NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

२०७४ मा ११ सिट जितेको एमालेलाई सुदूरपश्चिममा उम्मेदवार नै नभएका भीम रावलको चुनौती

यस्तो छ सुदूरपश्चिममा गठबन्धन र एमालेको मतान्तर

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि एमालेले पहिलो चुनावी सभा सुदूरपश्चिमबाट शुरू गरेको छ । कात्तिक १८ गते दार्चुलाको खलङ्गाबाट शुरू भएको सभा मंसिर १ मा पूर्वी नेपालमा टुंग्याउने तयारी छ । ४० जिल्लाको मुख्य शहरमा हुने सबै चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन् ।

एमालेले पहिलो चुनावी सभा सुदूरपश्चिमको दार्चुला रोज्नुको तात्पर्यता दुइ विषयमा सन्देश दिन खोजिएको देखिन्छ । एक राष्ट्रियताको मुद्दालाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाउनु रहेको देखिन्छ । भारतको कब्जामा रहेको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको चुच्चे नक्सा ओली सरकारले प्रकाशित गरेको थियो । नक्सा प्रकाशित भएपनि गुमेको भू–भाग अहिलेसम्म नेपालले फिर्ता लिन सकेको छैन । यही राष्ट्रियताको कार्ड प्रयोग गरी आगामी निर्वाचन जित्न सकिने बुझाइ ओलीको छ ।

२०७२ मा नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीको खुलेर विरोध गरेका कारण ओलीले राष्ट्रवादी नेताको छवि बनाएका थिए । त्यही राष्ट्रियताको पक्षमा भारत विरोधी कित्तामा उभिएकै कारण २०७४ को निर्वाचनमा एमालेले राम्रो मत पाएको थियो । दुई ठूला दल एमाले र माओवादीबीचको पार्टी एकतासहितको चुनावी गठबन्धनका कारण वामपन्थीले झण्डै दुइतिहाइ मत ल्यायो । तर ओली र प्रचण्डबीचको द्वन्द्वका कारण ४१ महिनामै ओली सरकार ढल्यो ।

दोस्रो अहिले ओलीसँग नेकपा पार्टी छैन । एमालेसमेत विभाजित भएको छ । एमालेभित्र अब कुनै विवाद नरहेको ओलीले दाबी गर्दै आएपनि टिकट वितरणलाई लिएर एमाले एकता पक्षधर र माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ताहरू नै तीव्र असन्तुष्ट देखिन्छन् । सुदूरपश्चिममा एमालेका हस्ती मानिएका पूर्वउपाध्यक्ष तथा इन्चार्ज डा. भीम रावललाई प्रतिनिनिधिसभा सदस्यका लागि एमाले अछाम जिल्ला कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका थिए । तर ओलीले रावललाई टिकट नदिइ पूर्वमाओवादीका झपटबहादुर बोहोरालाई दिएका थिए ।
गतवर्ष चितवनको सौराहामा भएको १० औं महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएकोमा असन्तुष्ट रहेका ओलीले त्यसको बदला लिएका थिए । एमाले विभाजन र पार्टीभित्र रावलजस्ता नेताहरूको सहयोगबिना नै बहुमत ल्याउने तागत एमालेसँग छ भन्ने सन्देश उनले दिन खोजेका छन् ।

एकतापक्षधर भनेर चिनिएका घनश्याम भुसाललगायत नेताहरूलाईसमेत टिकटबाट बञ्चित गरेका ओलीको लागि आगामी यात्रा त्यति सजिलो देखिएको छैन ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले एउटै कार्यकालमा दुईपटक संसद विघटन गरी कीर्तिमानी राखे । संविधान विपरीत ओलीले चालेका असंवैधानिक कदमका कारण योपटक उनी निकै आलोचित भएका छन् । नेकपा विभाजन रोक्न नसकेका ओलीले एमालेसमेत जोगाउन नसकेको उनीमाथि आरोप लाग्दै आएको छ ।

