NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हुम्ला र मनाङमा नमूना मतदान

सिमकोट । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ ।

सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ ।

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज नमूना मतदान भएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो ।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ ।

त्यसैगरी अर्को हिमाली जिल्ला मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ । आज जिल्लाका चार वटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए ।

‘स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर त न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो’, उनले भने ।

निर्वाचन कार्यालय मनाङका अनुसार आज सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्राङ्गणमा नमूना भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ, र नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भइसकेको छ ।