NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

चुनावमा खटिने प्रहरी र म्यादीले पाउने भए यी अतिरिक्त सुविधा

काठमाडौं । आसन्न निर्वाचनमा मतदान केन्द्रमा खटिने प्रहरी र म्यादी प्रहरीले विभिन्न शीर्षकमा अतिरिक्त सुविधा पाउने भएका छन् । यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका प्रहरी र म्यादी प्रहरीले पाएकोभन्दा थप सुविधा यस पटक निर्वाचनमा खटिन लागेका सुरक्षाकर्मीलाई दिन लागिएको हो ।

चुनावमा खटिने प्रहरी र म्यादी प्रहरीले यस पटक चार दिनको खाजा खर्च पाउने भएका छन् । यसका लागि अर्थ मन्त्रालयले दैनिक तीन सयका दरले खाजा खर्च उपलब्ध गराउन बजेट उपलब्ध गराएको छ ।

निर्वाचनमा खटिने प्रहरीले एक जिल्लाबाट अर्को जिल्लामा खटिँदा १३ दिनको भत्ता पनि दिइने भएको छ । जिल्लाभित्र खटिनेले भने सात दिनको भत्ता पाउनेछन् ।

त्यस्तै, तयारी अवस्थामा रहने प्रहरीलाई पनि भत्ता दिइनेछ । उनीहरूलाई तीन दिनको भत्ता दिने गरी अर्थ मन्त्रालयले बजेट उपलब्ध गराएको छ ।