NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मकवानपुर १ मा डिनालाई छैन डर, कमल थापालाई एमालेको भर

काठमाडौं । वागमती प्रदेशको राजधानीकाे जिल्ला मकवानपुर १ बाट कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ४ मंसिरको चुनावमा बलियो उम्मेदवार देखिएकी छिन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार हुनु र एमालेको आफ्नै उम्मेदवार नहुनुले डिनालाई बलियो देखाएको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको समर्थन र सहयोग डिनालाई छ । डिनालाई गठबन्धन हुँदा डर देखिएकाे छैन । तर कमल थापालाई भने एमालेको मात्रै भर देखिएको छ ।

प्रतिस्पर्धी दल एमालेले यो क्षेत्रमा उम्मेदवारी दिनै चाहेन । एमालेले राप्रपा नेपालका कमल थापालाई समर्थन गरेको छ । महालक्ष्मी डिनाविरुद्ध राप्रपा नेपालका कमल थापा एमालेको चुनाव चिन्हबाट उठ्दैछन् । २०७४ मा थापालाई कांग्रेसले उम्मेदवारी नदिई समर्थन गरेको थियो । तर एमाले उम्मेदवारसँग थापा पराजित हुन पुगेका थिए । यसपटक कांग्रेसको शरणमा गएका थापा यसपटक एमालेको शरणमा मात्रै उसैको चुनाव चिन्ह रोज्न बाध्य भएका छन् ।

यस्तो छ अघिल्लोपटकको चुनावी परिणाम

मकवानपुर १ मा २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेका कृष्णप्रसाद दाहालले कमल थापालाई नै पराजित गरेका थिए । दाहाल ५९७३ मतान्तरले विजयी भएका थिए । दाहालले ४०६३१ र थापाले ३४६५८ मत प्राप्त गरेका थिए । थापा अघिल्लोपटक कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । तर अघिल्लोपटक ठूलो दलका रुपमा कांग्रेसले समर्थन गर्दा पराजित भएका थापा यसपटक फेरि एमालेको शरणमा पुगेर उसैको चुनाव चिन्हबाट उठेका हुन् ।

स्थानीय तहको मतमा गठबन्धन धेरै बलियो

सत्ता गठबन्धनले गत ३० वैशाखमा भएको निर्वाचनसमेत मिलेर लडेका थिए । जसमा एमालेविरुद्ध गठबन्धन देशैभरि र प्रमुख ठाउँमा निर्वाचित भएको थियो । मकवानपुरको हेटौडा उपमहानगरपालिका पनि सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीले जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा मकवानपुर १ भरका वडाध्यक्षतर्फ एमालेले ३८०५६, कांग्रेसले ३४०७२, माओवादीले १६५४२, राप्रपाले ४०७० र नेकपा एसले ३२८३ मत प्राप्त गरेका थिए । यो मतका आधारमा पनि सत्ता गठबन्धन ५३८९७ मतका साथ अगाडि देखिएको छ । जबकी एमाले १५८४१ अर्थात झण्डै १६ हजार मतान्तरले पछाडि देखिएको छ ।

यही एमालेको सहयोगमा थापा उम्मेदवार बनेका छन् । तर राप्रपाको अध्यक्षमा निर्वाचित हुन असफल भएपछि थापाले पार्टी नै परित्याग गरी राप्रपा नेपाल फेरि ब्युत्याएका थिए । यसैले राप्रपाको संस्थापन पक्षको भोट पनि थापाले नपाउने सो क्षेत्रकै नेता कार्यकर्ता बताउँछन् ।
यतिमात्रै होइन यही क्षेत्रसमेत हेटौडा उपमहानगरपालिकाबाट ३० वैशाखको स्थानीय तहको चुनावमा उठेका राप्रपाका नेता दीपकबहादुर सिंह पनि चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तहमा थापा तेस्रो भएर पराजित भएका थिए । नेकपा एसकी मीनाकुमारी लामा २३०७५ मत ल्याएर विजयी भएकी थिइन् । एमालेका अनन्तप्रसाद पौडेलले २०९०८ मत प्राप्त गरेका थिए । तेस्रो भएका राप्रपाका सिंहले पनि २०५३१ मत प्राप्त गरेर दुवै उम्मेदवारलाई कडा चुनौती दिएका थिए । यसपटक कमल थापाविरुद्ध सिंह पनि प्रतिस्पर्धामा रहेकोले राप्रपाको भोट सहजै बाँडिने देखिएको छ ।

पहिले राप्रपामै भए पनि राजेन्द्र लिङ्देनसँग पराजित भएपछिको नतिजा स्वीकार्न नसकेर थापा भागेको भन्दै उनको आलोचना हुने गर्छ । आफ्नो विरासत छोडेर एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेपछि थापा झन् आलोचित मात्रै छैनन् बदनाम नै भएका छन् । थापाले पहिले राजावादी छवि बनाएर धेरै व्यक्तिगत स्वार्थशिद्ध गरेका थिए । दोस्रो जनआन्दोलन दबाउन तत्कालीन गृहमन्त्री हुँदा थापाको भूमिका विवादित पनि बनेको थियो । तर राप्रपा अध्यक्ष बन्न असफल भए पछि पूर्व राजाविरुद्ध नै थापाले विषवमन गर्दै आएका छन् ।

जनआन्दोलन दबाउन राज्यसत्ताको चरम दुरुपयोग गरेयता थापाले प्रतिगामी नेताको छवि बनाएका छन् । पहिले यस्तो छवि बनाएका उनले पार्टीलाई आफ्नै मुद्दामा अघि बढाउन नसकेको, कहिले कांग्रेस र त कहिले एमालेको शरणमा पुगेको भन्दै राप्रपाकै कार्यकर्ताहरू यसपटक थापाको विरुद्धमा खनिएका छन् । यसैले थापालाई पार्टीभित्रैबाट समर्थन छैन । राप्रपाको परम्परागत भोट पनि उनले पाउने अवस्था छैन । पहिले थापाले राप्रपाकै उम्मेदवारसँग पहिलो प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्रै डिनाका प्रतिस्पर्धी देखिन्छन् ।

एमालेभित्रको चरम असन्तुष्टि

एमाले यो क्षेत्रमा कांग्रेसको प्रतिस्पर्धी हो । अघिल्लोपटक माओवादीको साथ पाउँदा सहजै जितेको पनि थियो । यसपटकको स्थानीय तह निर्वाचनमा यो क्षेत्रभरका वडाध्यक्षतर्फ एमालेले ३८०५६ मत ल्याएको थियो । तर यतिधेरै मत ल्याएको पार्टीका कार्यकर्ताले आफ्नै दलको नेतालाई भोट हाल्न पाउने छैनन् । सूर्य चिन्हमा भोट हाल्न पाए पनि भोट हालेका नेता आफ्नो दलका होइन पूर्व पञ्च र प्रतिगामी छवि बनाएका नेता छन् भन्ने मानसिकता एमालेका कार्यकर्ताहरूमा देखिन्छ । आफ्नै दलको उम्मेदवार नभएपछि थापालाई एमालेका कार्यकर्ताले खुलेर समर्थन गर्न सक्ने अवस्था यसपटक मकवानपुरमा छैन । प्रदेशसभामा एमालेका उम्मेदवार भए पनि सबैभन्दा बढी भोट भएकै ठाउँमा आफ्नै उम्मेदवार नभएपछि एमालेका नेता कार्यकर्तामा खिन्नता छाएको छ ।

केन्द्र र भूगोलको राजनीतिमा संयोजनकारी डिना

मकवानपुरमा कांग्रेस संगठन र मतमा पनि बलियो देखिंदै आएको छ । यसपटक सत्ता गठबन्धन १५ हजार मतान्तरले अगाडि हुनु, एमालेको आफ्नै उम्मेदवार नहुनु, राप्रपा विभाजित भएर आ–आफ्नै उम्म्मेदवार हुनु, नेकपा एस र माओवादीको पनि प्रभाव क्षेत्र हुँदा यसपटक डिनालाई मकवानपुर १ बाट चुनाव जित्न निक्कै सहज देखिएको छ । कांग्रेस केन्द्रीय पदाधिकारी हुनुको फाइदासमेत डिनालाई छ । एमाले र राप्रपाको पुरानो प्रभाव क्षेत्र रहे पनि विकास र निर्माणमासमेत अपेक्षित सुधार गर्न नसकेको आरोप उनीहरूलाई छ । यसैले यसपटक जुझारु नेता र केन्द्रमा पहुँचवाला नेता हुनुको फाइदा पनि कांग्रेसकी डिनाले उठाउने देखिन्छ ।

यसपटकको निर्वाचन संविधान, लोकतन्त्र, विकास समृद्धि कि प्रतिगमन र लोकतन्त्रविरोधीले जित्ने भन्ने फैसला भएको डिना बताउँछिन् । लोकतन्त्र र संविधान मास्न खोज्नेविरुद्ध देशैभर गठबन्धन बनाएर अघि बढ्नुपरेको तर्क उनी गर्छिन् ।

