NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

जहाँ गठबन्धनका बलिया प्रतिस्पर्धी, त्यहाँ एमालेका महिला उम्मेदवार

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ११ जना महिला उम्मेदवार उठाएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले १४१ सिटमा एकल उम्मेदवारी दिएको छ ।

समग्रमा महिला उम्मेदवारको उपस्थिति ७.८ प्रतिशत रहेको छ । पुरुष उम्मेदवारको तुलनामा निकै कमजोर उपस्थिति हो । सातै प्रदेशमा एमालेको पुरूष उम्मेदवार १३० जना अर्थात् ९२. १९ प्रतिशत रहेको छ । ११ जना महिला उम्मेदवारमध्ये एमालेले प्रदेश १ मा २, मधेश प्रदेशमा २, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा २ जना छन् ।

सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको बाग्मती प्रदेश र सबैभन्दा कम निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा महिला उम्मेदवार शून्य छन् । मंसिर ४ मा हुने निर्वाचनमा उनीहरूले आफ्नो जित सुरक्षित गर्नका लागि सत्ता गठबन्धनका बलिया उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एमालेले केही स्थानमा गठबन्धन बाहिरका जसपा, राप्रपालगायत साना दलसँग चुनावी तालमेल गरेको भएपनि सुनसरी–३ बाहेक अन्य महिला उम्मेदवार भएको निर्वाचन क्षेत्रमा तालमेल भएको छैन । यद्यपि सत्ता गठबन्धनले यी सबै क्षेत्रमा चुनावी तालमेल गरेको छ । त्यसैले गठबन्धनका उम्मेदवारलाई पराजित गर्न उनीहरूलाई त्यति सजिलो छैन ।

प्रदेश १

२८ वटा निर्वाच क्षेत्र रहेको प्रदेश १ मा एमालेले २ जनामात्र महिला उम्मेदवार उठाएको छ । सुनसरी–३ मा अघिल्लो निर्वाचनमा पराजित भएकी भगवती चौधरी नै उठेकी छिन् । योपटक पनि चौधरीले गठबन्धनका पुरानै प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग भिड्दै छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदार २०४८ देखि लगातार चुनाव जित्दै आएका छन् । उनीले १२ पटक मन्त्री र ६ पटक सांसद जितिसकेका छन् । अघिल्लो निर्वाचनमा चौधरी ३२१ को झिनो मतान्तरले गच्छदारसँग पराजित भएकी थिइन् । गच्छदारले ३८ हजार ९७२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् । योपटक गच्छदारलाई पराजित गरी विजय हासिल गर्ने दाउमा उनी छिन् । एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनलाई यसपटक जसपाले साथ दिएको छ । केही स्थानमा गठबन्धनसँग तालमेल गरेको लोसपाले यो क्षेत्रमा छुट्टै उम्मेदवार उठाएको छ ।

अघिल्लोपटक निर्वाचन जितेपनि ललिता निवासमा भएको भ्रष्टाचार काण्डमा अख्तियारले गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा हालेकाले उनी निलम्बनमा परेका थिए । उनको मुद्दा अहिले पनि विशेष अदालतमा विचारधीन छ । प्रतिद्वन्द्वीमाथि भ्रष्टाचार अभियोग लागेको र जसपाले साथ दिएका कारण योपटक उनलाई चुनाव जित्न सहज देखिन्छ ।

चौधरी ग्रिन जोनमा

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा सुनसरी ३ मा गठबन्धन भन्दा एमाले बलियो रहेको छ । यहाँ एमालेको ३५ हजार ५३ मत रहेको छ । यसैगरी कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हाजर ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एसको ६२६ रहेको छ । गठबन्धनको जम्मा मत ३७ हजार ९९७ रहेको छ । एमाले र जसपाको जम्मा मत ४० हजार ५६९ रहेको छ । गठबन्धनभन्दा एमाले २ हजार ५७२ मतले अगाडि रहेको छ ।

