NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

गठबन्धनका कारण सिन्धुपाल्चोक २ मा बस्नेतलाई सहज

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा कांग्रेसबाट उम्मेदवार बनेका मोहनबहादुर बस्नेत बलिया देखिएका छन् । कांग्रेसको आफ्नै प्रभाव क्षेत्र, सत्ता गठबन्धनको साथ, एमालेको विभाजन, बस्नेतको विकासवादी नेताको परिचयले तामाङलाई असहज र बस्नेतलाई सहजता देखिएको हो ।

केन्द्रीय राजनीतिभन्दा दुवैको भूगोलसँगको साइनो बढी देखिन्छ । तर यस्तो प्रतिस्पर्धामा पनि बस्नेत अब्बल देखिएका छन् । पटकपटक मन्त्री हुँदा पनि काम गर्न नसकेको भनेर तामाङको आलोचना हुँदा बस्नेत भने मन्त्री हुँदा र नहुँदा पनि गरेको कामबाट चर्चित छन् । मन्त्री र सांसद नै नहुँदा पनि नागरिकसँग जोडिएर सहयोग गर्ने नेताको छवि बस्नेतको छ ।

केन्द्रमा शेरबहादुर देउवा पक्षका बस्नेतको प्रभाव र पहुँच पनि उत्तिकै राम्रो छ । यही पहँचको आधारमा बस्नेतले जिल्लामा राम्रा योजना पार्ने र आफूलाई विकासवादी नेताको रुपमा परिचित गराउन सफल भएका छन् । तर पहुँचमा भएर पनि काम नगर्ने नेताको छवि तामाङले बनाएका छन् ।

अघिल्लो निर्वाचनको परिणाम

२०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक २ बाट एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए । माओवादीसँग मिलेर चुनाव लड्दा तामाङ ८०३२ मतान्तरले विजयी भएका थिए । तर कांग्रेसले आफ्नो उम्मेदवार अघि नसारी राप्रपाका पशुपतिशमशेर राणालाई समर्थन गरेको थियो । तर पनि माओवादीको पनि प्रभाव रहेको सिन्धुपाल्चोकमा तामाङले ३८ हजार ४०१ र राणाले ३० हजार ६६९ मत प्राप्त गरेका थिए ।

यसपटक माओवादी कांग्रेससँगको गठबन्धनमा छ । गठबन्धन हुँदा सिन्धुपाल्चोक १ माओवादीको भागमा पर्दा २ बाट कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत उम्मेदवार बनेका छन् । बस्नेत २०७४ सालमा १ बाट प्रतिनिधिसभामा अग्नीप्रसाद सापकोटासँग पराजित हुन पुगेका थिए । तर यसपटक क्षेत्र छोडेर बस्नेत सिन्धुपाल्चोक २ बाट प्रतिस्पर्धामा उत्रिएका हुन् ।

के छ स्थानीय तहको मतको अवस्था ?

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोक २ भरका वडाध्यक्षतर्फ एमालेले ३१ हजार सात सय ७६, कांग्रेसले २९ हजार ३०२, माओवादीले १६ हजार ७९, राप्रापाले ५९३२ र नेकपा एसले १६३३ मत ल्याएका थिए । सत्ता गठबन्धनको मत ४७ हजार १४ छ । तर एमाले १५ हजार २३८ मतान्तरले पछाडि छ ।

गठबन्धनको साथले बस्नेतलाई जित्न सहज

कांग्रेसको राम्रो मत रहेको क्षेत्रमा माओवादीकोसमेत साथ हुने भएपछि यसपटक बस्नेतलाई चुनाव जित्न सहज देखिएको छ । अझै एमाले विभाजनको असरको फाइदा पनि कांग्रेस उम्मेदवार बस्नेतले उठाउने देखिन्छ ।