ओलीको विपक्षमा उभिएका नेताहरूलाई छानी–छानी टिकटबाट जञ्चित गरिएकोमा एमाले एकता पक्षधरका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । टिकट खोसिएपछि असन्तुष्ट भएका रावलले ओलीको दम्भ र अहंकारका कारण सुदूरपश्चिमा एमालेले ठूलो क्षति व्यहोर्ने चेतावनी दिइसकेका छन् । अछाममा त रावल पक्षका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिएका छन् । सुदूरपश्चिमा ब्राण्डकै रुपमा चिनिएका आफ्ना नेतालाई ओलीले बदनियतपूर्ण तरिकाले अपमान गरेकोमा रावलका नेता तथा कार्यकर्ताहरूले चित्त दुःखाएका छन् । ओलीप्रति निकै आक्रोसित देखिएका रावलपक्षका नेता तथा कार्यकर्ताहरूले चुनावीसभामै सवालजवाफ गरेका थिए । ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै रावल एमालेको कुनैपनि चुनावी कार्यक्रममा सहभागी नभइ काठमाडौंमा बसेका छन् । आगामी निर्वाचनमा उपयुक्त उम्मेदवारका पक्षमा मतदान गर्ने उनले बताउँदै आएका छन् । यसहिसाबले सुदूरपश्चिममा रावलको अनुपस्थिति ओलीको लागि महंगो सावित हुनसक्ने देखिन्छ ।

यस्तो छ कञ्चनपुरको चुनावी सभामा ओली र कार्यकर्ताबीचको सवालजवाफ

पार्टी विभाजन भएपनि आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका ओलीका लागि चुनावी अभियानको पहिलो दिनमा नै झड्का लागेको छ । मंसिर ४ मा एमालेको बहुमतको सरकारका लागि ‘मिसन–१५०’ अभियान शुरू गरेकै दिन कञ्चनपुरमा ओलीले रावपक्षका कार्यकर्ताहरूको सामना गर्नुप¥यो । दार्चुलाको कार्यक्रम समापन गरेर बैतडी हुँदै कञ्चनपुर पुगेका ओलीले कार्यक्रमभर कार्यकर्ताले ओलीसँग जवाफ मागेका थिए ।

आफ्ना नेतालाई बाइपास गर्दै लेखराज भट्टकासाथ सभामा पुगेका ओलीमाथि राष्ट्रियता र रावलको पक्षमा लगातार प्रश्न उठाएका थिए । कार्यक्रममा ओलीले राष्ट्रियताको विषयमा गठबन्धन सरकार भारतसँग लल्याकलुलुक भएको आरोप लगाउँदै गर्दा दर्शक दीर्घाबाट कार्यकर्ताले सामन्त गोयल कोे हो भनि प्रश्न गरेका थिए ।

कार्यकर्ताले एकाएक गोयलको विषयमा प्रश्न उठाएपछि एकछिन अलमलिएका ओलीले त्यसको जवाफ मञ्चबाटै फर्काए ।
‘एकजनाले सामन्त गोयलको प्रश्न उठाउनु भयो । सामन्त गोयल नेपाल आएका हुन् । थुप्रै भारतीय नेपाल आउँछन् र महत्वपूर्ण व्यक्तिहरूले मसँग भेट्छन् पनि । मसँग भेट्नु कुनै अनौठो कुरा होइन । अमेरिकीहरूले भेटेका छन् । भारतीयहरूले भेटेका छन् । चाइनिजहरूले भेटेका छन् । जापानिजहरूले भेटेका छन् । एउटा देशका नेता भएकाले विभिन्न देशका नेताहरूले भेट्छन् ठूलो कुरा होइन । राति लुकेर उनीहरूको निवासमा गएर मैंले भेटेको होइन । मैले खुलेयाम भेटेको छु । लुकेर दिल्ली गएर भेटेको होइन’, ओलीले कार्यकर्तालाई जवाफ फर्काए ।

गोयलको विषयमा उठेको प्रश्नको जवाफ नदिँदै कार्यकर्ताले ओलीमाथि एमसिसीको विषयमा प्रश्न गरेका थिए ।

त्यसको जवाफ दिँदै ओलीले भने–‘हो, एमसिसीको विषय तपाईंले उठाउनुभयो अब बीचमा हल्ला नगर्नुहोला । एमसिसी गठबन्धनले ग¥यो । गठबन्धनले नै पास ग¥यो । यसमा केही भन्नु पर्नेजस्तो मलाई लाग्दैन । हामीसँग किन सोध्नु । गठबन्धनलाई गएर सोध्नोस् । सडक भत्काउन लगाउने प्रचण्डलाई गएर सोध्नोस् ।’

