NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जित्न कल्पनालाई गठबन्धनको गज्जवको साथ, विवादास्पद छविले कृष्णगोपाललाई त्रास

काठमाडौं । माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य कल्पना धमला तेस्रोपटक चुनावी मैदानमा उत्रिएकी छिन् । सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा काठमाडौं–९ बाट एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठसँग प्रतिस्पर्धामा उत्रिएकी हुन् ।

२०६४ को संविधानसभा निर्वाचनमा धादिङ–२ बाट धमला निर्वाचित भएकी थिइन् । २०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री भएकी उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन् । पार्टीको आन्तरिक राजनीतिमा राम्रो छवि बनाएकी धमला माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख छिन् । योपटक श्रेष्ठसँग धमलाको रोचक प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको साथ हुँदा यसपटक श्रेष्ठविरुद्धको प्रतिस्पर्धामा उनलाई सहज हुने देखिएको छ ।

चुनावी परिणामको समीक्षा

एमालेका बलिया उम्मेदवार रहेका श्रेष्ठ स्थायी कमिटी सदस्य हुन् । उनी ओली नेतृत्वको सरकारमा शिक्षा तथा प्रविधिमन्त्री भएका थिए । उनी २०४८ देखि लगातार संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०७४ को आम निर्वाचनमा काठमाडौं–९ मा वामपन्थी गठबन्धनबाट एमालेका उम्मेदवार रहेका श्रेष्ठले ८ हजार २३ मतान्तरले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई पराजित गरेका थिए । उनले २२ हजार ८५२ मतका साथ विजयी हुँदा रञ्जितले १४ हजार ८०२ मत पाएका थिए ।

यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा श्रेष्ठ रञ्जितसँग १ हजार ३८३ मतान्तरले पराजित भएका थिए । त्यतिबेला माओवादीका उम्मेदवार रहेका देवेन्द्र पौडलले ६ हजार ६६९ मतका साथ तेस्रो स्थानमा रहेका थिए । पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–९ मा माओवादीका माइला लामा १३८ मतले पराजित भएका थिए ।

जनमतको हिसाबले यो क्षेत्रमा एमाले र कांग्रेसको तुलनामा माओवादी अलि कमजोर छ । थोरै भोट भए पनि माओवादी यहाँ निर्णायक हो । कांग्रेसले जित्ने क्षेत्र भएकोले यसपटक कांग्रेसको भोट र माओवादीको मेहनतसहितको भोटले कल्पनालाई सहज हुने बताइन्छ । यद्यपि योपटक धमलालाई गठबन्धनको बलियो साथ रहेको छ । उनको उम्मेदवारीलाई लिएर कसैको पनि विरोध नदेखिएकाले उनले जित्ने केही देखिन्छ ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा श्रेष्ठ कांग्रेसका उम्मेदवार रञ्जितसँग पराजित भएका थिए । आगामी निर्वाचनमा धमलाको जित सुनश्चित गर्न कांग्रेसको सबै मतलाई होल्ड गरी थपिएका नयाँ मतदाताको मन जित्नुपर्नेछ ।

प्रतिस्पर्धी श्रेष्ठ ०४८ मा काठमाडौं–५ र ०५१ मा काठकाडौं–७ बाट निर्वाचित भएका थिए । २०५६, २०६४ र २०७० मा लगातार पराजित भएका उनी २०७४ मा वाम गठबन्धनको कारण उनलाई निर्वाचन जित्न सहज भएको थियो । योपटक एमालेसमेत विभाजन भएको र राप्रपाले आफ्नै उम्मेदवार खडा गरेकाले श्रेष्ठलाई विरासत जोगाउन निकै कठिन देखिन्छ ।