उदयरपुर–१ मा एमालेले पोलिटब्यूरो सदस्य मन्जुकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । उनका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार डा. नारायण खड्का उठेका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा खड्काले चौधरीलाई ६४८ को झिनो मतान्तरले हराएका थिए । खड्काले ३३ हजार १४२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी चौधरीले ३२ हजार ५९४ मत पाएका थिए ।

मन्जुलाई हारको बदला लिन कठिन

वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उदयपुर १ मा एमालेले २१ हजार ६५२ मत पाएको छ । कांग्रेसको २० हजार ७५७, माओवादीको ८ हाजर १७९, जसपाको २ हाजार ४२९, नेकपा एसको १ हजार ९९४ र राप्रपाको १ हाजर ६३३ मत रहको छ । मधेका अन्य क्षेत्रमा गठबन्धन र एमाले दुवैले पक्षले जसपा र लोसपाको साथ लिएपनि यहाँ गठबन्धनसँग एमाले एक्लै भिडेको छ । यो क्षेत्रमा गठबन्धनको जम्मा मत ३० हजार ९३० मत रहेको छ । एमालेसँग गठबन्धनको मतान्तर ९ हजार २७८ रहेको छ । स्थानीय तहको चुनावी परिणामलाई हेर्दा एमालेलाई जसपा, लोसपा र राप्रपाको सबै मत गएपनि जित्ने अवस्था देखिँदैन । मन्त्री खड्कालाई योपटक आफ्नो विरासत जोगाउनुपर्ने बाध्यता देखिन्छ । चौधरीलाई चुनाव जितेर इतिहास बनाउनुपर्ने बाध्यता छ ।

मधेश प्रदेश

प्रदेश १ मा जस्तै मधेश प्रदेमा पनि एमालेले २ जना महिला उम्मेदवार उठाएको छ । ३२ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा विगतको तुलनामा एमालेको जनमतमा केही सुधार आएको स्थानीय निर्वाचनको परिणामले देखाउँछ । धनुषा–३ एमालेका सचिवसमेत रहेका रघुवीर महासेठका श्रीमती जुलीकुमारी महतो योपटक उम्मेदवार बनेकी छिन् । धनाढ्य उपेन्द्र महतोका बहिनीसमेत रहेकी उनी एमालेको पोलिटब्यूरो सदस्य हुन् । उनलाई गठबन्धनको सहयोगमा लोसपाका उम्मेदवार अनिलकुमार झाले चुनौती दिएका छन् । महातोलाई यसपटक जसपाले साथ दिएको छ ।

२०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले जितेका थिए । योपटक पनि उनी सोही निर्वाचन क्षेत्रबाट उठ्न चाहेका थिए । तर उनलाई एमाले र गठबन्धन दुवै पक्षले साथ नदिएपछि उनीले सर्लाही २ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा महतो ३० हजार ७५० मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी विमलेन्द्र निधिले २७ हजार ८४७ मत पाएका थिए ।

महतोको जितहारमा सिके राउतको पार्टी निर्णायक

स्थानीय तह निर्वाचनको मतपरिणम अनुसार धनुषा ३ मा कांग्रेसको २२ हाजार ४२८, एमालेको १७ हजार ९६, लोसपाको ८ हजार ७६३, जसपाको ८ हजार २४३, नेकपा एसको ३ हजार ७२५, जनमत पार्टीको २ हजार ४९१, माओवादीको ६६५ र राप्रपाको ५०१ मत रहेको छ । यहाँ गठबन्धनको मत ३५ हजार ५८१ रहेको छ । एमाले र जसपाको मत २५ हजार ८५९ मत रहेको छ । गठबन्धन एमालेभन्दा ९ हजार ७२२ मतले अगाडि रहेको छ । यहाँ जनमत पार्टीको मत पनि राम्रै देखिएकाले चुनावी परिणामलाई फरक पार्न सक्ने देखिन्छ ।

