NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लोक सेवा प्रश्न- निजामती सेवाको व्यावसायिकतामा कस्ता समस्या छन् ?

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले नेपालको निजमती सेवामा व्यवसायिकतामा देखिएका समस्याबारे प्रश्नको समाधान पहिल्याउनुभएको छ ।

१. नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा देखिएका समस्याबारे उल्लेख गर्दै निजामती सेवालाई अनुशासन र आचारणयुक्त बनाउनका निम्ति गरिएका प्रयासहरूबारे चर्चा गर्नुहोस । ४+६ =१०

निजामती सेवामा व्यावसायिकताका समस्या : अनुशासन र आचारणयुक्त बनाउनका गरिएका प्रयास

१. विषय प्रवेश

कुनै खास पेसा वा व्यवसायमा आबद्ध व्यक्तिहरूको उक्त पेसाका निम्ति आवश्यक हुने विज्ञता, सक्षमता, सीप तथा अपेक्षित व्यवहार र नैतिक आचरणको समग्रतालाई व्यावसायिकता भनिन्छ । अनुशासन र आचरणयुक्त प्रशासन संयन्त्रबाट मात्रै व्यावसायिकता प्रदर्शन हुनसक्ने भएकाले यसमा विद्यमान समस्याको खोजी गरी निजामती सेवालाई पूर्ण अनुशासन र आचारणयुक्त बनाउन भएका प्रयासहरूको विश्लेषण हुनु अपरिहार्य छ ।

२. नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा देखिएका समस्याहरू

राज्य संयन्त्र प्रभावकारी सञ्चालन हुनका लागि निजामती सेवा व्यावसायिक बन्नु अपरिहार्य रहेको सन्दर्भमा यसमा विद्यमान समस्याहरूलाई देहायअनुसार प्रस्तुत गरिएको छ :

 उचित जिम्मेवारी र कार्यविभाजन नहुनु
 सही समय र स्थानमा सही व्यक्तिको पदस्थापन नहुनु
 रचनात्मक र उत्साहवद्र्धक कार्य वातावरण नहुनु
 गतिशील नेतृत्वको अभाव हुनुका साथै सबल नेतृत्वको समेत सही मूल्यांंकन नहुनु
 कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ नहुनु
 जवाफदेहिता र उत्तरदायित्वको पक्ष कमजोर हुनु
 कर्मचारीमा उत्प्रेरणा र मनोबलको अभाव देखिनु
 अनुशासन र आचरणको पक्ष कमजोर हुनु
 दण्ड र पुरस्कारको प्रणाली वस्तुपरक तथा प्रभावकारी नहुनु
 सकारात्मक र नवप्रवर्तनकारी कार्यलाई उचित प्रोत्साहन नहुनु
 तालिम तथा क्षमता विकासका कार्यक्रमहरू बढी सैद्धान्तिक हुने
 राजनीतिक दबाब र प्रभावमा कार्य गर्नु पर्ने अवस्था रहनु

३. निजामती सेवालाई अनुशासन र आचारणयुक्त बनाउनका निम्ति गरिएका प्रयासहरू

व्यावसायिक निजामती सेवाको विकासका लागि अनुशासन र आचारण अपरिहार्य भएको सन्दर्भमा यस सेवालाई अनुशासन र आचारणयुक्त बनाउन गरिएका प्रयासहरू देहायअनुसार रहेका छन्–

संवैधानिक व्यवस्था

 प्रस्तावनामा नै कानूनी राज्यको अवधारणा र सुशासनप्रतिको प्रतिबद्धता
 निर्देशक सिद्धान्तमा अनुशासन र मर्यादामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने उद्देश्य

कानूनी व्यवस्था

 निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० मा भएको कर्मचारीको आचारसंहिताको व्यवस्था र दण्ड, सजायको व्यवस्था
 भ्रष्टचार निवारण ऐन, २०५९
 सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली २०६५
 निजामती सेवाका कर्मचारीको आचारणसम्बन्धी नियमावली, २०६५
 सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक कर्मचारीको आचारसंहिता, २०६८
 संसद् सेवा, स्वास्थ्य सेवा, न्याय प्रशासन, सुरक्षा निकाय, शिक्षक सेवालगायतका सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा तत्तत् क्षेत्रलाई व्यवस्थित गर्नका लागि आचारसंहिताको निर्माण गरिएको

संस्थागत व्यवस्था

 आचारसंहिता र अनुशासनविपरीत कार्य गर्ने कर्मचारीहरूलाई कारबाही गर्नका लागि प्रशासकीय अदालत, सैनिक अदालत तथा अन्य न्यायिक निकायहरू
 अख्तियार दुरूपयोग अनुसन्धान आयोग, म.ले.प, लोक सेवा आयोग
 राज्य व्यवस्था तथा सुशासन समितिलगायत संसदीय समितिहरू
 राष्टिय सर्तकता केन्द्र
 सार्वजनिक खरिद अनुगमन कार्यालय
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा मन्त्रालय, विभाग
 विभिन्न तहका अनुगमन, मूल्यांकन समिति तथा शाखाहरू

अन्य व्यवस्थाहरू

 अनुशासन र आचारसंहिताको पालनालाई सुदृढ गराउन निजामती पुरस्कारको व्यवस्था
 अध्ययन, तालिम, गोष्ठिका अवसर प्रदान गरी उत्प्रेरित गर्ने प्रयास
 अनुशासन र आचारसंहिताको उल्लंघन गर्नेलाई दण्डको व्यवस्था

४. निष्कर्ष

नेपालको निजामती सेवामा व्यावसायिकताका सन्दर्भमा माथि प्रस्तुत गरिएकालगायत समस्याहरू विद्यमान रहेका सन्दर्भमा अनुशासन र आचारसंहितामा प्रवद्र्धन गर्न उल्लेखित प्रयासहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी व्यावसायिक र जनमैत्री निजामती प्रशासन आजको अपरिहार्यता हो ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

विभिन्न व्यक्तिले यसअघि सुझाउनु भएको समाधान पढ्न यहाँ क्लिक गर्नुहोस्