NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

स्वतन्त्र भारतका पहिलो मतदाताको मृत्यु

काठमाडौं (एजेन्सी) । स्वतन्त्र भारतका पहिलो मतदाता श्याम शरण नेगीको शनिबार बिहान निधन भएको छ । उनी १०६ वर्षका थिए ।

जुलाई १९१७ मा जन्मेका नेगीले पहिलो पटक सन् १९५१ मा मतदान गरेका थिए । उनले लोक सभाका लागि मात्रै १६ पटक मत जाहेर गरे ।

नेगीले बुधबार मात्रै आफ्नो घर काल्पाबाट मतपत्र मार्फत १४ औँ विधानसभाका लागि मतदान गरेका थिए । उनले मतदान केन्द्रमै गएर मत दिने इच्छा जाहेर गरेका थिए । तर अस्वस्थताका कारण सम्भव नभएपछि जिल्ला निर्वाचन अधिकृत आबिद हुसेन सादिकको टोली उनको घरमा मतबाकस लिएर पुगेको थियो । त्यसक्रममा नेगीलाई घरको आँगनमा रहेको हुलाक बुथमा ल्याउन रातो कार्पेट बिछाएइएको थियो । भोट दिएपछि उनको भोट खाममा बन्द गरी मतपेटिकामा हालिएको थियो ।

प्रधानमन्त्री मोदीले देशका सबैभन्दा वृद्ध मतदाता नेगीको पनि प्रशंसा गरेका थिए । यसबाट नयाँ पुस्तालाई मतदान गर्न प्रेरित गर्ने मोदीको भनाइ थियो ।

श्यामशरण नेगीको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने किन्नौरका डीसीले जनाएका छन् । मुख्यमन्त्री जयराम ठाकुरले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘स्वतन्त्र भारतका पहिलो मतदाता श्याम शरण नेगी जीको निधनको बारेमा सुनेर दुःखी छु। आफ्नो कर्तव्य निर्वाह गर्दै उनले विधानसभा चुनावमा हुलाक भोट हालेका थिए, यो सम्झनाले सधै भावुक रहनेछु,’ मुख्यमन्त्रीले ट्विटरमा लेखेका छन् ।