बस्नेतको क्षेत्र रहेका पालिकामा कांग्रेसले दुई तह जितेको थियो । चौतारा साँगाचोकगढी माओवादीले जितेको छ । कांग्रेसले जितेका दुई तह क्षेत्र नम्बर २ मा नै पर्छन् । माओवादीले जितेको चौताराका आधा भाग क्षेत्र नम्बर २ मा पर्छन् । एमालेले पनि दुईवटा पालिका जितेको छ । यसैले गठबन्धनको मतमा १५ हजारले अग्रता लिएपछि यसपटक बस्नेतलाई नयाँ क्षेत्र भए पनि चुनाव जित्न सहज हुने देखिन्छ ।

एजेण्डा र काममा बस्नेत अगाडि तामाङ पछाडि

खरो स्वभावका नेता बस्नेत नागरिकका अप्ठ्यारालाई तत्काल समाधान दिने नेताका रुपमा परिचित छिन् । कोभिडको परीक्षण, समयमै मास्क, स्यानिटाइजर बाँडने, परीक्षणमा सहयाेग गर्ने काम नागरिक स्तरमै गरेपछि सिन्धुपाल्चोकभर मात्रै होइन देशैभर बस्नेतको चर्चा भएको थियो । असार २०७८ मा मेलम्चीमा बाढी आउँदा तत्कालै व्यक्तिगत तहबाट पीडितलाई राहत र नगदसमेत बाँडेर बस्नेतले परेको बेलामा काम गर्ने नेताको परिचय बनाएका छन् ।

यति मात्रै होइन बाढीपछिका विस्थापितका ५० बढी बालबाच्चलालाई काठमाडौंको लोएला सेकेण्डरी स्कुलमा निशुल्क पढ्ने व्यवस्था बस्नेतले गरेका छन् । बाढीमा मेलम्चीको रातो पुल बन्ने नबन्ने टुंगो नलाग्दै हेलम्बुमा बस्नेतकै पहलमा बेलिब्रिज बनेको छ । गृहमन्त्री बालकृष्ण खाँडलाई लगेर उद्घाटन गर्दै बस्नेतले पुल बनाउने काम सुरु गरेका थिए । मेलम्चीमा क्षेत्रीय अस्पताल बनाउन पनि बस्नेतले सहयोग गरेका छन् । परेको बेलामा सहयोग गर्ने र चुनाव नजित्दा पनि आफूलाई रुचाउनेको संख्या अत्याधिक भएको बस्नेत बताउँछन् ।

‘अहिले मात्रै होइन पहिले नै यसले जित्न सक्छ भनेर यो क्षेत्रमा मेरो माग थियो । योपटक पनि पार्टीले मलाई जित्छ भनेर यो क्षेत्रमा पठाएका हुन् । गठबन्धन हुँदा पनि म यो क्षेत्रमा आउनुपर्यो । ४८ सालदेखि यो क्षेत्रमा माग थियो । अहिले म उम्मेदवार भएपछि धेरै नागरिक र मतदाता खुशी छन्’ बस्नेत भन्छन्, ‘मैंले लामो समयदेखि जिल्लाको बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरणमा रचनात्मक काम गरेको छु । प्राकृतिक विपत्तिमा मैंले गरेको कामबाटसमेत नागरिक खुसी र सन्तुष्ट छन् ।’

आफ्नो कामबाट नागरिकमा उत्साह देखिएको भन्दै उनले एमाले र राप्रपाकै कार्यकर्ताले पनि भोट हालेर जिताउने बताए ।

‘म यता उम्मेदवार भएर आएपछि एमाले र राप्रपाका नेता कार्यकर्ता पनि खुशी भएका छन् । भोट हालेर तपाईंलाई नै जिताउने हो भनिरहेका छन्’ बस्नेत भन्छन्, ‘प्रदेशमा माओवादीका प्रभावशाली र जनतासँग नजिक रहेर काम गरिरहनुभएका युवराजजी उम्मेदवार हुनुहुन्छ । अर्को प्रदेशसभामा कांग्रेसकै युवा नेतालाई उम्मेदवारको रुपमा अघि सारिएको छ । गठबन्धनको शक्ति र एमाले र राप्रपाको तानातानमा म सजिलै यसपटकको चुनाव धेरै मत ल्याएर जित्छु भन्नेमा ढुक्क छु ।’

