NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विमानस्थलमा सेवा शुल्क : के गर्न कति लाग्छ ?

नेपालमा नागरिक उड्डयनको विकास तथा विस्तार गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको लागि हवाई उडान, हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सञ्चालन सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम प्राधिकरण स्थापना भएको हो । यसरी स्थापित प्राधिकरण हवाई यात्रुको सुरक्षा एवं हित र वायुसेवा संस्थालाई अधिकतम सेवा सुविधा उपलब्ध गराउन निरन्तर क्रियाशील रहेको देखिन्छ । प्राधिकरण अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले मुलुकमा नागरिक उड्डयन सेवालाई थप गुणस्तरीय, सुरक्षित, विश्वसनीय र सर्वसुलभ बनाई सेवा सुविधा प्रवाह गर्नु महत्त्वपूर्ण दायित्वअन्तर्गत पर्दछ । अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी विमानस्थलको पूर्वाधार निर्माण, विकास, विस्तार एवं संस्थागत सुदृढीकरण, दिगो सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नु निकै चुनौतिको विषय हो । अर्को शब्दमा विमानस्थल निर्माणमा जति लगानी लागत लाग्छ, दिगो सञ्चालनका लागि पनि महङ्गोसिद्ध हुन्छ । नेपाल सरकारको पूर्णस्वामित्वको रुपमा रहेको प्राधिकरण एक बहुविधायुक्त संगठित निकाय हो । यस निकायमा प्रशासनिक र विविध क्षेत्रका उच्चप्रविधिका प्राविधिक दक्ष मानवस्रोत कार्यरत रहेका छन् ।

सृष्टिको सबैभन्दा विवेकशील प्राणी मानवलाई मानिन्छ । त्यसैले मानवमा सोच्ने, कल्पना गर्ने, विवेक प्रयोग गर्न सक्ने र नवप्रवर्धानात्क क्रियाकलाप/गतिविधिमा सहभागी जनाउन क्रियाशील हुने गर्दछ । विवेक प्रयोग गर्न सक्ने क्षमता र योग्यताका कारण मान्छे नयाँ-नयाँ खोजमा लाग्ने गरेको देखिन्छ । मानिसमा कल्पनाशील क्षमता भएकै कारण आकासमा स्वच्छन्द रुपमा चरा झैं उड्ने कल्पनालाई वास्तविकतामा रुपान्तरण गर्न सफलता हासिल गरेको हो भन्नु स्वाभाविक हो । पौरस्त्य दर्शनमा उल्लेख भएको र हामीले हाम्रा पुर्खाबाट सुन्दै आएको रावणसँग भएको पुष्पक विमानको परिकल्पनाबाटै हवाईजहाज निर्माण भएर आज हामी विश्वलाई हाम्रो घर आँगनी जस्तै नजिक सम्झेका छौं । सीतालाई रावणले पुष्पक विमानमा सवार गराएर आकाशमार्ग हुँदै लङ्कातिर लगेको पौराणिक कथालाई मुख्य केन्द्रविन्दुमा राखेर आजको हवाईजहाज निर्माण भएको हुन सक्ने पर्याप्त आधार मान्न सकिन्छ ।

आज विश्वमा जतिपनि हवाईजहाज निर्माण भएका छन् ती सबै राइट दाजुभाइको अविरल मिहिनेतका प्रतिफल हुन् । यदि ती सर्वपूज्य महान् व्यक्तित्व यस पृथ्वीमा अवतीर्ण नभएका भए आज हामी कुन संसारमा कसरी बाँचिरहेका हुनेथियौ यो एउटा अध्ययन, अनुसन्धान, अभ्यास, प्रयोग र कौतुहलकै विषय हुने थियो । ती युगद्रष्टा अमर अजर व्यक्तित्व राइट दाजुभाईको अतुलनीय योगदानकै कारण आज हामी आकासमार्ग हुँदै विश्वको एक कुनामा अवस्थित राष्ट्रबाट अर्को कुनामा रहेको देशमा सरल, सहज र आनन्दपूर्वक आकास यात्रा गरिरहेका छौं ।