त्यस्तै वाहालवाला शिक्षामन्त्री भएर पनि रुपा सुनुवार काण्डमा घरबेटीको पक्षमा उभिएको भन्दै श्रेष्ठ निकै आलोचित भएका थिए । यस घटनाका कारण श्रेष्ठलाई थप राजनीतिक क्षति हुनसक्ने अनुमान गरिएको छ । श्रेष्ठसँगको असन्तुष्ट भोट योपटक गठबन्धन, राप्रपा र स्वतन्त्र उम्मेदवारतिर बाँडिन सक्ने सम्भावना देखिन्छ । खरो स्वभाव र पार्टीका गलत निर्णयमा पनि अध्यक्ष केपी ओलीलाई झन् उक्साउने शैलीका कारण विपक्षी मात्रै होइन पार्टीभित्रैबाट पनि उनको व्यवहार मन नपराउने प्रशस्तै छन् ।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेस र एमालेका प्रभावशाली उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले पराजित गरेका थिए । स्थानीय तहको जस्तै लहर आगामी निर्वाचनमा पनि देखिए धमलाका लागि स्थिति जटिल बन्न सक्छ । अघिल्लो निर्वाचनमा ४ हजार ९४६ मतसहित तेस्रो स्थानमा रहेका मिलन पाण्डे पनि योपटक पनि उम्मेदवार रहेका छन् । तर परम्परागत राजनीतिक पार्टीमा आउनेभन्दा छिटो र ठूला विग्रह आएपछि यो विवेकशील पार्टी तहसनहसको अवस्थामा पुगेको छ । यसैले योपटक सोही पार्टीका पाण्डेले अघिल्लोपटक जस्ता प्रभाव पारेर भोट नल्याउने बताइन्छ । यसैले पनि गठबन्धनको बलमा धमलालाई सहज हुने बताइन्छ । योपटक राप्रपाले पनि राम्रै भोट पाउने अनुमान गरिएको छ । स्वतन्त्र र राप्रपातर्फ बाँडिने मतबाहेक उनले गठबन्धनले पाएको मतलाई होल्ड गर्न सके उनले जित्ने सम्भावना बलियो देखिन्छ ।

२०७४ को निर्वाचनमा काठमाडौं–९ मा समानुपातिकतर्फ दलगत चुनावी तथ्याङ्क हेर्दा एमाले १७ हजार ५५१ मतसहित पहिलो दल भएको थियो । कांग्रेसले १२ हजार ४८६ विवेकशील साझाको ६ हजार ७९६ पाएको थियो । माओवादीको २ हजार ६२३ र राप्रपाको १ हजार २५० मत रहेको छ ।

तर गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा काठमाडौं–९ मा कांग्रेस १९ हजार ९१६ मतसहित पहिलो दल भएको छ । एमाले १९ हजार २८२ मतसहित झिनो मतान्तरले दोस्रो स्थानमा छ । राप्रपा २ हजार ४०१ मतसहित तेस्रो स्थानमा रहेको छ । माओवादीको भोट जम्मा ६९५ रहेको छ । नेकपा एसको ४६५ मत छ । गठबन्धनको मत २१ हजार ७६ रहेको छ । १७९४ मतले गठबन्धन अगाडि छ ।

को हुन् धमला ?

२०३१ साल माघ १० गते धादिङको ज्यामरूङमा जन्मिएकी उनी बाल्यकालदेखि नै वाम राजनीतिमा लागेकी हुन् । २०७३ मा माओवादी छाडेर बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीमा लागेकी थिइन् । तत्कालीन संघीय समाजवादी र नयाँ शक्तिबीचको पार्टी एकताप्रति असन्तुष्ट जनाउँदै २०७६ असारमा धमला माओवादीमै फर्केकी थिइन् ।

गाउँकै अचने माविमा माध्यमिक शिक्षा पूरा गरेकी उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय भइन् । २०५६ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सदस्यका भएकी उनी २०५७ मा उनी अखिल नेपाल महिलासँघका केन्द्रीय सचिव भइन् । २०५२ मा माओवादीले शुरु गरेको जन युद्धमा होमिएकी धमला जनमुक्ति सेनाको कम्पनी सह–कमिसार रहेकी थिइन् । हाल उनको स्थायी बसोबास काठमाडौंको चन्द्रागिरि–१५ स्थित तीनथानामा रहेको छ । माओवादीमा इमान्दार, सक्रिय र विवादमा नआएकी उनलाई यसपटक पटकपटक विवाद र झमेलामा आइरहने श्रेष्ठविरुद्धको चुनाव सहज हुने बताइन्छ ।