माओवादीसँगको तालमेलमा उनले यसपटक क्षेत्र फेनुपरेको छ । तर उनले पूरै जिल्लालाई लक्षित गर्दै परोपकारी काम गर्दै आएका छन् । विपक्षीले टुरिस्ट उम्मेदवार भने पनि उनले आफ्नो कर्मले जनतालाई प्रभाव पार्ने दाबी गर्दै आएका छन् । कुनै समय माओवादीका कटु आलोचक भए पनि मिलेर चुनाव लड्न उनी आफैंले अहिले वातावरण बनाइरहेका छन् ।

बस्नेतको प्रदेशमा माओवादी र कांग्रेसका एकएक उम्मेदवार छन् । प्रदेश १ मा माओवादीका चर्चित अनुहार युवराज दुलाल उम्मेदवार छन् । कांग्रेसको तर्फबाट कृष्णकुमार तामाङ समीर प्रदेशसभा २ मा उम्मेदवार छन् । तामाङ बाहुल्यता भएको क्षेत्र हुनाले कांग्रेसले २९ वर्षका युवा उम्मेदवार अघि सारेको छ । यसैले युवा उम्मेदवार अघि सारेर बस्नेतलाई आफूलाई फरक नेता देखाएका छन् । अघिल्लोपटक एमाले र माओवादीको गठबन्धन हुँदा पनि एक प्रदेशसभा कांग्रेसले जितेको थियो ।

यता बस्नेतका प्रतिस्पर्धी शेरबहादुर तामाङ प्रायः सधैं उम्मेदवार बन्ने, जित्ने र केही नगर्ने नेताको रुपमा परिचित छन् । तर उनी यसलाई नकार्छन् । भौतिक पूर्वाधारमा विकास र शतप्रतिशत विद्युतीकरण गरिएको दाबी उनी गर्छन् ।

‘जिल्लाभर शतप्रतिशत विद्युतीकरण भएको छ । खानेपानी पनि शतप्रतिशत हुने क्रममा छ । शिक्षा र स्वास्थ्यमा पनि काम भएका छन् । बाटोघाटोको विकास पनि उत्तिकै भएको छ । हामीले बिजुली छुटको लागि काम गरिरहेका छौं’ तामाङ भन्छन्, ‘स्थानीय उत्पादनको बजार र कोदोको रक्सीको अन्तर्राष्ट्रिय ब्राण्डिङ, कृषिमा आधारिकत उद्यमशीलतासहितका विषयमा काम गर्ने मेरा एजेण्डा छन् । सुनकोशीमा हाइड्रोपावर, मेलम्ची पीडितका लागि काम गर्ने पनि मेरो प्रमुख एजेण्डामा छ ।’ सिन्धुपाल्चाेकमा विकासकाे जग आफूले हालेको दाबी तामाङ गर्छन् ।

आफ्नोविरुद्ध गठबन्धन भए पनि को उम्मेदवार छन् भनेर नहेरेको उनी बताउँछन् ।

‘मेरो विरुद्ध गठबन्धन छ थाहा छ । सक्ने भए एक्लै भिड्न आउँथे । एमालेको शक्ति देखेरै गठबन्धन गरेका हुन्’ उनी भन्छन्, ‘यसैले गठबन्धन छ र प्रतिस्पर्धी को छन् भनेर हेर्दिनँ । एमालेले गरेका कामका आधारमा एकल बहुमत दिनुस् भनेर मतदातासमक्ष गएको छु । आफू ठीक भएपछि प्रतिस्पर्धी नराम्रा छन् भनेर देखाउनै पर्दैन । अर्कालाई होचो देखाएर आफू अग्लो हुनु छैन मलाई ।’ देशभर राप्रपासँग एमालेले तालमेल गरेको भन्दै सिन्धुपाल्चोकमा पनि राप्रपाको सहयोग मिल्ने बताए ।