आजको सूचना तथा सञ्चार प्रविधिको २१ औं शताब्दीको युगमा नेपाल पनि विश्वजगतबाट अलग हुने अवस्था निश्चय नै रहँदैन । नेपालको संघीय राजधानी काठमाडौंको गौचरबाट प्रारम्भ भएको विमानस्थल निर्माण कार्य आज विमानस्थलको संख्या ५२ पुगेकोमा हामी सबै नेपाली नागरिकले सुखद् अनुभूति गरेका छौं । नेपालको भौगोलिक अवस्थिति हेर्दा हवाई यातायात नै सबैभन्दा भरपर्दो र सुरक्षित परिवहन सेवाको रुपमा विमानस्थल निर्माणलाई लिन सकिन्छ । निश्चय नै विमानस्थल निर्माण एउटा भवन बनाएको जस्तो अथवा बसपार्क निर्माण गरेको जस्तो होइन । अर्को शब्दमा हवाई यातायात सेवा जति सजिलो छ विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापन निकै महङ्गो र खर्चिलो छ । यसै सेरोफेरोमा रहेर नेपालको नागरिक उड्डयन क्षेत्रको लागि गरिएको कानुनी व्यवस्था र विमानस्थल सेवा शुल्कको बारेमा संक्षेपमा प्रस्ट्याउने कोसिस गरिएको छ ।

ऐनले प्राधिकरणलाई आफ्नो कार्यसम्पादन गर्न वायुसेवा सञ्चालन व्यवसाय तथा हवाई यात्रुसमेतको सुरक्षा र हितलाई ध्यानमा राखी व्यापारिक सिद्धान्त अनुसरण गरी आर्थिक साधन स्रोत संकलन गर्न पाउने अधिकार प्रदान गरेको छ । ऐनको उद्देश्य कार्यान्वयन गर्न प्राधिकरणले आवश्यक नियमहरू बनाउन सक्ने व्यवस्था छ । नेपाल सरकारले स्वीकृत गरेको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ बमोजिम प्राधिकरणले विभिन्न सेवा शुल्कहरु लगाउदै आएको छ । नियमावलीको परिच्छेद २ मा प्राधिकरणले उठाउन पाउने सेवा शुल्क सम्बन्धी व्यवस्था गरेको छ ।

प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत ५२ विमानस्थल रहेका छन् । धावनमार्ग कालोपत्रे भएका विमानस्थल ४०, नियमित हवाई सेवा सञ्चालनमा रहेका विमानस्थल ३३, सञ्चालनमा नरहेका विमानस्थल १९, रात्रीकालीन उडान सुविधा भएका विमानस्थल ८ वर्षैभरि सञ्चालनयोग्य विमानस्थल ४०, कालिकोट, अर्घाखाची र कमलबजार निर्माणाधीन विमानस्थल हुन् । त्यस्तै नेपालसँग द्वीपक्षीय हवाई सम्झौता भएका मुलुकको संख्या ४०, नेपालबाट सिधा उडान हुने देश १५ र नेपालमा उडान भई आउने अन्तर्राष्ट्रिय वायुसेवाको वृद्धि हुँदै गएको देखिन्छ । यसरी बढ्दै गएको विमानस्थलको संख्या एवं आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको व्यवस्थापन गर्न ठूलो वित्तीय स्रोत जुटाउनु पर्नेहुन्छ ।

