NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते
मन्थन

अविकास छिचोलेर विकासमा पुग्ने बाटो

विश्वका आर्थिक गतिविधि झल्काउने, विकासोन्मुख मुलुकहरूले सामना गरिरहेका समस्या र विकास (अविकास ?) अवस्था (सूचक) बोध गराउने थुप्रै प्रतिवेदनहरू विभिन्न संस्थामार्फत वार्षिक रूपमा प्रकाशनमा आउँछन् । मानव विकास प्रतिवेदन, विश्व विकास प्रतिवेदन, शासकीय अवस्था प्रतिवेदन, वातावरणीय अवस्था प्रतिवेदन, महिला विकास प्रतिवेदन, प्रविधि ग्रहण प्रतिवेदन, पारदर्शिता र सूचना प्रतिवेदन आदिले विकासका समष्टिगत वा विषयगत अवस्थाको स्तरलाई प्रकाशन गरिरहेको हुन्छ । यस्ता प्रतिवेदनले विकासका लागि सरोकारवाला संस्था र पात्रलाई नैतिक दबाब पनि दिइरहेको हुन्छ । त्यसो नगरे प्रतिवेदन र अध्ययनको महत्त्व पनि रहँदैन । यस्ता प्रतिवेदनहरूको साझा निष्कर्ष के छ भने, केही मुलुकहरू विकास प्रक्रियामा निकै पछि छन्, रोग, भोक, अभावमा पिल्छिरहेका छन् । अझ भनौं, धेरैजसो मुलुकहरू अविकासमा छन् ।

तर यस्ता प्रतिवेदनमा केचाहिँ उल्लेख गरिँदैन भने मुलुकहरू पछि पर्नु वा अविकासको खास कारणहरू के–के हुन् ? अविकासबाट विकासमा जाने बाटो कस्तो हुनुपर्छ ? अविकासका समस्या देश विशेषका छुट्टाछुट्टै छन् कि साझा प्रकृतिका छन् ? साथै मुलुकहरूलाई विकासमा पु-याउन विश्वसंस्था र अन्य मुलुकहरूको पनि दायित्व हुन्छ र त्यो कसरी निर्वाह गर्ने भन्ने विषयमा पनि प्रतिवेदनहरू प्रायः मौन रहन्छन् । मुलुकलाई विकासमा पु-याउने प्राथमिक दायित्व आन्तरिक विषय हो । तर समकालीन विश्वमा विकास ‘साझा आवश्यकता’ (कमन ग्लोवल गुड्स) हो र अविकासचाहिँ ‘साझा शत्रु’ (कमन ह्युमन इनेमी) । त्यसैले अल्पविकसित मुलुकहरू गरिब बिरामीमाथि शिक्षण अस्पतालका प्रशिक्षार्थी स्वास्थ्यकर्मीले परीक्षण गरेझै प्रेस्क्रिप्सनको प्रयोगशाला बन्नु हुँदैन । यस प्रवृत्तिले प्रतिवेदनका खात त हुन्छन्, तर निदानको उपाय सुझाउन मद्दत गर्दैनन् । यसो भइरहे प्रतिवेदनका महत्त्व नहुने मात्र होइन, विकास मानवीकृत हुने समस्या बढ्न सक्छ ।

मुलुकहरूलाई विकासमा पु-याउन विश्वसंस्था र अन्य मुलुकहरूको पनि दायित्व हुन्छ र त्यो कसरी निर्वाह गर्ने भन्ने विषयमा पनि प्रतिवेदनहरू प्रायः मौन रहन्छन्

