NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सल्यानमा गठबन्धनका प्रकाश ज्वाला र पूर्वपञ्च नेता रायबीच रोचक भिडन्त

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कर्णाली प्रदेशको सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका उम्मेदवार राजेन्द्रवीर रायबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

एमाले विभाजनपश्चात् पहिलोपटक प्रतिनिधिसभा सदस्यमा भाग लिएका ज्वालालाई योपटक एमालेबाट पूर्वपञ्च नेता रायले चुनौती दिएका छन् । राप्रपाका उपाध्यक्षसमेत रहेका राय गत भदौ २५ मा एमाले प्रवेश गरेका हुन् ।

ज्वाला २०७४ को निर्वाचनमा सल्यान प्रदेशसभा–२ बाट निर्वाचित सदस्य हुन् । प्रतिनिधिसभा सदस्यका लागि एमालेका बलिया दाबेदार गुलाबजंग शाह प्रदेशसभा सदस्यमै दोहोरिन चाहेपछि एमालेले रायलाई प्राथमिकता दिएको हो । रायको उपस्थितिले ज्वालालाई निर्वाचन जित्न थप सहज भएको छ । सल्यानको शारदा नगपालिका– ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रदेशसभा–२ का उम्मेदवार थिए । प्रदेशसभा निर्वाचनलगत्तै उनी २०७५ मा नेकपा प्रवेश गरेका थिए । केही समयपछि पुनः राप्रपामै फर्किएका उनी एमालेबाट टिकट पाउने पक्का भएपछि फेरि एमाले प्रवेश गरेका हुन् ।

२०७० को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका उम्मेदवार टेकबहादुर बस्नेत विजयी भएका थिए । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच भागबण्डा हुँदा ज्वाला मुख्यमन्त्री बन्ने हिसाबले प्रदेशसभा सदस्यमा उठेका थिए । माओवादी केन्द्रले बस्नेतलाई प्रतिनिधिसभा सदस्यमा उठाएको थियो । २०७४ को निर्वाचनमा बस्नेतले १११३० को फराकिलो मतान्तरका साथ कांग्रेसका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरेका थिए । बस्नेतले ४० हजार ८९७ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी शाहले २९ हजार ७६७ मत पाएका थिए ।

योपटक कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको सहयोगमा उम्मेदवारी दिएका ज्वाला निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् ।

‘मलाई माओवादी र कांग्रेसको बलियो साथ रहेको छ । यहाँ हाम्रो पार्टीको स्थिति पनि बलियो छ’, चुनावी घरदैलो कार्यक्रममा निर्वाचन क्षेत्रमै रहेका ज्वालाले भने, ‘लोकतन्त्र, संविधान र व्यवस्था बचाउन गठबन्धन बनेकाले आगामी निर्वाचनमा गठबन्धनले अत्याधिक बहुमत ल्याउनेछ ।’

लगातार माओवादीले जित्दै आएको सल्यानमा गठबन्धनको सहयोगमा योपटक ज्वाला अत्याधिक मतसहित जित्नै पर्ने दबाबमा छन् । अघिल्लो निर्वाचनमा ज्वालाले प्रदेशसभा–२ बाट ८ हजार २०६ मतान्तरले कांग्रेसका उम्मेदवार डिल्लीराज रेग्मीलाई पराजित गरेका थिए । उनले १९ हजार ८३६ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी रेग्मीले ११ हजार ६३० मत पाएका थिए ।

त्यसअघिको निर्वाचनमा १५ हजार ८९ मत ल्याइ माओवादीका बस्नेत विजयी भएका थिए । एमालेका उम्मेदवार गुलाबजंग शाहले ११ हजार ८५२ मत पाएका थिए ।