यात्रु सेवा सुविधा शुल्क

दुई वर्ष उमेर नाघेका प्रत्येक हवाई यात्रुलाई अन्तर्राष्ट्रिय उडानमा मूल्य अभिवृद्धि कर सहित प्रतियात्रु रु.३,०००/- र आन्तरिक उडानमा रु.५००/- (अन्तर्राष्ट्रिय विमानस्थलमा) र चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर,सिमरा,भरतपुर, पोखरा, गौतमवुद्ध, तेन्जिङ्ग हिलारी (लुक्ला),जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा रु.४0०/–तुम्लिङ्गटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ्ग, बाजुरा, डोल्पा (जुफाल), डोल्पा (मसिनेचौर), डोटी, बैतडी, रुकुम (सल्ले), रुकुम(चौरजहारी), बझाङ्ग, र साँफेवगर विमानस्थलमा रु.३००/–माथि उल्लिखित बाहेकका विमानस्थलहरुमा रु.२०0/–लाग्नेछ । विमानस्थलको धावनमार्ग कालोपत्रे भई पक्की धावनमार्गबाट सेवा सञ्चालन भएको अवस्थामा रु.३००/–, आन्तरिक विमानस्थल स्तरोन्नति भई अन्तर्राष्ट्रिय भएमा रु.३,०००/- लाग्नेछ । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रुले यात्रु सेवा सुविधा शुल्क हवाई टिकट खरिद गर्दाकै बखत वायुसेवा सञ्चालन संस्थालाई बुझाउनु पर्नेछ र उडान रद्द भएमा वायुसेवा सञ्चालन संस्थाले सम्बन्धित यात्रुलाई शुल्क फिर्ता गर्नुपर्नेछ ।

विमानस्थल कार्यालयमा वायुसेवा सञ्चालन संस्थाले त्यस्तो संस्थाको स्वीकृत उडान तालिका बमोजिम प्रत्येक उडानको सिट क्षमताको आधारमा एक महिनाको यात्रु सेवा सुविधा शुल्क अग्रिम धरौटीको रुपमा नगद वा बैंक जमानत राख्नुगर्नु पर्नेछ । वायुसेवा सञ्चालन संस्थाले यात्रुबाट प्राप्त गरेको यात्रु सेवा सुविधा शुल्कको लेखा अद्यावधिक गरी तोकिएको समयावधिभित्र सम्बन्धित विमानस्थल कार्यालय वा प्राधिकरणले तोकेको अन्य कार्यालयमा बुझाउनु पर्नेछ ।

आगन्तुक प्रवेश शुल्क

 विमानस्थल कार्यालयले प्रवेश अनुमति दिएको क्षेत्रमा प्रवेश गर्ने व्यक्ति वा सवारी साधन प्रवेश वापत शुल्क बुझाउनु पर्नेछ । त्यस्तो शुल्क अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको भिजिटर्स डेकमा प्रवेश गर्दा पचास रूपैयाँ , अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको भिजिटर्स डेकमा बीस रूपैयाँ, अन्य विमानस्थलको भिजिटर्स डेकमा दश रूपैयाँ, अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा प्रवेशका लागि जारी हुने प्रवेश पास वापत प्रत्येक दुई वर्षको एक हजार पाँच सय रूपैयाँ लाग्ने र प्रवेश पास हराई पुनः बनाउनु परेमा तीन हजार रूपैयाँ प्रवेश बुझाउनु पर्नेछ । आन्तरिक विमानस्थलको निषेधित क्षेत्रमा प्रवेशका लागि जारी हुने प्रवेश पास वापत प्रत्येक दुई वर्षको लागि पाँच सय रूपैयाँ र उक्त प्रवेश पास हराई पुनः बनाउनु परेमा एक हजार रूपैयाँ लाग्नेछ ।

सवारी साधनका सम्बन्धमा

अन्तर्राष्ट्रिय विमानस्थलमा हलुका सवारी साधनको लागि प्रतिदिन दुईसय पचास रूपैयाँ , प्रतिमहिना दुईहजार पाँच सय रूपैयाँ र प्रतितीन महिना पाँच हजार रूपैयाँ, ठूला सवारी साधन बस आदिका लागि प्रतिमहिना दुई हजार पाँचसय रूपैयाँ र प्रतितीन महिना पाँचहजार पाँचसय रूपैयाँ सवारी साधन प्रवेश शुल्क लाग्नेछ । अन्य विमानस्थलमा सवारी साधन प्रवेश पास वापत उल्लिखित शुल्कको आधा दस्तुर लाग्नेछ । विमानस्थल क्षेत्रभित्र कुनै व्यक्ति, फर्म वा संस्थाले सवारी साधान वा यन्त्र उपकरण अर्को व्यक्ति, फर्म वा संस्थालाई विमानस्थल कार्यालयको स्वीकृति लिई भाडामा उपलब्ध गराउँदा कायम गरिने भाडा रकमको पन्ध्र प्रतिशतले हुने आय अंश भाडामा उपलब्ध गराउने निकायले प्राधिकरणलाई बुझाउनु पर्नेछ । उल्लिखित शुल्क मूल्य अभिवृद्धि कर समेतको रकम हो ।