भनिरहन परोइन, अल्पविकसित मुलुकहरू विपन्नता, वञ्चिती र अभावमा छन् । तर मौलिक रूपमा नै यी समस्या समाधान गर्ने सामथ्र्य त्यहाँ नभएको भने होइन । नेल्सन मण्डेलाले भनेझै समस्याहरू संस्था निर्मित छन् र मानवीय प्रयत्नबाटै समस्याको निकास निस्किन्छ । केही संरचनागत र केही मूल्यसंस्कृतिगत कारण भएका प्रचूर सम्भावना पनि उपयोगमा नआएर अविकासमा देखिएको हो । कुनै भूगोल, क्षेत्र, वर्ग, व्यक्ति मात्र होइन भू–गर्भ र त्यसको परिवेश पनि आफैंमा सम्भावनाका भण्डार हुन् । कमजोर शासन र हीन मनोविज्ञान अल्पविकसित मुलुकका खास समस्या हुन्, जसले सम्भावना हुँदाहुँदै समृद्धिलाई अलग्याएको छ । प्रविधि, पुँजीजस्ता विषय शासकीय सबलताको स्तर र सकारात्मक मनोविज्ञानले सिर्जना गर्ने कुरा हुन् । अरूको सहयोग र दान दातव्यले समृद्धि सम्भव नै हुँदैन, चाहे त्यो व्यक्तिगत तहमा होस वा राष्ट्रिय तहमा ।

प्रत्येक विकसित मुलुक र उदीयमान अर्थतन्त्रको पृष्ठभूमिमा आफ्नै प्रयास र शासकीय सफलताको कथा छ । चीनको समृद्धि देङको दृष्टिकोण र शासकीय कुशलताको उपज हो । हु जिनताओ र सी चिनफिङले देङ रणनीतिलाई गतिशील अनुशासनको नेतृत्व दिइरहेका छन् । दक्षिण कोरियामा पार्कले, सिंगापुरमा लीले विकास नेतृत्वमा देखाएको चमत्कारमा उच्च तहको राष्ट्रिय निष्ठा र त्यसलाई सहयोग गर्ने प्रणाली निर्माण थियो । महाथिरले विकासका लागि दृढ इच्छा शक्तिसहितको दृष्टिकोण चाहिन्छ भन्ने देखाए, मलेसिया पनि विकास सुशासनमा अब्बल देखियो । अहिले हामीले देखे, पढेजस्तो सरल साहित्य विकास उपलब्धिमा पक्कै थिएन् ।

सारमा भन्दा दृढ नेतृत्व, आक्रामक प्रशासन, उत्पादनशील निजीक्षेत्र, स्वयं परिचालित सामुदायिक संरचना एवं सहयोगी जनताको विश्वासिलो अन्तरक्रिया नै सवल संस्थात्मक परिवेश हो

विकास र समृद्धिको यात्रा रेखीय हुँदैन, सरल पनि हुँदैन । यसका लागि लगातारको लगाव, निष्ठा र क्रियाशीलता चाहिन्छ । यो बुझाइ र वृत्ति नहुँदासम्म अविकासको विकास भएरै रहन्छ, समृद्धि र रूपान्तरण निकै जटिल बन्छ । भएका सीमित प्राप्ति पनि दिगो रहँदैनन् । वैयक्तिक जीवनमा पनि अरूको सहयोग र दानबाट दिगो उपलब्धि कसले हासिल गरेको छ र ? विश्वका स्थापित विकास प्रणेता, आविष्कारक, धनी मानिसहरू आफ्नै प्रयत्न र पसिनाको अनवरत लगानीबाट नै स्थापित भएका हुन् । अल्पविकसित मुलुकका विकासविद्, नीतिकर्मी, राजनीतिज्ञ, प्रशासक र यिनीहरूलाई पहरेदारी गर्ने नागरिक समाज भनिनेहरू सबैजसोले यो कुरा बुझेका छन् । तर वृत्तिमा त्यसलाई अवलम्बन गर्न चाहँदैनन् । किनकि, यो जटिल छ र निरन्तरको समपर्ण पनि चाहिन्छ । त्यसैले भन्ने गरिन्छ, अल्पकिसित मुलुकका विकास पात्रहरूको संस्कार (डिएनए) परिवर्तनबिना अविकासबाट विकासमा जान सकिँदैन । क्षमता भएर मात्र हुँदैन, इच्छा र अठोट झनै जरुरी हुन्छ ।

