NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओनसरीको प्रतिवद्धतापत्र : त्रिभुवन विमानस्थलमुनि सुरूङ मार्ग बनाउनेदेखि चावहिल–साँखु सडक निर्माणसम्म

काठमाडौं । काठमाडौं–२ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकी ओनसरी घर्तीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेकी छिन् ।

संयुक्त प्रतिवद्धतापत्रमा  तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात गरेकोउल्लेख छ ।

ओलीले संविधान र लोकतन्त्रमाथि गरेका घातबाट मुलुकलाई जोगाइ मुलुकलाई उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान वाम–लोकतान्त्रिक गठबन्धन निर्माण भएको उल्लेख छ ।

उनले क्षेत्र नम्बर २ का जनताका स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा पाँच वर्ष गर्ने कामको प्रतिबद्धता समेटिएको छ ।

यो क्षेत्रलाई उनले पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएकी छिन् । प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफुल खेती एवम् कृषिमा आधुनीकिकरण गर्ने र सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास लगायत क्षेत्रमा काम गर्ने योजना समेटिएको छ ।

यसैगरी भौतिक पूर्वाधारतर्फ साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्य पहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखुु– बज्रयोगिनी– घुुमारचोक– डाँडाकटेरी –चौही भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धतापत्रमा उल्लेख छ । त्यस्तै चावहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदि–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकी छिन् ।

त्यस्तै यो क्षेत्रका सबै विद्यालयमा अविष्कार अनुसन्धान तथा आविकस्कार केन्द्र स्थापना गर्ने, संविधानमा व्यवस्था भएबमोजिम सबै नागरिकलाई आधारभूत स्वास्थ्य तथा शिक्षामा नागरिकको अधिकार स्थापित गर्ने उल्लेख छ ।

यसैगरी सुरक्षित शहर र व्यवस्थित बसोबासका लागि मनोहरा करिडोर निर्माण गर्ने तथा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।