NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

काठमाडौँ–१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

काठमाडाैं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका थिए ।

स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त चुनावमा काठमाडौं क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जीत हासिल गरेको थियो । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल पनि उम्मेदवार छन् ।

विसं २०७४ को निर्वाचनमा सो क्षेत्रमा अहिलेका उम्मेदवारद्वय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच भिडन्त भएको थियो । त्यत्तिबेला मिश्र विवेकशिल साझा पार्टीबाट चुनावी मैदानमा थिए ।

गत स्थानीय तहको निर्वाचनमा चार वडामा कांग्रेसका वडाध्यक्षहरुले कूल नौ हजार आठ सय ९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले नौ हजार पाँच सय ४१ मत पाएको देखिन्छ ।

वडाध्यक्षले पाएको मतका आधारमा पनि कांग्रेस छ सय ५४ मतले अगाडि छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले कुनै पनि वडामा नजिते पनि एक हजार तीन सय ७६ मत प्राप्त गरेका थिए ।

पुरानै मतपरिणामलाई आधार मान्दा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सिंहलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हालका राप्रपाका उम्मेदवार मिश्रलाई आठ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिएका छन् भने नेता सिंह यसपाली पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा छन्। एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्तागठबन्धनको साथले सहजै जीत हुने कांग्रेसकाे जिकिर छ ।

गत स्थानीय तहको चुनावको मतपरिणाम हेर्दा महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौं क्षेत्र नं १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष छन् ।