजू अधिकारीलाई विभागको महानिर्देशक बनाउन राजी बनेकी थिइन्,’ स्रोतले भन्यो, ‘कबोलअनुसार अधिकारीले बालुवाटारमा थैली टक्र्याउन नसकेपछि उनलाई हटाएर नयाँ पात्रलाई विभागको जिम्मेवारी दिइएको छ ।’

कर्मचारीबीच चलेको चर्चाअनुसार, अधिकारीले आरजूसँगको भद्र सहमति पालनाका लागि इमान्दार प्रयास गरेका थिए । तर आर्थिक संकटबाट गुज्रेका व्यवसायीहरूबाट आवश्यकताअनुसार रकम उठाउन उनी सफल भएनन्

अधिकारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रुचिअनुरूप विभागको महानिर्देशक बनाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक
सह–सचिव सिफारिस प्रचण्डको भए पनि लेनदेनको अन्तिम डिल भने आरजूले गरेको दाबी गर्छन् । ‘प्रधानमन्त्रीपत्नी राणालाई मासिक एक करोड कमिसन बुझाउन अधिकारीले कबोल गरेपछि मात्रै उनको नियुक्ति भएको थियो,’ नाम उल्लेख नगर्ने सर्तमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिवले नेपालवाचसँग भने ।

सुपारीको अडानले आरजू थप क्रुद्ध

प्रधानमन्त्रीपत्नी राणा अधिकारीले आफ्नो निर्देशनअनुसारका काम नगरिदिँदा पनि उनीबाट थप चिढिएकी थिइन् ।चुनावी आचारसंहिताको समेत ख्याल नगरी जिम्मेवारीच्यूत गर्न आरजू हतारिनुको कारणचाहिँ सुपारी प्रकरणमा उनको ठाडो आदेश अधिकारीबाट अवज्ञा गरिनु भएको बताइन्छ ।

गत साउन ५ गते प्रहरीले आठ ट्रक सुपारी नियन्त्रणमा लिएको थियो । खासमा ती सुपारी नियन्त्रणमा लिने निर्देशनचाहिँ बालुवाटारबाटै आएको थियो । विभाग स्रोतका अनुसार भारत निर्यात भएर सिल भइसकेको ट्रक नेपालले नियन्त्रण गर्न नियमतः मिल्ने कुरा थिएन । बालुवाटारबाट थेग्नै नसक्ने दबाबपछि आएपछि विभाग नेतृत्व गल्यो र त्यसलाई नियन्त्रणमा लियो ।तर केही समयपछि घटनाक्रमले १८० डिग्रीमा यसरी पल्टाबाजी खायो कि हिजो समात् भन्ने त्यही बालुवाटार छाड् छाड् भन्न थाल्यो ।तर सुरुमै प्रक्रियाभन्दा बाहिर गएर सुपारीसहितको ट्रक समातिएकाले प्रक्रिया पूरा नगरी छाड्न नमिल्ने अडान अधिकारीले लिए । भेटीसँगै यो अडानका कारणले पनि उनी विभागबाट हट्नु परेको विभाग स्रोतको दाबी छ ।

छोटो समयमा नै पजनीमा परेका सह–सचिव अधिकारीले भने यसबारे मुख खोलेका छैनन् ।

२० महिनामा चार महानिर्देशक

राजस्व अनुसन्धान विभाग महत्त्वपूर्ण निकाय हो । मुलुकभरका भन्सार बिन्दुबाट संकलन गरिने राजस्व चुहावट नियन्त्रणमा विभागको प्रमुख भूमिका रहने गर्छ । राजस्व चुहावटको सम्भावना रहेका क्षेत्रमा छापा मारेर अनुसन्धान तथा कारबाही गर्ने एवं मुद्दा चलाउने क्षेत्राधिकार पनि विभागकै हो । नेतृत्व क्षमता, योग्यता र इमान्दारिताका आधारमा नेतृत्व प्रत्योजन गर्नुपर्ने विभागलाई पछिल्लो समय पंगु बनाइएको छ । देशलाई नभएर आफूलाई केन्द्रमा राखेर सत्तासीनहरूले विभागको नेतृत्व परिवर्तन गर्दै आइरहेका छन् । पछिल्लो २० महिनामा मात्रै विभागले ४ महानिर्देशक पाएको छ । अधिकारीको पजनीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत मदन दाहाललाई विभागको नेतृत्व दिइएको छ । उनी राजस्व क्षेत्रका पुराना कर्मचारीमध्ये एक हुन् । उनले बुधबार नै कार्यभार सम्हालेका छन् ।

अधिकारीअघि विभागको नेतृत्व प्रकाश पौडेलले सम्हालेका थिए । तर उनी ९ महिनामा नै त्यहाँबाट हटाइए । पौडेललाई पठाउनुअघि विभागका महानिर्देशक रामप्रसाद आचार्य थिए । उनी पनि लामो समय टिक्न सकेनन्, सात महिनामै सरुवामा परे ।

क्षमताको आधारमा नेतृत्व सुम्पिनुपर्ने विभागको महानिर्देशक स्वार्थ पूरा नहुँदा र बाझिँदा परिवर्तन हुने गरेको जानकारहरू बताउँछन् । विभागका तत्कालीन महानिर्देशक प्रकाश पौडेलले प्रधानमन्त्रीपत्नी राणालाई २४ करोड बुझाउन नसक्दा आफू त्यहाँबाट हट्नुपरेको सार्वजनिक रूपमै बताएका थिए । उनले केही सचिव र संवैधानिक आयोगका सदस्यहरूसँग भनेका थिए– आरजू राणालाई कमिसन बुुझाउन नसक्दा मलाई विभागको निर्देशकबाट हटाइयो ।’ तर आरजूले आफूमाथि लागेको यति ठूलो संगीन आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन् । यसले राणाको नियतमाथि गम्भीर प्रश्न उठाएको जानकारहरू बताउँछन् ।