बारा–३ बाट एमालेले पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहलाई उम्मेदवार बनाएको छ । पूर्वमाओवादी नेतासमेत रहेकी उनी नेकपा विघटन भएपछि एमालेमै रहेकी थिइन् । माओवादीमा रहँदा उनी प्रभु साह निकट रहेकी थिइन् । प्रभुसँगै उनी एमाले बसेकी थिइन् । तर चुनावको मुखैमा प्रभुले एमालेमा विद्रोह गरी स्वतन्त उम्मेदवारी दिएपछि उनी अप्ठ्रोमा परेकी छिन् । उनलाई लोसपाका उम्मेदवार लालबाबु सिंहले चुनौती दिएका छन् । प्रतिस्पर्धीको रुपमा जसपा रामबाबु कुमार यादव पनि देखिएका छन् । अघिल्लो निर्वाचनमा पनि उनै यादव संघीय समाजवादीबाट विजयी भएका थिए । यादव २१ हजार ३३६ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अदयानन्द पाण्डेयले १६ हजार ३६२ मत पाएका थिए । यादवको मतान्तर ४ हजार ९७४ रहेको छ ।

ज्वालालाई चुनाव जित्न गठबन्धन र जसपा चुनौती

स्थानीय तह निर्वाचनमा बारा ३ मा एमाले २३ हजार ६५४ मतसहित पहिलो दल भएको थियो । कांग्रेसको १७ हजार ५५४, जसपाको ११ हजार २७९, माओवादीको ८ हजार २४८, नेकपा एसको ३ हजार ३९५, लोसपाको २ हजार २०६ र राप्रपाको ८३८ रहेको छ । गठबन्धनको जम्मा मत ३१ हजार ४०३ रहेको छ । एमालेभन्दा गठबन्धन ७ हजार ७४९ मतले अगाडि देखिन्छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्की–२ बाट एमालेले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराई उठाएको छ । उनीका श्रीमान अधिकारी २०७५ फागुन १५ गते पूर्वी नेपालको ताप्लेजुँङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि २०७६ मा भएको उपचुनावमा भट्टराई सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाएका थिए । भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले पराजित गरेकी थिइन् ।

२०७४ को निर्वाचनमा तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका अधिकारीले उनका प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । अधिकारीले २७ हजार २०७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी चालिसेले १८ हजार ६६१ मत पाएका थिए ।

यी दुवै निर्वाचनमा एमालेले माओवादीको साथ पाएको थियो । योपटक भट्टाराईले गठबन्धनबाट आफ्नै पूर्वसहकर्मी श्रीनाथ बरालको सामना गर्दैछिन् । बराल एकीकृत समाजवादीका नेता हुन् ।

रविन्द्रको विरासत जोगाउन मुस्किल

स्थानीय तह निर्वाचनको परिणाम अनुसार यहाँ एमाले २१ हजार १६४ मतसहित पहिलो दल भएको छ । कांग्रेसको १९ हाजर ८, राप्रपाको २ हजार ७९, नेकपा एसको २ हजार ५३, माओवादीको १ हजार १९८ र जसपाको १५३ मत रहेको छ । गठबन्धनको जम्मा मत ३२ हजार २५९ रहेको छ । ११ हजार ९५ मतले गठबन्धन अगाडि देखिन्छ । योपटक भट्टराईले विगतको विरासत जोगाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
यसैगरी स्याङ्जा–२ मा एमालेकी सचिव पद्मा अर्याल उठेकी छिन् । पूर्वभूमि व्यवस्थामन्त्रीसमेत रहेका उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । योपटक एमाले विभाजन भएको र माओवादी पनि गठबन्धनमा भएकाले निर्वाचन जित्न उनले निकै मेहनत गर्नुपर्ने देखिन्छ । यसको अतिरिक्त उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको द्वन्दका कारण उनलाई चुनाव जित्न थप चुनौती देखिन्छ ।