यस्तो छ स्थानीय तह निर्वाचन २०७९ को अंकगणित

१० वटा स्थानीय तह रहेको सल्यानमा तीन नगरपालिका र ७ गाउँपालिका रहेको छ । तीमध्ये कपुरकोट गाउँपालिका अध्यक्षमात्र नेकपा एसले जितेको थियो । एमालेले कालिमाटी र छत्रेश्वरी गाउँपालिका अध्यक्ष जितेको थियो । त्यस्तै वनगाड नगरपालिका प्रमुख र दार्मा गाउँपालिका अध्यक्ष माओवादी केन्द्र विजयी भएको थियो । यसैगरी सत्ता नेतृत्व दल कांग्रेसले बागचौर नगरपालिका, शारदा नगरपालिका प्रमुख, कुमाख, सिद्धकुमाख र त्रिवेणी गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो ।

वडाध्यक्षले पाएको मतपरिणाम अनुसार सल्यानमा कांग्रेस ३३ हजार ६१६ मतसहित पहिलो दल भएको छ । माओवादीले २६ हजार ७१३ मत ल्याइ दोस्रो स्थानमा रहेको छ । यहाँ एमालेको मत २६ हजार ६२८ रहेको छ । एकीकृत समाजवादीको ९ हजार ४६७ मत रहेको छ । यहाँ राप्रपाको २ हजार ११७ मत रहेको छ । सल्यानमा गठबन्धनको मत ६९ हजार ७९६ रहेको छ । यो क्षेत्रमा गठबन्धन ४३ हजार १६८ को फराकिलो मतले अगाडि रहेको छ । ज्वाला केन्द्रीय राजनीतिमा प्रभाव राख्ने सक्ने नेतासमेत भएका र कर्णाली प्रदेशमा कम्युनिष्ट जनमत बढाउन उनको प्रभावकारी भूमिका देखिएकाले ज्वालाले जित्ने सम्भावना बलियो देखिन्छ ।

को हुन् प्रकाश ज्वाला ?

२०२३ साल मंसिर १२ गते वनगाड कुपिण्डे नगरपालिका–१, देवस्थलमा जन्मिएका ज्वाला सानैदेखि वामपन्थी आन्दोलनमा लागेका चर्चित नेता हुन् । २०७४ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीसमेत भएका उनी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन एमालेसँग विद्रोह गरेका थिए । २०७८ वैशाख ३ गते कर्णाली प्रदेशमा तत्कालीन मुख्यमन्त्री शाहीले विश्वासको मत लिने क्रममा उनीसहित एमालेका ४ जना सदस्यले फ्लोर क्रास गर्दा शाहीको सरकार जोगिएको थियो । त्यसको नेतृत्व ज्वालाले गरेका थिए । उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अत्यन्तै विश्वासिला पात्र हुन् । नेपाललाई कठिन परिस्थितिमा उनले साथ दिंदै आएका छन् ।

युवावस्थामै ज्वाला सल्यानको भूगोलमा चिरपरिचित नाम हुन् । २०५६ सालको संसदीय चुनावमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । माओवादी युद्ध प्रभावित क्षेत्र रहेको सल्यानमा एमालेलाई विजयी गराएपछि त्यतिबेला उनी निकै चर्चामा आएका थिए ।

त्यसयता लामो समय संसदीय निर्वाचनमा भाग नलिएका उनी अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका थिए । तर पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा उनीसहित चार जनालाई एमालेले निष्कासन गरेको थियो । संसदीय इतिहासमा विरलै देखिने उनको विद्रोहका कारण देशको राजनीति नै तरंगित भएको थियो ।

२०३९ सालको शिक्षक आन्दोलनबाट राजनीतिमा होमिएका ज्वाला तत्कालीन नेकपा एमालेको जिल्ला कार्यालय सचिव, केन्द्रीय सदस्य, पार्टीको राप्ती अञ्चल ईन्चार्ज हुँदै नेकपा एमालेको पोलिटब्युरो सदस्य भएका थिए । एमाले विभाजनमा माधव–झलना समूहलाई साथ दिएका उनी अहिले नेकपा एसका उपमहासचवि रहेका छन् । उनले मानविकी संकायमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।