उनी २०६४ मा उम्मेदवार बन्दा सय मतले पराजित भएका थिए । २०७० र २०७४ मा माओवादीको सहयोगमा चुनाव जिते । ३० वर्षसम्म चुनाव लडेर दुईपटक जिते पनि जित्दा काम गर्न नसकेको आरोप उनीमाथि छ । आफू पटकपटक उम्मेदवार बन्ने तर पार्टीमा अरुलाई अवसर नदिने नेताको रुपमा उनी परिचित छन् । आफूमात्रै अघि सर्ने तर नेता उत्पादन नगर्ने र अरुलाई अवसर नदिएको भन्दै एमालेकै नेताहरू उनीसँग आक्रोशित छन् । २०७४ मा माओवादीको साथमा चुनाव जितेर स्वास्थ्य र कानुनमन्त्री भए पनि उनले कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुनेगर्छ । बरु मन्त्री हँदा सम्वेदनशील विषयमा हचुवामा टिप्पणी गर्दा उनको मन्त्री पद नै गएको थियो । बंगलादेशमा पढ्ने छात्राहरूबारे तामाङले दिएको अभिव्यक्ति विवादमा परेको थियो ।

यतिमात्रै होइन कुनै व्यवहारिक भन्दा गाँजा र रक्सीको मात्रै कुरा गर्छन् भनेर पनि तामाङ आलोचित हुँदै आएका छन् । स्वास्थ्य र कानुनमन्त्री भन्दा पनि कुनै देखिने गरी काम गर्न नसकेको आरोप उनीमाथि लाग्ने गरेको छ । हेलम्बुमा पुल बनाउन खोज्दा बन्दैन भनेर तामाङले बस्नेतको प्रयासको आलोचना गरेका थिए । तर मेलम्चीमा पुल बनाउन कुनै अग्रसरता देखाएनन् । यसले पनि उनको कमजोरी देखाउँछ । हेलम्बुमा पुल बन्दैन भनेर उनले भाषण गरे पनि बस्नेतले सक्रियता देखाएर पुल बनाउन सहजीकरण गरेका थिए ।

यतिमात्रै होइन एमाले विभाजनको बेला तामाङले दोहोरो चरित्र देखाएको आरोप छ । पहिले माधव नेपाललाई साथ दिने घोषणा गरेका उनी पार्टीमा अवसर दिने भएपछि ओलीतिर लागेका थिए । यसैले माधव नेपाल पक्षका नेताको सद्भाव र सान्त्वनाको एक भोट पनि उनलाई जाने अवस्था नभएको उनको क्षेत्रमा नभएको एक नेता बताउँछन् ।

प्रदेशसभा तर्फको टिकट एमालेकै सक्रिय नेतालाई नदिई तामाङले माओवादीबाट आएकालाई दिएपछि एमालेकै नेताहरू रिसाएका छन् ।
बस्नेतले मेलम्चीको बाढीपछि राहत र विकासलाई मुख्य एजेण्डा बनाएका छन् । २५ वटा बाटो कालोपत्र गर्ने, पर्यटकीय क्षेत्र विस्तार गरेर यो क्षेत्रलाई परिरिचत बनाउने उनको एजेण्डा छ । तामाङले पनि मेलम्ची बाढी पीडितकै विषयलाई पहिलो प्राथमिकतमा राखेका छन् ।

तामाङले पनि पूर्वाधारको विकास, पर्यटन क्षेत्रको विस्तार, मेचम्चीको बाढीपछि सहयोग, उद्यमशीलता जस्ता पक्षलाई प्राथमिकतामा राखेका छन् ।

राप्रपा, राप्रपा नेपाल, नेमकिपासहित केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । राप्रपाको सहयोग आफूलाई पुग्ने दाबी शेरबहादुर तामाङको छ ।