एमसिसीको विषयमा जवाफ दिएपछि  पुनः कार्यकर्ताले रावलले टिकट नपाएको विषयमा ओलीमाथि प्रश्न गरेका थिए । ओलीमाथि रावलका कार्यकर्ताले लगातार प्रश्न उठाउन थालेपछि जवाफ फर्काउँदै ओलीले भने, ‘भीम रावलको तपाईंलाई के को चिन्ता ? २०४८ देखि एकछिन मुख खाली छैन । बुढो भइसक्नुभयो । किन भीम रावलको चिन्ता अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल के को खेती गरिराखेको ? थुप्रो रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिमा ।’

ओलीको जवाफमा चित्त नबुझाएका रावलका कार्यकर्ताले हाम्रा नेतालाई किन अपमान गरेको भन्दै केहीबेर हुटिङ गरेका थिए ।
रावल पनि के कम, आफूमाथि ओलीले तिखो प्रहार गरेपछि रावलले त्यसको कडा प्रतिवाद गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा पाँच बुँदे स्टाटस राखेका उनले २०४८ सालमा तत्कालीन महासचवि मदन भण्डारी र माधव नेपालले चुनाव नजित्ने देखिएपछि एमालेको जनमत जोगाउन आफूलाई अछाम पठाएको तर आफू २०५१ मा सांसद भएको स्पष्टीकरण दिएका छन् । उनले ओलीमाथि प्रश्न गर्दै लेखेका छन्– ‘ओलीजी तपाईं ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसक्नुभयो । कहिल्यै मुख खाली छैन । फेरिपनि खानका लागि मुख किन बाउनुभएको ?’

उनले दोस्रो नम्बर बुँदामा ६७ वर्षमा आफूलाई बुढो भयो भन्ने ओलीजी ७० वर्ष कटिसक्दा पनि फेरि सांसद र प्रधानमन्त्री बन्न कसरी तन्नेरी हुनुभयो भनेर प्रश्न गरेका छन् ।

पार्टीका पूर्वउपाध्यक्ष र सरकारका उपप्रधानमन्त्री भइसकेका रावलमाथिको ओलीको टिप्पणीलाई लिएर सुदूरपश्चिमका एमाले कार्यकर्ता थप आक्रोशित भएका छन् ।

एमाले सुदूरपश्चिमका पूर्वप्रमुख तथा विद्यार्थी नेता नेत्र मैनालीले विगतमा रावलका केही कमजोरी भएपनि उनीमाथि ओलीको सार्वजनिक अभिव्यक्ति ठीक नभएको बताए ।

‘ओलीलाई हिजाे मधेशमा मार्नै खोजेकासँग गठबन्धन गरेर टिकट दिन हुने । युद्धकालमा खोजिखोजी मार्न हिँडेका लेखराज आफ्नो हुने अनि हिजोदेखि पार्टीमा त्यत्रो योगदान गरेका व्यक्तिलाई टिकट दिन किन नहुने ? उनले थप प्रश्न गर्दै भने, ‘चुनावको बेलामा रावललाई चिढाउने होइन । कार्यक्रममा सँगै लिएर जाँदा के हुन्थ्यो ? जसले टिकट पाएनन् उनलाई कतिपटक लड्ने भन्ने अनि आफू चाहिँ कति पटक लड्नुपर्ने ? कित माथिल्लो तहका पुराना पुस्ता पूरै हटाउनुपथ्र्यो । दास मनोवृत्ति भएकालाई मात्र टिकट दिएर हुन्छ ?’

सुदूरपश्चिममा ब्राण्डको रुपमा स्थापित भएको मान्छेलाई बाहेक गर्नु वा क्षयीकरण गर्न खोज्नु एमालेका लागि राम्रो नहुने मैनालीले बताए ।
त्यस्तै सुदूरपश्चिमा पूर्वसामाजिक विकासमन्त्री कृष्ण सुवेदीका छोरासमेत रहेका स्थानीय नेता भीष्म सुवेदीले ओलीको अभिव्यक्तिका कारण चुनावी वातावरण थप बिग्रिएको बताए ।