पद्मालाई धनराजको चुनौती

२०७४ को निर्वाचनमा अर्यालले ३५ हजार १४२ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपालमान श्रेष्ठले ३१ हजार ४३६ मत पाएका थिए । योपटक गठबन्धनबाट कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले उनलाई चुनौती दिएका छन् ।
स्थानीय तह निर्वाचनमा स्याङ्जा २ मा कांग्रेसको ३६ हजार ८०६, एमालेको ३४ हजार ८०९, माओवादीको १ हजार २४३, राप्रपाको ५११, नेकपा एसको २३३ मत रहेको छ । गठबन्धनको जम्मा मत ३८ हजार २८२ रहेको छ । एमालेभन्दा गठबन्धन ३ हजार ४७३ मतले अगाडि रहेको छ ।

बाग्लुङ–२ मा एमालेकी उम्मेदवार मन्जु शर्माले माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । शिक्षामन्त्रीसमेत रहेका पौडेल माओवादीका प्रभावशाली नेता हुन् । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । पौडेल २८ हजार ८२७ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेका नरबहादुर पुनले १९ हजार ९०५ मत पाएका थिए ।

रेड जोनमा मन्जु

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा एमालेको १९ हजार ३०, कांग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८ र एसको ३८८ मत रहेको छ । गठबन्धनको जम्मा मत ३४ हजार ५६८ रहेको छ । एमाले १५ हजार ५३८ मतले पछाडि रहेको छ ।

लुम्बिनी प्रदेश

तीन चौधरीबीच रोचक भिडन्त

दाङ १ मा शहरी विकासमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग एमालेकी चर्चित नेता शान्ता चौधरी रोचक भिडन्त हुने देखिन्छ । भर्खर एमाले परित्याग गरेकी गंगा चौधरीले यो क्षत्रको निर्वाचनलाई थप रोचक बनाएको छ ।
२०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा मेटमणि विजयी भएका थिए । उनले एकीकृत समाजवादी रोजेपछि एमालेले शान्तालाई योपटक अवसर दिएको हो । शान्ताले पूर्वसहकर्मी मेटमणि र गंगासँग प्रतिस्पर्धा गरी एमालेको विरासत जोगाउन निकै करतर गर्नुपर्ने देखिन्छ । योपटक एमालेको भोट तीन चौधरीबीचमा बाँडिने हुँदा शान्तलाई जित निकाल्न निकै चु्नौतीपूर्ण देखिन्छ । यसअघि उनी समानुपातिक सांसद रहेकी थिइन् । एकातिर पार्टी विभाजन र अर्कोतिर गंगाको उपस्थितिले शान्तालाई असान्त बनाएको छ । यसले मेटमणिलाई केही राहत मिलेको छ । अघिल्लो निर्वाचनमा मेटमणि ३७ हजार ९०८ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका सुशीला चौधरीले २४ हजार ७४ मत पाएका थिए ।

दाङ–१ मा विपक्षी गठबन्धनभन्दा सत्ता गठबन्धन २३ हजार ७८८ मतले अघि छ । एमालेको मत २७ हजार ८५ रहेको छ । यहाँ कांग्रेसको मत २९ हजार ७५७ रहेको छ । माओवादी केन्द्रको मत १९ हजार २७६ छ । एकीकृत समाजवादीको मत २ हजार ३४१ छ । राष्ट्रिय जनमोर्चाको मत २ हजार ५ सय ९६ रहेको छ ।