सरकारी, कूटनीतिक, गैरसरकारी संघसंस्थाको हकमा पाँच सय रूपैयाँ प्रतिपास दस्तुर लाग्नेछ । सिकिस्त बिरामी बोकेर ल्याउने एम्बुलेन्सलाई प्रामाणिक वैध कागजात पेस गरेको अवस्थामा प्रवेश दस्तुर लाग्नेछैन । विमानस्थलको निषेधित क्षेत्र प्रवेश पास उपलब्ध गराउने तथा लाग्ने दस्तुर सम्बन्धी अन्य व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा प्राधिकरणले जारी गरेको निर्देशिकामा व्यवस्था भएबमोजिम हुनेछ ।

क्याटरिङ्ग सेवा शुल्क

प्राधिकरणले हवाई यात्रुलाई खाना उपलब्ध गराउने (क्याटरिङ्ग) सेवाका लागि क्याटरिङ्ग सेवा शुल्क लगाउनेछ । सो सेवा उपलब्ध गराउने संस्थाले मासिक बिक्री विवरण प्रत्येक महिना समाप्त भएको पाँच दिनभित्र सम्बन्धित कार्यालयमा पेस गर्नुपर्नेछ । कुनै संस्थाले उपलब्ध गराएको क्याटरिङ्ग सेवाका सम्बन्धमा हवाई यात्रुबाट आएको गुनासो समयमा नै सम्बोधन नगरेमा प्राधिकरणले निश्चित समय तोकी सेवा प्रदान गर्न दिइएको अनुमति खारेज गर्नेछ।

माल सामान प्रबन्ध सेवा शुल्क

विमानस्थल क्षेत्रभित्र मालसामानको प्रबन्ध मिलाउने सेवा उपलब्ध गराउने संस्थाले अन्तर्राष्ट्रिय उडानमा साधारण मालसामान, बहुमूल्य सुन चाँदी जुवाहरात जस्ता वस्तुहरु, नाशवान मालसामान, खतराजन्य वस्तु एक्सप्रेस कुरियर ब्याग, एक्सप्रेस कुरियर पार्सल र एक्सप्रेस कार्गो जस्ता प्रकृतिका मालसामानको तौल, निर्यात र आयातमा तौल अनुसार फरक-फरक मालसामान प्रबन्ध सेवा शुल्क बुझाउनु पर्नेछ । जीवित जनावर आयात वा निर्यात गर्दा बहुमूल्य मालसामान आयात वा निर्यात गर्दा लाग्ने शुल्कको दोब्बर शुल्क लाग्नेछ । आन्तरिक उडानतर्फ अन्तर्राष्ट्रिय र अन्य विमानस्थलमा विमानस्थलको वर्गीकरणका आधारमा यस्तो सेवा शुल्कको प्रबन्ध गरिएको छ ।

विज्ञापन शुल्क

विज्ञापनको लागि निर्धारण गरेको अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा स्थानको आकर्षण, सुरक्षा संवेदनशीलता, उपयोगिता र यात्रुहरुको आवत जावतलाई दृष्टिगत गरी विज्ञापन शुल्क तोकिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनभित्र प्रतिमहिना प्रतिवर्गमीटर पाँच हजार रूपैयाँ , अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनल भवनभित्र प्रतिमहिना प्रति वर्गमीटर तीन हजार रूपैयाँ र अन्तर्राष्ट्रिय वा आन्तरिक टर्मिनल भवन बाहिर विमानस्थल क्षेत्रभित्र प्रतिमहिना प्रतिवर्गमीटर एक हजार छ सय रूपैयाँका दरले बढाबढ प्रक्रियाद्वारा कायम हुन आउने रकम विज्ञापन शुल्क वापत बुझाउनु पर्नेछ । त्यस्तै अन्तर्राष्ट्रिय वा आन्तरिक टर्मिनल भवन बाहिर विमानस्थल क्षेत्रभित्र कुनै किसिमको व्यानर, प्लेकार्ड आदि अस्थायी रुपमा राख्न प्रतिदिन प्रतिवर्गमीटर एक हजार रूपैयाँ शुल्क लाग्नेछ व्यवस्था छ ।