‘सर्वसम्मत उम्मेदवार रावलले टिकट खोसिएपछि असन्तुष्ट भएका नेता तथा कार्यकर्तालाई ओलीको अभिव्यक्तिले थप आक्रोसित बनाएको छ’, उनले भने, ‘निर्वाचनको मुखमा अध्यक्षका यस्ता अभिव्यक्तिले एमालेलाई थप क्षति पु¥याउँछ ।’

यस्तो छ सुदूरपश्चिमा चुनावी अंकगणित

मंसिर ४ पछि एमालेको एकल नेतृत्वमा बहुमतको सरकार बन्ने दाबी गर्दै आएका ओलीका आफ्नै अभिव्यक्ति सुदूरपश्चिमा निकै भारी पर्ने स्थानीय नेताहरू बताउँछन् । ओलीको दम्भ र अहंकारका कारण आगामी निर्वाचनमा सुदूरपश्चिमा एमालेले योपटक तीन सिटमात्र जित्न सक्ने आकलन गरिएको छ ।

२०७४ को निर्वाचनमा एमालेले १६ मध्ये ११ सिट जितेको थियो । बाजुरा, बझाङ, डोटी, दार्चुला र बैतडी, अछाम, कैलाली र कञ्चनपुरमा २–२ सिट जितेको थियो । कांग्रेस डडेलधुरामा मात्र सीमित थियो । माओवादी केन्द्रले कैलालीमा २ र कञ्चनपुरमा १ सिट जितेको थियो । कैलाली १ मा संघीय समाजवादीबाट रेशमलाल चौधरी विजयी भएका थिए ।

योपटक बैतडी, बाजुरा र दार्चुलामा मात्र एमालेले जित्ने अनुमान गरिएको छ । वैशाखमा भएको स्थानीय तह निर्वाचनमासमेत एमालेले योग्य र क्षमतावान नेताहरूलाई पाखा लगाएको भन्दै धेरै नेता तथा कार्यकर्ताले विद्रोह गरेका थिए । रावलपक्षको वर्चस्व रहेको यो प्रदेशमा आफ्ना नेताले नै टिकट नपाएपछि कार्यकर्ताहरू निराश देखिएका छन् । उनीहरूले त्यसको परिणाम ओलीले नसोचेको निस्कने रावलपक्षका नेता तथा कार्यकर्ताहरूले चेतावनी दिएका छन् ।

१६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा योपटक एमाले र सत्तागठबन्धनका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको मतपरिणमलाई आधार मान्दा सबै निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन अगाडि देखिन्छ । बाजुरामा एमालेले पूर्वउद्योगमन्त्री तथा सुदूरपश्चिमका सहइन्चार्ज कर्णबहादुर थापालाई उठाएको छ । उनको प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे उम्मेदवार बनेका छन् । व्यक्तिगत प्रभावका कारण थापाले निर्वाचन जित्ने अनुमान गरिएको छ । तर कांग्रेस सहमहामन्त्री पाण्डे इमान्दार युवा नेताको रुपमा परिचित छन् ।

रावलको निर्वाचन क्षेत्रसमेत रहेको अछाम–१ मा एमालेले झपटबहादुर बोहरालाई उठाएको छ । उनको विपक्षमा गठबन्धनबाट नेकपा एसका शेरबहादुर कुँवर उठेका छन् । श्रममन्त्रीसमेत रहेका उनलाई रावलको सहानुभूति रहनसक्ने अनुमान गरिएको छ । बोहोरा नेकपा विघटनपछि माओवादीबाट एमालेमा गएका थिए ।

अछाम–२ मा एमालेले यज्ञबहादुर बोगटीलाई उम्मेदवार बनाएको छ । उनी निवर्तमान सांसद हुन् । उनको प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेसका पुष्पबहादुर शाहले उम्मेदवारी दिएका छन् । बझाङमा एमालेबाट अनेरास्ववियुका पूर्वअध्यक्ष ऐनबहादुर महर र गठबन्धनबाट नेकपा एसका भानुभक्त जोशीबीच रोचक भिडन्त हुने देखिन्छ । पूर्वनेतासँग पहिलोपटक चुनावी मैदानमा उत्रिएका महरलाई जित्न मुस्किल भएको स्थानीय नेता बताउँछन् ।