‘संविधानमा हस्ताक्षर नगर्ने पनि अहिले चुनावी प्रतिस्पर्धामा छन् । तर म संविधान बनाउने लागें । त्यसमा हस्ताक्षर गरेकी महिला हुँ । संविधान नै मान्दैनौं, लोकतान्त्रिक गणतन्त्र नै मान्दैनौं भन्ने पनि चुनावमा होमिएका छन् । गणतन्त्र र लोकतन्त्र मान्दिनँ भन्नेलाई प्रश्न गर्नुपर्ने होइन ?’ आफ्ना प्रतिस्पर्धी उम्मेदवार थापातिर लक्षित गर्दै उनी भन्छिन्, ‘यो देशको संविधान र लोकतन्त्र कसैले रक्षा गर्छ भने त्यो कांग्रेस र अहिलेको सत्तारुढ गठबन्धनले गर्ने हो । अरुले संविधान र व्यवस्थामा धावा बोल्दै कसरी निर्वाचित संसद् मासे सबैले देखेका छन् । यसैले यसपटक सत्ता गठबन्धनलाई जिताएर लोकतन्त्रलाई थप सुदृढ गरी विकास र समृद्धिमा फड्को मार्नुपर्छ ।’

संविधान नै मान्दिनँ भन्नेबाट संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै उनले मकवानपुरको भूगोलबारे आफू धेरै जानकार रहेको बताइन् ।
‘म एउटा उम्मेदवार मात्रै होइन । महिला हुँ, महिलाको समस्या मैंले राम्रोसँग बुझेको छु । यो भूगोलमा हुर्केको मान्छेले यहाँको मोटोलाई साक्षी राख्दै काम गर्छ भन्ने सन्देश दिन चाहन्छु । मलाई समानुपातिकमा बसेर सांसद पद सुरक्षित हुन पनि भनिएको थियो । तर म पार्टीमा होस् की चुनावमा भिडेरै पदमा पुग्न रुचि राख्छु । यसैले म चुनावी मैदानमा होमिएको हुँ ।’

मकवानपुरले भोग्नुपरेको समस्याबारे आफू पूर्ण जानकार रहेको समेत उनी बताउछिन् । ‘मकवानपुरको विकास र समृद्धिको लागि म काम गर्न चाहन्छु । यसैले म चुनाव लड्न आएको हुँ’ उनी भन्छिन्, ‘यसपटक सत्ता गठबन्धनको बलमा हामी मकवानपुरमा मात्रै होइन देशैभर निर्वाचित हुन्छौं ।’

यत्तिमात्रै होइन केन्द्र र जिल्लाको राजनीतिमा समन्वयकारी भूमिका खेल्नमासमेत डिना यसपटक प्रभावशाली देखिएकी छिन् । भूगोलमै राजनीति गरेर कांग्रेसको राम्रो प्रभाव मकवानपुरमा बनाएका इन्द्र बानियाँलाई डिनाले मुख्यमन्त्री बनाउने वचन दिएकी छिन् । डिनाले यो कुरा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासम्मै पुर्याएकी छिन् । यसैले मुख्यमन्त्री बन्ने ग्रीन सिग्नल आएपछि बानिँया मकवानपुर २ (२)बाट प्रदेशसभाको उम्मेदवार बन्न राजी भएका हुन् । यसैले डिनालाई जिताउन पहिले जिल्ला सभापति हुँदै अहिले कांग्रेस वागमती प्रदेश सभापति भएका बानियाँकोसमेत उत्तिकै सहयोग मिल्ने भएको छ । यसैले डिनालाई यसपटक चुनाव जित्न कठिनाइ देखिएको छैन ।
डिनाको क्षेत्रमा प्रदेशसभासतर्फ मकवानपुर १ (१)मा माओवादीका प्रेमबहादुर पुलामी र १ (२)मा कांग्रेसका आनन्दराम पराजुली गठबन्धनतर्फका उम्मेदवार छन् । उम्मेदवारमा पनि सन्तुलन मिलाएकोले डिनालाई सहज हुने देखिन्छ ।

को को छन् अरु उम्मेदवार ?

जसपा नेपालबाट इन्द्रमान थिङ, राप्रपाका दीपकबहादुर सिंह, नेमकिपाबाट शान्तलाल भैल, लोसपा नेपालबाट रुपक लामा, मौलिक जरोकिलो पार्टीका संगीन श्रेष्ठ, हाम्रो नेपाली पार्टीका दीपेन्द्रचन्द ठकुरी, नेकपाका कृष्णप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा, नेपाली कांग्र्रेस बिपीका सुरेन्द्र भट्टराई, जन समाजवादी पार्टी नेपालका मनबहादुर दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापा विभिन्न दलका उम्मेदवार छन् । स्वतन्त्रबाट आइतराम तामाङ र सुभाष पौडेल प्रतिस्पर्धामा उत्रिएका छन् ।

के भन्छन् कमल थापा ?

म यो क्षेत्रबाट पहिलेदेखि नै प्रतिनिधित्व गर्छु । मैंले कति काम गरेको छु भन्ने सबैले देखेका छन् । योपटक फरक अवस्थामा चुनाव उठ्दै गरेपछि राप्रपा, एमाले मात्रै होइन कांग्रेस र माओवादीसमेतको मत पाएर जित्छु । प्रदेशको राजधानी हेटौंडा ल्याउन मैंले गरेको कामलाई पनि जनताले मूल्यांकन गर्छन् भन्ने लाग्छ ।