व्यावसायिक महत्त्वको कक्ष (सी.आई.पी.रुम) शुल्क

विमानस्थलमा व्यावसायिक महत्त्वको कक्ष व्यवस्थापन मापदण्ड र शुल्क प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था नियमावलीमा छ ।

चलचित्र छायाङ्कन शुल्क

कुनै व्यक्ति वा संस्थाले विमानस्थलबाट अनुमति लिई विमानस्थल क्षेत्रभित्र चलचित्र, भिडियो चलचित्र वा विज्ञापन आदि छायाङ्कन गरेवापत प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई प्रत्येक ६ घण्टाको एक पटकको दरले अन्तर्राष्ट्रिय विमानस्थलमा पन्ध्र हजार रूपैयाँ र आन्तरिक विमानस्थलमा सातहजार रूपैयाँका दरले चलचित्र छायाङ्कन शुल्क लाग्नेछ ।

भवन तथा कोठा बहाल शुल्क

प्राधिकरणले विमानस्थल क्षेत्रभित्र वा बाहिर रहेको भवनमा वायुसेवा सञ्चालन संस्थालाई वायुसेवा सञ्चालनको लागि अत्यावश्यक स्थान वा कोठा उपलब्ध गराएवापत भवन तथा कोठा बहाल शुल्क लगाउनेछ । यस्तो शुल्क अन्तर्राष्ट्रिय विमानस्थलको भवन तथा कोठा हकमा अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमीटर एक हजार आठ सय रूपैयाँ, चेक इन एरियामा प्रतिमहिना प्रतिवर्गमीटर दुई हजार चार सय रूपैयाँ, आगमनतर्फ प्रतिमहिना प्रतिवर्गमीटर तीन हजार रूपैयाँ, प्रस्थानतर्फ प्रतिमहिना प्रतिवर्गमीटर तीन हजार छ सय रूपैयाँ, स्टेराइल एरियामा प्रतिमहिना प्रतिवर्गमीटर छ हजार रूपैयाँ र अपरेशन एअरलाइन्स बिल्डिङ्गमा प्रतिमहिना प्रतिवर्गमीटर दुई हजार एक सय साठी रूपैयाँ भवन तथा कोठा बहाल शुल्क लाग्नेछ ।

अन्तर्राष्ट्रिय  विमानस्थलको आन्तरिक टर्मिनल भवन तथा कार्गो टर्मिनलमा प्रतिमहिना प्रतिवर्गमीटर एक हजार दुई सय रूपैयाँ, आन्तरिक विमानस्थलतर्फका विराटनगर, तेन्जिङ्ग हिलारी (लुक्ला), नेपालगन्ज विमानस्थल टर्मिनलको चेकइन एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमिटर  ३ सय रूपैयाँ, चेकइन एरियामा ३ सय ६० रूपैयाँ, चेकइन एरियापछिको प्रस्थान एरियामा ४ सय रूपैयाँका दरले र अन्य क्षेत्रमा रु. २ सय ५० का दरले, चन्द्रगढी, राजविराज, जनकपुर, सिमरा, भरतपुर, जोमसोम, दाङ, सुर्खेत र धनगढी विमानस्थलको चेकइन एरिया बाहिर प्रतिमहिना प्रतिवर्गमीटर २ सय रूपैयाँ, चेकइन एरियामा २ सय ५० रूपैयाँ, चेकइन एरियापछिको प्रस्थान एरियामा ३ सय रूपैयाँका दरले र र अन्य क्षेत्रमा १ सय ५० रूपैयाँका दरले, अन्य विमानस्थलमा प्रतिमहिना प्रतिवर्गमीटर १ सय ८० रूपैयाँ, अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रको अन्य कुनै भवन, भवनको कुनै भाग वा कोठामा प्रतिमहिना प्रतिवर्गमीटर एक हजार रूपैयाँ भवन तथा कोठा बहाल शुल्क लाग्नेछ । कोठा वा स्थान बहालमा दिइने सम्झौताको अवधि बढीमा पाँच वर्षको हुने र सम्झौतामा उल्लिखित बहाल रकममा प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकाङ्कको अनुपातमा स्वतः वृद्धि हुनेछ ।