डोटीमा एमालेका पोलिटब्युरो सदस्य गौरीकुमारी वलीसँग गठबन्धनबाट नेकपा एसका प्रेमबहादुर आले भिड्दै छन् । पूर्वमन्त्रीसमेत रहेका आले डोटीका प्रभावशाली नेता हुन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा एमालेले जित्न निकै मुश्किल देखिएको छ । स्थानीय तहको मतपरिणाम अनुसार पाँचवटै क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । कैलाली–१ मा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावल छन् । उनका प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामजनम चौधरी उठेका छन् ।

कैलाली–२ मा एमालेले झपटबहादुर रावललाई उठाएको छ । गठबन्धनबाट माओवादी केन्द्रका भगतबहादुर बढुवाल उठेका छन् । त्यस्तै कैलाली–३ बाट एमालेले निवर्तमान सांसद गौरीशंकर चौधरीलाई उठाएको छ । उनी अघिल्लो निर्वाचनमा माओवादीबाट अत्याधिक मत ल्याएर जितेका थिए । उनको प्रतिस्पर्धामा गठबन्धनबाट माओवादीका कृष्णकुमार चौधरी उठेका छन् ।

त्यस्तै कैलाली–४ मा एमालेले सचिवसमेत रहेका लेखराज भट्टलाई उठाएको छ । उनी २०६४ देखि सोही क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए । पूर्वमाओवादीका प्रभावशाली नेता रहेका उनी योपटक जित्नेमा ढुक्क देखिँदैनन् । उनको प्रतिस्पर्धामा गठबन्धनबाट कांग्रेसका नेता वीरबहादुर बलायर उठेका छन् । उनी गठबन्धनका बलिया प्रतिस्पर्धी हुन् ।

यसैगरी कैलाली–५मा एमालेले नारदमुनी रानालाई उठाएका छन् । सोही क्षेत्रका उनी बलिया प्रतिस्पर्धी भएपनि गठबन्धनका कारण योपटक उनी निकै दबाबमा छन् । गठबन्धनबाट कांग्रेसले डिल्लीराज पन्तलाई उठाएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेले गणेशसिंह ठगुन्नालाई उठाएको छ । उनको व्यक्तिगत प्रभाव राम्रो रहेकाले निर्वाचन जित्न

सकिने एमालेको मूल्याङकन रहेको छ । उनलाई गठबन्धनबाट उद्योगमन्त्रीसमेत रहेका दीलेन्द्रप्रसाद बडूले चुनौती दिएका छन् ।
योपटक पनि एमालेले निर्वाचन जित्न सुनिश्चित ठानेको बैतडीमा एमालेले दामोदर भण्डारीलाई नै दोहोर्याएको छ । गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर उठेका छन् ।

डडेलधुरा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको पकड क्षेत्र हो । २०४८ देखि देउवाले सोही क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका छन् । यो उनको सातौंपटक उम्मेदवारी हो । देउवाकोविरुद्ध कुनै उम्मेदवारी नदिएको एमालेले देउवाका विद्रोही नेता कर्णबहादुर मल्ललाई समर्थन गरेको छ । योपटक देउवाको मुख्य प्रतिस्पर्धा मल्लसँगै हुने ठानिएको छ । उनलाई योपटक स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनौती दिएका छन् । अक्सफोर्ड विश्व विद्यालयबाट इन्जिनियरिङ सकेर आएका ढकालले २०७२ मा देउवालाई नेपालले अक्सफोर्ड विश्वविद्यालयमा पढेको प्रधानमन्त्री कहिले पाउँछ भनेर प्रश्न सोधेका थिए ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा पनि योपटक एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । कञ्चनपुर–१ मा एमालेले तारा लामा तामाङलाई उम्मेदवार बनाएको छ । एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेकी उनी निर्वाचवको मुखमा एमाले प्रवेश गरेकी हुन् । गठबन्धनबाट माओवादीकी बिना मगरले चुनौती दिएकी छिन् । मगर अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनी प्रचण्डकी बुहारीसमेत हुन् । कञ्चनपुर–२ मा एमालेले नरबहादुर धामीलाई उठाएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउदले चुनौती दिएका छन् ।

कञ्चनपुर–३ मा एमालेका निरुदेवी पाल र गठबन्धनबाट नेता रमेश लेखकबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा थोरै मतान्तरले पराजित भएका लेखक योपटक गठबन्धनको सहयोगमा हारको बदला लिने दाउमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष