NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

लागूऔषध मुद्दा : इन्स्पेक्टरलाई कारबाही, एसपीलाई उन्मुक्ति

काठमाडौं । लागूऔषधको मुद्दामा अनुसन्धानमा चलखेल गरी अभियुक्तलाई छुटाउन सहयोग गर्ने नेपाल प्रहरीका इन्स्पेक्टर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर लालबहादुर सुनारमाथि कारबाही भएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका अभियुक्तसँग आर्थिक लाभ लिई मुद्दालाई कमजोर बनाएको छानबिनमा खुलेपछि उनी कारबाहीमा परेका हुन् । प्रहरीकै कमजोरीले लागूऔषध मुद्दामा अभियुक्तहरू धरौटीमा छुटेका थिए । छानबिनका क्रममा प्रहरीले अनुसन्धानका आधारभूत सिद्धान्तसमेत पालना गरेका थिएनन् ।
बरामदी रोहबरमा कम्तीमा एक जना जनप्रतिनिधि वा सरकारी कर्मचारीलाई राख्नुपर्नेमा उनले कसैलाई राखेका थिएनन् । साथै बरामदी कपडाको समेत सनाखत गराएका थिएनन् ।

अभियुक्तलाई फाइदा हुने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको खुलेको छ । सोही आधारमा अभियुक्तलाई अदालतले छाडेको थियो । अभियुक्तबाटै लागूऔषध बरामद भएको प्रष्ट प्रमाण नै नराखी मुद्दा दायर गरिएको थियो, जसकारण अदालतले धरौटीमा छाडेको थियो । अनुसन्धानमा लापरबाही गरेकाले इन्स्पेक्टर सुनारलाई नसिहत दिइएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए ।

सो घटनामा संलग्न सुर्खेतका एसपी पदमबहादुर विष्टमाथि भने कारबाही भएन । स्रोतका अनुसार यो घटनामा एसपी विष्टको शंकास्पद भूमिका देखिएको थियो । एसपी र इन्स्पेक्टरकै मिलेमचोमा अभियुक्तलाई जोजाउन खोजेको सूचना प्रहरी प्रधान कार्यालयले पाएको थियो, तर एसपीमाथि विस्तृत छानबिन नै नगरिएको स्रोत बताउँछ, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।