जग्गा बहाल शुल्क

प्राधिकरणले आफ्नो जग्गा बहालमा लगाएर जग्गा बहाल शुल्क लिन पाउने अधिकार नियमावलीले प्रदान गरेको छ । प्राधिकरणको अनुमति लिई कुनै व्यक्ति वा संस्थाले विमानस्थल क्षेत्रभित्र वा बाहिरको जग्गा प्रयोग गरेमा त्यस्तो व्यक्ति वा संस्थालाई प्राधिकरणले जग्गा बहाल शुल्क लगाउनेछ । अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलमा व्यवसायिक, कृषि, गल्फ कोर्ष तथा अन्य खेलकूद, इक्विपमेन्ट यार्ड, फ्लाइङ्ग स्कूल आदिको प्रयोजनमा प्रतिवर्ष प्रतिवर्गमीटर छुट्टाछुट्टै जग्गा बहाल शुल्क कायम गरिएकोछ ।

प्राधिकरणले अवतरण (ल्याण्डिङ्ग) सेवा शुल्क, गृह आश्रय (हाउजिङ्ग) सेवा शुल्क, भूमिस्थ प्रबन्ध सेवा शुल्क, सवारी साधन विसान सेवा शुल्क, सञ्चालन तथा उड्डयन सहाय सेवा शुल्क, मालसामान (कार्गो) ढुवानी शुल्क, यात्रु सेवा सुविधा शुल्क, प्रवेश शुल्क, उद्धार तथा अग्नि निवारण सेवा शुल्क, हवाई इन्धन सेवा शुल्क, क्याटरिङ्ग सेवा शुल्क, मालसामान (कार्गो) प्रबन्ध सेवा शुल्क, ट्रान्जिट कार्गो सेवा शुल्क, यात्रु परिवहन सेवा शुल्क, वायुयान आश्रय गृह (ह्याङ्गर) बहाल शुल्क, विज्ञापन शुल्क, व्यावसायिक महत्त्वको कक्ष (सी.आई.पी.रुम) प्रयोग शुल्क, ब्यागेज स्क्रिनिङ्ग शुल्क, एरोनटिकल अपरेशन कन्ट्रोल कम्युनिकेशन (ए.ओ.सी.सी.) शुल्क, टर्मिनल उपकरणको साझा उपयोग तथा ब्यागेज रिकन्सिलेशन प्रणाली सेवा उपयोग शुल्क, चलचित्र छायाङ्कन शुल्क, भवन तथा बहाल शुल्क, जग्गा बहाल शुल्क र अन्य सेवा शुल्क उठाउन पाउने व्यवस्था नियमावलीमा गरिएकोछ ।

प्राधिकरणको आफ्नै फ्लाईट क्यालिब्रेशन वा परीक्षण उडानमा संलग्न गराइएको, संयुक्त राष्ट्र संघमा दर्ता रहेको र कूटनीतिक उडानको वायुयान भनी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लेखी आएको, कुनै वायुयानको जाँच वा निरीक्षणको सिलसिलामा वा अन्य कुनै कारणले महानिर्देशकको आदेशले निगरानीमा राखेकोमा सो अवधिसम्म, विमानस्थलमा दुई घण्टासम्म विसान गरेको अवधिसम्म, वायुयान आश्रयगृह बहाल शुल्क तिरेको अवधिसम्मको प्राधिकरणलाई सेवा शुल्क बुझाउनु पर्नेछैन ।