वलीलाई कठिन

यसैगरी दाङ–३ एमालेले चर्चित गायीका तथा पूर्वसञ्चारकर्मी कोमल वलीलाई उम्मेदवार बनाएको छ । उनी राष्ट्रियसभाका पूर्वसदस्यसमेत रहेकी उनी एमालेका केन्द्रीय सदस्य हुन् । उनलाई गठबन्धनबाट कांग्रेसका दिपक गिरिले चुनौती दिएका छन् । २०७४ को निर्वाचनमा एमालेका हिराचन्द्र केसी विजयी भएका थिए । अहिले स्वास्थ्यमन्त्रीसमेत रहेका केसी एकीकृत समाजवादीमा रहेका छन् । भागबण्डामा दाङ १ बाट मेट मणिले टिकट पाएपछि यो क्षेत्र कांग्रेसलाई परेको हो । दाङ २ मा माओवादीका उम्मेदवार रेखा शर्मा उम्मेदवार रहेका छन् ।

सुदूरपश्चिम प्रदेश

डोटी–१ मा पूर्वपर्यटनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसँग एमालेकी पोलिटब्यूरो सदस्य गौरीकुमारी वलीको रोचन प्रतिस्पर्धा हुनेछ । अघिल्लोपटक सोही क्षेत्रबाट आले ३२ हजार ५१० मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर बलायरले ३० हजार ८७८ मत पाएका थिए । आले गठबन्धनका प्रभावशाली उम्मेदवार हुन् । सुदूरपश्चिमकै अछाम १ बाट एमालेका प्रभावशाली नेता भीम रावलले टिकट नपाएपछि त्यसकोसमेत प्रभाव पर्न सक्ने आंकलन गरिएको छ । पार्टीभित्रको अन्तर्विरोध र गठबन्धनका बलिया उम्मेदवार भएकाले वलीलाई चुनाव जित्न निकै कठिन देखिन्छ ।

गौरीलाई प्रेमको चुनौती

स्थानीय तह निर्वाचनमा कांग्रेस ३४ हजार ४७ मतसहित पहिलो दल रहेको छ । एमालेको मत २४ हजार ९१६ रहेको छ । माओवादीको ७ हजार ७८९ र नेकपा एसको ३ हजार २०५ र राप्रपाको ९८७ मत रहेको छ । डोटीमा सत्ता गठबन्धन एमालेभन्दा २० हजार १ सय २५ मतले अघि छ । सत्ता गठबन्धनको मत ४५ हजार ४१ मत छ । यहाँ एमालेको मत २४ हजार ९१६ छ ।

पाल असुरक्षित

यसैगरी कञ्चनपुर–३ मा एमालेले प्रभावशाली नेता निरुदेवी पाललाई उम्मेदवार बनाएको छ । पोलिटब्यूरो सदस्यसमेत रहेकी पाल अध्यक्ष ओलीका विश्वासिलो पात्र हुन् । राष्ट्रिय युवा संघबाट केन्द्रीय राजनीतिमा तिव्र गतिमा फड्को मारेकी उनी अघिल्लोपटक समानुपातिक सांसद भएकी थिइन् । उनले योपटक गठबन्धनबाट कांग्रेसका उम्मेदवार रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछिन् ।
२०७४ को निर्वाचनमा लेखक एमालेका दिपकप्रकाश भट्टसँग २५८ को झिनो मतान्तरले पराजित भएका थिए । उनले २६ हजार ३६४ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी लेखकले २६ हजार १०६ मत पाएका थिए । योपटक पनि उम्मेदवारमा सिफारिस भएका भट्टको नाम प्रदेश कमिटीमा नपुग्दै हराएको थियो । पालकै कारण भट्टको टिकट खोसिएको एमाले वृत्तमा निकै चर्चा छ ।

वैशाखमा भएको निर्वाचनमा कञ्चनपुर ३ मा कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७, राप्रपाको ६ हजार ५०३, माओवादीको ५ हजार ९८१ र नेकपा एसको ३ हजा १२ मत रहेको छ । गठबन्धनको मत ३० हजार ७६५ मत रहेको छ । गठबन्धन एमालेभन्दा १४ हजार ६४८ मतले अगाडि रहेको छ ।