केही संरचनागत र केही मूल्यसंस्कृतिगत कारण भएका प्रचूर सम्भावना पनि उपयोगमा नआएर अविकास देखिएको हो

अल्पविकसित मुलुकहरू किन अविकासमा रहे भन्ने विश्लेषणका सन्दर्भमा विकासे अर्थशास्त्रीहरू मत्यैक्य छैनन् । कतिपय अर्थशास्त्रीहरू अविकासको मूल कारण आधुनिकीकरण हुन नसक्नु हो भन्ने गर्दछन् । कतिपय निर्भरता बढेर विकास नभएको मान्दछन् । केहीले गरिबी र असमानता अविकासमा मूल कारण मान्दछन् ।
यी भनाइ अमूर्त पनि छन् । यी शास्त्रीय अर्थशास्त्रीय धारणा अविकासका कारण नभई परिणाम हुन् । मानवतावादी अर्थशास्त्री अमत्र्य सेन मानवीय क्षमता निर्माणले मात्र गरिबी घट्छ भनी घुमाउरो पाराले मानवीय क्षमता निर्माण नहुनुलाई अविकासको कारण मान्दछन् । महबूव उल हक मानवीय चयन क्षमता विस्तार गरेर नै मानव विकास प्राप्त गर्न सकिन्छ भन्दछन् । उनका अनुसार सबैखाले मानवीय समस्या समाधानको एकमुष्ट अस्त्र मानव क्षमता हो । राष्ट्रसंघीय विकास पद्धतिमा मानव आकृतिसहितको विकास आवश्यकता औंल्याउने गरिन्छ ।

केही अर्थशास्त्रीहरू संस्था निर्माण हुन नसक्दा मुलुकहरू अविकासको चंगुलबाट उम्किन नसकेको मान्दछन् । उनीहरूको तर्क छ, अमेरिकाको संविधान निर्माण र उसले लिएको आधुनिकीकरणको यात्रा, जेम्स वाटले बास्प इञ्जिन पत्ता लगाएको समय, आदम स्मिथले ‘वेल्थ आफ नेसन’ लेखेको समय र नेपाल एकीकरण भएको समय एकै दशकतिरको हो । विकासको पहिलो लहर यसैका आसपासमा आयो, औद्योगिक क्रान्ति भयो, उत्पादन संरचना बदलियो र वैदेशिक व्यापारको निकै विस्तार भई युरोपीय–अमेरिकी मुलुकहरू विश्वभरि तुलनात्मक लाभका क्षेत्रमा फैलिए । पहिलो लहर समाउन संस्थात्मक क्षमता भएका मुलुकहरू आर्थिक विकासको शिखरमा पुगे । दोस्रो लहर एक शताब्दीपछि साठीको दशकतिर सुरु भयो । दक्षिण कोरिया, चीन, सिंगापुर, मलेसियाहरू यो लहरबाट लाभान्वित भए । कर्पोरेट गुरिल्लाका रूपमा बहुराष्ट्रिय कम्पनीहरू ग्राहकका नयाँ स्वाद र सन्तुष्टिमा दौडिए, यी मुलुकहरूले उनीहरूलाई स्वागत गरेर भित्र्याए । विकासको छुट्टै मोडेल पनि देखाइदिए । ६० को दशकमा पनि नेपाल र यी मुलुकहरूबीच तुलना गर्न सकिने अवस्था थियो । एकै प्रकारको समस्या भएका मुलुकहरू योजनाबद्ध विकासको ढाँचा आवलम्बन गर्न पुगे ।

हु जिनताओ र सी चिनफिङले देङ रणनीतिलाई गतिशील अनुशासनको नेतृत्व दिइरहेका छन् । दक्षिण कोरियामा पार्कले, सिंगापुरमा लीले विकास नेतृत्वमा देखाएको चमत्कारमा उच्च तहको राष्ट्रिय निष्ठा र त्यसलाई सहयोग गर्ने प्रणाली निर्माण थियो

