NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग

काठमाडौं । क्यान्सरसँग जुधिरहेका ३४ वर्षीय आशिष आचार्यलाई नेपाल रेडक्रस केन्द्रीय रक्तसञ्चार सेवाले ‘सिङ्गल डोनर प्लेटलेट’ रक्ततत्व निः शुल्क उपलब्ध गराएको छ ।

विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो । नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा पुगी बिरामीका आमा गङ्गा र बुवा केशवलाई रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल र रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सो रक्ततत्व आज हस्तान्तरण गरेका हुन् ।

बिरामीको अवस्थाबारे जानकारी गराइ अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले सो रगत निःशुल्क उपलबध गराउन रेडक्रससँग सहजीकरण गरेका थिए । ‘पहिला राजीव गान्धी अस्तपताल भारतमा छोरालाई लगेँ, बोनम्यारो फेरियो, त्यसको एक वर्षपछि बारम्बार समस्या आइरह्यो, यहाँ अस्पतालमा आइसकेपछि पनि उपचारका लागि प्लेटलेट धेरै चाहिरहेको र पाउन मुस्किल भइरहेका बेला आज यो नयाँ खालको प्लेटलेट अस्पतालमा ल्याइदिनुभएकामा वरदान नै पाएजस्तो भएको छ’, केशवले भने ।

डेङ्गुको प्रभाव बढेको समयमा केन्द्रीय रक्तसञ्चार सेवाले एफेरेसिस प्रविधिबाट सिङ्गल डोनर प्लेटलेट उत्पादनलाई गति दिएको रक्तसञ्चार निर्देशक पौडेलले जानकारी दिए । नेपालका थोरै स्थानमा मात्रै यो सेवा रहेको छ र यो प्रविधि महँगो छ । डेङ्गु र क्यान्सरपीडितका लागि बढी चाहिनसक्ने भएकाले शुल्कमा सहुलियत गर्न सङ्घीय सरकार, स्थानीय निकायको सहयोगको अपेक्षा रहेको निर्देशक पौडेलले बताए ।

के हो सिङ्गल डोनर प्लेटलेट ?

रक्तदानका क्रममा दाताको शरीरबाट रक्तथैलीमा जम्मा भएको रगतमध्ये प्लेटलेट तत्व मात्र थैलीमा राखी बाँकी सबै रगत दाताको शरीरमा अत्याधुनिक एफरेसिस प्रविधिको मेशिनले फिर्ता पठाइदिन्छ । जुन तत्व चाहिएको हो त्यही तत्वमात्र दाताको शरीरबाट निकालिने र बिरामीलाई पनि चाहिएको तत्वमात्रै दिइने भएकाले यो प्रभावकारी हुने चिकित्सकले जनाएका छन्

। प्लेटलेट तत्व मात्रै पोकामा हुने भएकाले डाक्टरको अनिवार्य सिफारिसमा इमरजेन्सी अवस्थामा जुनसुकै रक्तसमूहका बिरामीलाई पनि यो दिन सकिने हुन्छ । अर्को दान गर्न दाताले तीन महिना कुर्नु नपर्ने यो एफरेसिस प्रविधिको अर्को फाइदा हो । यो प्रविधिबाट हरेक एक÷एक महिनामा रक्तदान गर्न सकिन्छ । यो रक्तदानमा ८० देखि १०० मिनेट लाग्दछ ।

दातालाइ क्याल्सियम कम नहोस् भनेर दानका क्रममा चक्की र अतिरिक्त पोषिलो खानेकुरा दिइन्छ ।

धेरै रगत चढाउनुपर्ने गम्भीर बिरामीका लागि साइटइफेक्ट नहुने र आठ युनिट बराबरको काम एकै पोकाले गर्ने भएकाले सिङ्गल डोनर प्लेटलेट अत्यन्तै लाभदायक हुने चिकित्सक डा प्रकाश यादव बताउँछन् ।

सिङ्गल डोनर प्लेटलेटको समय तीनदेखि पाँच दिनमात्रै हुने भएकाले बिरामीका लागि माग आएपछिमात्रै उपयुक्त डोनर खोजी गरी केन्द्रीय रक्तसञ्चार सेवामा यो प्रविधि सञ्चालन भइरहेको छ । रक्तसञ्चार सेवाका चिकित्सकबाट बिरामी र दाताले यसबारे थप जानकारी लिनसक्ने व्यवस्था मिलाइएको छ ।