NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सरल र आकर्षक मेकअप कसरी गर्ने ?

काठमाडौं । कस्तो मेकअप गर्ने भनेर चिन्ताले प्राय महिलालाई सताउने गर्छ । अझ कुनै सभा समारोहमा जानुपरेमा आफूलाई अरु भन्दा कम नदेखियोस् भनेर उनीहरू आकर्षक देखिनका लागि पार्लर पनि धाउने गर्छन् । आकर्षक देखिन सबैलाई मन हुन्छ । आजभोली सामाजिक सञ्जालमा तस्बिर राख्ने प्रविधिले पनि मेकअपमा थप आकर्षण बढ्दो छ ।

विशेष समारोह मेकअप गर्दा छालाको प्रकारलाई ध्यान दिन जरुरी हुन्छ । व्यक्तिको छाला अनुसार मेकअप गर्दा यसले प्राकृतिक सुन्दरता झल्काउँनका साथै मेकअप राम्रो देखाउँछ । त्यस्तै, मेकअपमा अर्को विशेष ध्यान दिनुपर्ने कुरा भनेको मेकअपका लागि प्रयोग गर्ने सामग्री हो । मेकअपको सामग्री कसरी प्रयोग गर्ने भन्ने सही तरिका थाहा भएमा मात्रै मेकअपले अनुहारको सौन्दर्य बढाउन सक्छ । सामान्य मेकअप थोरै साम्रगीको प्रयोगमै गर्न सकिन्छ ।

यसरी गर्नुस मेकअप

अनुहारमा क्लिंजिङ, टोनर र मोइस्चराइजर

मेकअप गर्दा पहिलो चरणमा अनुहार सफा गर्नुपर्छ । अनुहारमा भएका फोहर तथा धुलोलाई सफा गरेर मात्र मेकअप गर्दा यसले मेकअपको बेस राम्रो बनाउँछ । पहिलो चरणलाई पार्लरको भाषामा ‘सिटीएम’ भन्ने गरिन्छ । अर्थात क्लिन्जिङ, टोनर र मोइस्चराइजर ।
अनुहार सफा गर्दा हामीले क्लिंजर अथवा फेसवास प्रयोग गर्न सक्छौं । क्लिन्जरले राम्रो सँग अनुहार सफा गरिसकेपछि टोनर लगाउन सकिन्छ । यसलाई २ मिनेट अनुहारमा राम्रोसँग बस्न छोड्दिनु पर्छ ।

त्यसपछि मेकअपको अर्को महत्वपूर्ण कुरा मोइस्चराइजर हो । मोइस्चराइजरले छालामा नरमता ल्याउँछ । यसको प्रयोग दैनिक गर्नुपर्छ । अझ विशेष मेकअप गर्दा यो महत्वपूर्ण नै मानिन्छ । मोइस्चराइजर लगाउँदा अनुहारको प्रकार हेरेर लगाउनु पर्ने हुन्छ । यसलाई पनि अनुहारमा दुई मिनेटसम्म राख्नुपर्छ । मोइस्चराइजरको प्रयोग पछि हामीले सनस्क्रिन लगाउनु पर्छ । सनस्क्रिनले घामबाट छालालाई बचाउने हुँदा यसको प्रयोग अपरिहार्य छ । अन्य समय पनि घामको विकरणहरूबाट बच्न यसको प्रयोग गर्नुपर्छ । सामान्यतया ६० एसपीएफ सम्मको सनस्क्रिन लगाउनु राम्रो मानिन्छ ।

प्राइमर र फाउण्डेसनको प्रयोग

सनस्क्रिन लगाइसकेपछि प्राइमर लगाउन सकिन्छ । प्राइमर नभएको खण्डमा एलोभेरो जेल पनि लगाउन सकिन्छ । यसले अनुहारको डण्डीफोरको दाग, धब्बा, मेटाइदिन्छ र मेकअपलाई लामो समय टिकाउँछ । प्राइमर पछि फाउण्डेसन लगाउनु पर्छ । फाउण्डेसन छनोट गर्दा अनुहारको छाला अनुसार छनोट गर्नुपर्छ । फाउण्डेसनको राम्रो छनोट भएन भने मेकअप राम्रो देखिदैन् । यसको छनोट गर्दा आफ्ना अनुहारको छाला भन्दा एक सेड लाइट गर्नुपर्छ । अनुहारमा धेरै पसिना आउनेले ‘ओइल फ्रि’ फाउण्डेसन छनोट गर्न सक्छन् भने सुख्खा छाला हुनेले ओइल भएको छनोट गरी लगाउनुपर्छ ।

आँखाको मेकअप

आखाँको मेकअप गर्दा पहिला आखाँ वरिपरी कन्सिलर लगाउन सकिन्छ । यसले आँखामा भएका कालो दाग हटाउँछ । आइब्रो पातलो र आकार बिग्रिएको छ भने पेन्सिल गाजलले सेप दिएर त्यसलाई आकर्षक देखाउन सकिन्छ । आखाँको मेकअप गर्दा उययुक्त ब्रसको पनि छनोट आवश्यक छ । आँखाको लागि आइस्याडो लगाउँदा न्युड कलर राम्रो देखिन्छ ।

अझ कम उमेर भएकालाई न्युड रङले आकर्षक देखाउँछ । अहिले कपडा अनुसारको आइस्याडो कमले मात्र लगाउन रुचाउँछन् । आइस्याडो पछि आफूलाई सुहाउँदो तरिकाले आइलाइनर लगाउन सकिन्छ । आइस्याडोको बेसमा नै आइलाइनर लगाउँदा राम्रो देखिन्छ । आखाँको मेकअपमा अर्को छुटाउन नहुने कुरा मस्कारा हो । यसले आखाँलाई सहि आकार दिन्छ र आँखाको सौन्दर्यता बढाउँछ ।

लिपिस्टिकको प्रयोग र छनौट

अनुहारको मेकअप गरिसकेपछि अन्यमा उपयुक्त र आफूलाई सुहाउँदो लिपिस्टिक लगाउनु पर्छ । लिपिस्टिक लगाउनु अघि पेट्रोलिय जेली अथवा कुनै ओइलले २ मिनेट जति मसाज गर्न सकिन्छ यसले लिपिस्टिकलाई राम्रो देखाउँनुका साथै ओठलाई सुख्खापन हुन हुँदैन् । आफूले लगाउने पहिरनसँग मिलाएर लिपिस्टिक लगाउँदा अझ आकर्षक देखिन्छ । लिपिस्टिक खरिद गर्दा गुणस्तरमा ध्यान दिन जरुरी छ । गुणस्तरहीन लिपिस्टिकको प्रयोगले ओठमा एलर्जी आउने, ओठ कालो बनाउने जस्ता असर देखापर्छ ।

(गोल्डेन ग्लो द ब्युटी पोइन्टकी सञ्चालिका ज्ञानी शोभा शाक्यसँगको कुराकानीमा आधारित)