NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

किन आउँदैछन् चार देशका प्रमुख आयुक्त नेपाल ?

काठमाडौं । चार देशका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने भएका छन् । श्रीलंका र दक्षिण कोरियाबाट भने निर्वाचन आयुक्त आउनेछन् ।

यही मंसिर ४ गतेका लागि तय प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमनका लागि भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउन लागेका हुन् । ती देशमा हाल क्रमशः राजीव कुमार, काजी हबिबुल अवाल, सोनाम तोब्गे र फुवाद थोफिक प्रमुख निर्वाचन आयुक्त छन् ।

निर्वाचन आयोगले चार देशका प्रमुख निर्वाचन आयुक्त र दुई देशका निर्वाचन आयुक्त चुनाव अनुगमनका लागि आउन लागेको जनाएको छ । जापानको राज्यमन्त्रीस्तरीय टोली पनि आउने सम्भावना छ ।

उनीहरूलाई काठमाडौं उपत्यकाका मतदानस्थल अनुगमन गराउने तयारी छ ।

निर्वाचन अनुगमनका लागि आयोगले नेपालस्थित कूटनीतिक नियोग, विकास साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्वाचन व्यवस्थापनको क्षेत्रमा ख्याति कमाएका अनुभवी व्यक्ति र संस्थालाई आमन्त्रण गरेको थियो । आयोगका अनुसार निर्वाचन अनुगमन गर्न रुस, डेनमार्क र बंगलादेशका वर्यवेक्षक पनि आउनेछन् । यसबाहेक अन्य विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि निर्वाचन अनुगमनको स्वीकृति पाएका छन् ।