NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेबाट जितेका पूर्व वडाध्यक्ष कांग्रेस प्रवेश गरे

ललितपुर । एमालेबाट वडाध्यक्ष जितेका एक नेता कांग्रेसमा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदशसभा (१)का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु बिर्सिकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् ।

२ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्सेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

घिमिरेले आजैदेखि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा सक्रिय भएको पनि बताएका छन् ।

२०७४ सालको निर्वाचनमा नवराज सिलवालसँग पराजित भएका उदय शम्सेर राणा यसपटक सत्ता गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार रहेका छन् । ५ दलीय गठबन्धनका उम्मेदवार राणाले यसपटक आफूले जित्नेमा ढुक्क रहेको बताउँदै २०७० सालमा निर्वाचित भएपछि सुरु गरेका कामहरु पूरा गर्ने बताउँदै आएका छन् ।

दक्षिण ललितपुरको विकासका लागि आफ्नो ध्यान केन्द्रित हुने पनि राणाको भनाई रहेको छ ।

वैशाख ३० गतेको निर्वाचन अनुसार ललितपुर १ मा ३० वटा वडा पर्छन् । जसमा नेपाली कांग्रेसले २२ वडा जित्दा माओवादी केन्द्रले ५ वटामा जित निकालेको थियो । यहाँ एमालेले ३ वटा वडामात्रै जितेको छ । कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेले १८ हजार ९९३ र माओवादी केन्द्रले ६ हजार १३३ मत पाएका थिए । झण्डै लोकतान्त्रिक वाम गठबन्धन १० हजार मतले अगाडि रहेको छ ।

एमाले त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका बालमुकुन्द घिमिरेले के भन्छन् ?

‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जव केपी ओलीले संसद विघटन गर्नुभयो, त्यो गैर संवैधानिक कुरा थियो र पार्टी भित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भएपनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ । पछिल्लो दिनमा एमालेले पूर्व पञ्चहरुलाई लिएर गठबन्धन बनायो यसमा मेरो असहमति हो । नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागि सके ।