NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

३६ वर्षदेखि एउटै क्षेत्रबाट निर्वाचन लडेका मुख्यमन्त्री पाण्डेको आफ्नै पूर्वसहकर्मीसँग रोचक प्रतिस्पर्धा

काठमाडौं । संघीय राजधानी काठमाडौंसँग जोडिएको धादिङ क्षेत्र नम्बर १ एमालेको परम्परागत गढ मानिन्छ । २०४६ मा बहुदल पुनस्र्थापनापछि २०४८ मा भएको आम निर्वाचनमा एमालेले यो क्षेत्रमा ऐतिहासिक जित निकालेको थियो ।

त्यतिबेला एमालेका चर्चित युवा नेता रहेका राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पाण्डेले ०४८ को निर्वाचन जित्दा उनी ३५ वर्षका थिए । त्यसयता पाण्डेले २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै निर्वाचन जित्दै आएका छन् । साविक ३ नम्बर क्षेत्र रहेको यस निर्वाचन क्षेत्र २०७३ मा राज्य पुर्नंसंरचनापछि १ नम्बर क्षेत्र भएको हो ।

गतवर्ष एमाले विभाजन भएपछि पाण्डेले एकीकृत समाजवादी रोजे । नेकपा एसको उपाध्यक्षसमेत रहेका उनै पाण्डे सत्ता गठबन्धनको सहयोगमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका छन् । उमेरले ६६ वर्ष लागेका पाण्डेसँग पूर्वसहकर्मी तथा एमालेका निवर्तमान सांसद भूमि त्रिपाठीले प्रतिस्पर्धा गरेका छन् । एउटै पार्टीमा लामो समय सहकार्य गरेका यी दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले धादिङको चुनावी राजनीति थप रोमाञ्चक हुने देखिन्छ ।

फरक–फरक पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा आमनेसामने भिडेका यी दुई नेतालाई योपटक विरासत जोगाउनै पर्ने दबाब छ । यो क्षेत्रबाट पाण्डे सातौंपटक चुनावी मैदानमा उत्रिएका हुन् । त्रिपाठीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो । यसपटक आफ्नै पूर्वनेतासँग मैदानमा उत्रिएका त्रिपाठीलाई एमालेको विरासत जोगाउनु पर्ने बाध्यता छ । पार्टी विभाजनपछि पनि आफ्नो विगतको लिगेसी कायमै राख्न पाण्डेलाई थप चुनौती छ । वागमती प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका पाण्डे र एमालेका उम्मेदवार त्रिपाठीबीचको रोचक भिडन्तमा योपटक कसले बाजी मार्लान् भन्नेमा सबैको चासो देखिन्छ ।

यस्तो छ २०७४ को चुनावी मतपरिणाम

२०७४ को निर्वाचनमा एमालेका जिल्ला अध्यक्षसमेत रहेका त्रिपाठी सबैभन्दा फराकिलो अन्तरले विजयी भएका थिए । तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार रहेका त्रिपाठी ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे ।
अघिल्लो निर्वाचनमा पाण्डे धादिङ–१ को प्रतिनिधिसभा अन्तर्गत प्रदेश–१ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले गठबन्धनबाट समेत उम्मेदवार रहेका श्रेष्ठलाई पाण्डेले १३ हजार ६६८ को मतान्तरले पराजित गरेका थिए । वामपन्थी गठबन्धनबाट उम्मेदवार रहेका पाण्डे २७ हजार ३३२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए ।

स्थानीय तह निर्वाचन २०७९ को चुनावी परिणामको समीक्षा

गत वैशाखमा भएको स्थानीय तह निर्वाचन परिणाम हेर्दा एक नगरपालिका र ५ गाउँपालिका रहेको यो क्षेत्रमा एमालेले थाँक्रे र गल्छी गाउँपालिका अध्यक्ष मात्र जितेको छ । धुनिबेंसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले जित्दा गजुरी र बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी भयो । सिद्धलेक गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भयो ।

५३ वडामध्ये थाँक्रेमा ५ र गल्छीमा ३, बोनिघाट रोराङमा २ र सिद्धलेकमा ३ गरी १३ वटा वडामा एमाले विजयी भएको छ । धुनिबेंसीसहित अन्य पालिकामा वडाध्यक्षविहीन बन्यो । १३ मध्ये उपप्रमुख र उपाध्यक्षमा एक सिट पनि जित्न सकेन ।

वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा धादिङ १ मा एमाले ३७ हजार ७७८ मतसहित पहिलो दल रहेको छ । बहुसंख्यक वडामा पराजित हुँदासमेत एमालेले लोकप्रिय मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५ मत पाएको छ । कांग्रेसको १९ हजार ४२३, नेकपा एसको ८ हजार ८३६ र राप्रपाको १ हजार २२२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ५३ हजार १८४ रहेको छ । यो क्षेत्रमा गठबन्धनभन्दा एमाले १५ हजार ४०६ मतले अगाडि छ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा पाण्डेले निर्वाचन जित्ने सम्भावना बलियो देखिन्छ । मतपरिणाम अनुसार नेकपा एस तेस्रो स्थानमा रहेपनि कांग्रेस र माओवादी केन्द्रको मत पाण्डेलाई निर्वाचन जित्ने निर्णायक मत हो । एकीकृत समाजवादीको मतलाई यथावत राखि पाण्डेले कांग्रेस र माओवादीको सबै मतलाई तान्नुपर्ने चुनौती छ । पाण्डे र त्रिपाठीसहित यो क्षेत्रमा १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । यी दुवै उम्मेदवार पुराना र चिरपरिचित अनुहार भएकाले पुराना मतदातासहित थपिएका नयाँ मतदाताकोसमेत विश्वास जित्नुपर्ने बाध्यता छ ।

को हुन् पाण्डे ?

पूर्वस्थानीय विकास मन्त्रीसमेत रहेका पाण्डे नेकपा एसका उपाध्यक्ष हुन् । उनी २०४८ साल देखि धादिङ जिल्लाबाट निरन्तर चुनावमा सहभागी हुँदै आएका छन् । पाण्डेले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा चुनावमा भाग लिएका छन् । ३६ बर्ष देखि एउटै क्षेत्रबाट चुनाव लड्दै आइरहेका उनले २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै चुनाव जितेका छन् ।
एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरी वागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे एमाले धादिङका संस्थापक नेता हुन् । एमालेमा रहँदा माधवकुमार नेपाल निकट रहेका उनी आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै वामपन्थी राजनीतिमा सक्रिय भएका हुन् । पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

धादिङको गजुरी गाउँपालिका–२ छेवाङमा जन्मिएका पाण्डेलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल सजायँ तोकिएको थियो । उनले २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनकोसमेत नेतृत्व गरेका छन् । २०७८ मा पाण्डे कांग्रेस र माओवादी केन्द्रको सहयोगमा वाग्मती प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तो छ त्रिपाठीको राजनीतिक यात्रा

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखुमा जन्मेका त्रिपाठीले गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहे । त्रिपाठी नेपाल ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए ।

२०५४ मा पार्टी विभाजन भएपछि त्रिपाठी धादिङमै बसेर सक्रिय राजनीतिमा होमिएका थिए । २०५४ सालमा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा एमाले धादिङको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष बनेका हुन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । नेकपा विघटनपछि एमाले धादिङका अध्यक्ष नेत्र पौडेलले राजीनामा दिएपछि उनी पुनः एमाले धादिङका अध्यक्ष भएका हुन् ।