संस्था निर्माण हुनसक्दा विकासको गति (अवसर) पक्डिन सकिन्छ र प्रगति हुन्छ । नसक्दा गुमेको अवसर गुम्ने नै भयो, फेरि आउने भएन । संस्था निर्माण नै अविकासको चंगुलबाट विकासको यात्रा तय गर्ने रणनीति हो । यो आर्थिक विकासको चर्चित मोडेल होइन । तर अनुभवले यही बताएको छ । विकास, सुशासन र लोकतन्त्रका लागि प्रभावकारी संस्थाहरू जरुरी पूर्वाधार नै हुन् । संस्थाहरू नै प्रणाली विकासका लागि निरन्तर गतिशील हुन्छन् र आविष्कार, नवप्रर्तन, सिर्जना र अन्वेषणमा लागि रहन्छन् । त्यसैले कुनै मुलुक विकसित छ भन्नु त्यहाँ संस्था विकास छ भन्नु हो । यसलाई महत्त्व नदिँदा वा प्राज्ञिक उपयोगको क्षेत्र मात्र बनाउँदा अविकास नै हात लागेको विश्व विकासको इतिहास छ ।

उसो भए संस्था विकास भनेको के हो ? संस्था विकासको प्रक्रिया कस्तो हुन्छ ? यसलाई पनि वौद्धिक उपभोगको अर्थमा व्याख्या नगरी व्यवहारिक रूपमा लिनु पर्दछ । संगठन र संस्थालाई एकै रूपमा पनि बुझ्ने गरिएको छ । संगठनलाई संस्थामा परिणत गर्ने कार्यले संगठन (राज्य प्रणाली) का उद्देश्य पूरा गराउँदछ । संगठनका उद्देश्य पूरा गर्न आवश्यक व्यवस्थित कार्य, कार्यविधि, सिलसिलाबद्ध क्रियाकलाप र यसले निर्माण गर्ने स्वचालित पद्धति नै संस्था हो । अनौपचारिक मान्यता र मूल्य प्रणालीले संगठन र सर्वसाधारणबीच सामाजिक अन्तरक्रिया सम्भव गराउँछ । संगठनलाई संस्था बनाउन निकै प्रयास गर्नुपर्छ । संगठनलाई दिशाबोध गर्न सक्षम नेतृत्व चाहिन्छ, नेतृत्वलाई साथ दिने ऊर्जाशील हातहरू (प्रशासन) चाहिन्छन्, ती हातलाई काम गर्न सघाउने नीति, विधि र वातावरण चाहिन्छ, नीतिलाई अवलम्बन गर्ने नियत चाहिन्छ र यी सबैले स्वाभाविक र स्वचालित कोर्स पहिल्याउने संस्कार चाहिन्छ, जसले नतिजा निर्माण गरी त्यसैलाई टेकेर थप उत्साह र ऊर्जा आर्जन गर्दै भविष्यपथ सुगम बनाउँदै जान्छ । अविकासका चंगुलहरू भत्काउदै जान्छ ।

सारमा भन्दा दृढ नेतृत्व, आक्रामक प्रशासन, उत्पादनशील निजीक्षेत्र, स्वयं परिचालित सामुदायिक संरचना एवं सहयोगी जनताको विश्वासिलो अन्तरक्रिया नै सवल संस्थात्मक परिवेश हो । यस परिस्थितिले नै प्राकृतिक स्रोत, मानवीय साधन (ज्ञानंसीप), पुँजी र प्रविधिलाई आदर्श अभ्यास गराई विकास र समृद्धि सहज, सरल र सतत् बनाउँछ । यसर्थ विकास, समृद्धि र सुशासनका लागि संगठनहरू संस्थामा परिणतको विकल्प छैन, त्यो पनि आक्रामक रूपमा ।

(नेपाल सरकारका पूर्वसचिव मैनाली नेपालवाचका स्तम्भकार हुन् । उनलाई ट्विन्टर ह्याण्डल @mainaligopiमा भेट्न सकिन्छ ।)

मैनालीका यसअघि प्रकाशित लेख तथा अनुभूति पढ्न यहाँ क्लिक गर्नुहोस्