NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते
विशेषज्ञसँग नेपालवाच

फोक्सोको क्यान्सर किन हुन्छ, नेपालमा जोखिम कति, जोगिन के गर्ने ? (भिडियोसहित)

समयमै उपचार गरे निको हुन्छ फोक्सोको क्यान्सर

काठमाडौं । धूलो, धुँवा, प्रदूषण, धुमपानको सेवन, अस्वस्थ जीवनशैलीले फोक्सोमा हुने संक्रमणको जोखिम बढाएको छ । यस्ता संक्रमणले निम्त्याइरहेको क्यान्सर विश्वभर भयावह बन्दै गइरहेको छ । विश्वमा सबैभन्दा धेरै पुरुषको मृत्युको कारण यही भएको अध्ययनहरूले देखाएका छन् ।

फोक्सोको क्यान्सरको मूल कारण सूर्तिजन्य पदार्थको सेवन हो । नेपालमा प्रत्येक दिन सुर्तीजन्य पदार्थको सेवनले ७५ जनाको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले कार्डियोभासकुलर, क्यान्सर रोग तथा फोक्सोको क्यान्सर आदि लाग्ने गर्दछ । त्यसो त, वातावरणीय धुँवा तथा प्रदूषणले पनि फोक्सोको क्यान्सर लाग्ने क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही बताउँछन् ।

फोक्सोमा क्यान्सर हुनु भनेको यसका कोषिका अनियन्त्रित भई एक ठाउँबाट अर्को ठाउँमा जानु हो । यस्तो क्यान्सर ५० देखि ५५ उमेरमाथिका समूहलाई बढी देखिन्छ । नेपालको सन्दर्भमा फोक्सोको क्यान्सरका बिरामी दैनिक बढिरहेका छन् । यसको मुख्य कारण धुम्रपान, वायु प्रदुषण, धुँलो, धुँवा हो । विश्वको तथ्यांक हेर्ने हो भने फोक्सोको क्यान्सर महिलाभन्दा पनि पुरुषमा बढी देखिन्छ । किनभने, धुम्रपानको अम्मली महिलाभन्दा पुरुष धेरै हुन्छन् ।  निर्माण, कारखाना तथा इँटा भट्टालगायतमा बढी मात्रामा पुरुषले श्रम गर्ने भएकाले पनि उनीहरूमा क्यान्सरको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ ।

तथापि, महिलामा फोक्सोको क्यान्सर देखिदैन् भन्न नमिल्ने डा. शाही बताउँछन् । उनका अनुसार, महिलामा फोक्सोको क्यान्सर धुम्रपान तथा वंशाणुगत कारणले हुने गरेको छ । समयमै पहिचान गरेर उपचार गरे क्यान्सर मधुमेह, प्रेसर र थाइराइडभन्दा राम्रोसँग निको हुने डा. शाहीको भनाइ छ । तर पहिचान र उपचारमा ढिलाइ गरिए भयावह र जटिल पनि हुन सक्छ । रगतको क्यान्सरको बिरामीलाई दिइने कार्टिसेल थेरापी, प्रोस्टेट क्यान्सरमा लाग्ने रोबोटिक सर्जरी, रेडियो थेरापीमा प्रयोग गरिने प्रोटोन थेरापीको उपचारबाहेक ९९ प्रतिशत क्यान्सरकाे उपचार नेपालमै हुने उनले बताए । नेपालमा फोक्सो क्यान्सरको उपचार शल्यक्रिया, रेडियोथेरापी र औषधि गरी तीन प्रकारका प्रविधिबाट हुन्छन् । यसको लागत रोग र क्यान्सरको चरणमा भर पर्छ । प्रारम्भिक चरणमा कम खर्चबाट नै उपचार सम्भव छ भने अन्तिम चरणमा धेरै खर्च लाग्छ ।

क्यान्सर रोगको जनचेतनामा कमी भएर ९० प्रतिशत बिरामी अन्तिम चरणमा उपचारका लागि आउने गरेको डा. शाही बताउँछन् । खकारमा रगत आउनु, निरन्तर खोकी लाग्नु, स्वर भासिनु, घाँटी वररिपरि गिर्खा देखापर्नु, तौल घट्नु, छाती दुख्नु तथा पोल्नु आदि फोक्सोको क्यान्सरका लक्षण हुन् ।

९० प्रतिशत क्यान्सर अनियन्त्रित जीवनशैलीका कारण हुन्छन् । यसैले क्यान्सरबाट बच्न जीवनशैली सुधार गर्न जरुरी छ । यसैगरी फोक्सोको क्यान्सरबाट बच्न वर्षको एक चोटि स्वास्थ्यको परीक्षण गर्ने, धुम्रपान नगर्ने, शारीरिीक व्यायाममा ध्यान दिने, धुलो धुँवाबाट बच्ने, मास्कको प्रयोग गर्ने तथा खानपानमा सुधार गर्नुपर्ने उनको सुझाव छ ।

प्रस्तुत छ, फोक्सोको क्यान्सर निम्तिने कारण, बर्सेनि नेपालमा यसको जोखिम र उपचार विधिलगायत विषयमा क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीसँग नेपालवाचकर्मी सलिना ढुंगेलले गरेको भिडियो संवाद :