NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मतदानस्थल ११ हजार, प्रहरीसँग सञ्चारसेट सात हजार मात्र

आसन्न निर्वाचनमा देशभर करिब ११ हजार मतदानस्थल छन् । तीमध्ये तीन हजार ६५ मतदानस्थललाई सरकारले नै अति संवेदनशील र चार हजार चार सय ७८ लाई संवेदनशीलको सूचीमा राखेको छ । तर, त्यहाँ खटिने सबै प्रहरी इन्चार्जसँग सुरक्षाकर्मीको आधारभूत औजार सञ्चारसेटसमेत हुनेछैन । नेपाल प्रहरीसँग सात हजार सञ्चारसेट मात्र छन् । अत्यावश्यक स्रोत–साधनसमेत पर्याप्त नहुँदा निर्वाचनमा योजनाअनुसार काम गर्न नसकिने प्रहरी चिन्ता छ ।

एकै चरणमा निर्वाचन गराउँदा प्रहरीलाई स्रोत–साधनको अभाव भएको हो । यसबारे स्थानीय तहको निर्वाचनभन्दा तीन महिनाअघि नै प्रहरीले सरकारलाई जानकारी गराएको थियो । तर, सुरक्षा निकायलाई बलियो बनाउन राज्यले ध्यान नदिँदा अहिले समस्या भएको हो ।

गृह मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन सुरक्षा गोष्ठीमा पनि सुरक्षा निकायका प्रतिनिधिले पर्याप्य स्रोत–साधन प्राप्त नभएको गुनासो गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सीमित स्रोत–साधनका बाबजुद चुनाव गराउनुपर्ने अवस्थाबारे विभिन्न जिल्लाबाट गुनासो आएको छ । ‘स्रोत–साधनको सीमितता छ,’ उनले भने, ‘जति स्रोत–साधन छ त्यसको अधिकतम सदुपयोग गरी निर्वाचन सुरक्षालाई बलियो बनाउन भनेका छौँ ।’

हरेक मतदानस्थलमा प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी परिचालन हुन्छ । मतदानस्थलको नेतृत्व गर्ने प्रहरी अधिकृतसँग सञ्चारसेट अत्यावश्यक हुन्छ । तर, करिब चार हजार मतदानस्थल सञ्चारसेटविहीन हुनेछन् । त्यस्ता मतदान केन्द्रमा मोबाइलबाट काम चलाइने प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । ‘मोबाइल सञ्चारसेटजत्तिको प्रभावकारी त हुन्न,’ डिआइजी राईले भने, ‘तर, मोबाइलबाटै काम चलाउन हामी बाध्य छौँ ।’ कतिपय स्थानमा मोबाइल टावरसमेत नहुने भएकाले समस्या आउन सक्ने प्रहरी चिन्ता छ । सञ्चारसेट हुँदा सबै निकायमा एकैपटक सूचना सम्प्रेषण गर्न मिल्नेमा मोबाइलबाट सबै निकायलाई जानकारी दिनुपर्नेसमेत हुन्छ ।