NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

‘हामीलाई जिताए मंगल ग्रहबाट घरघरमा ग्यास !’

काठमाडौं । निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराए आगामी पाँच वर्षभित्र मंगल ग्रहबाट पाइपलाइन ल्याएर घरघरमा जडान गरिने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, जंगलमा भ्यू टावर बनाइदिएर जंगल नै भ्युटावरमय बनाइदिने, खोलामा मात्र होइन, खेतखेतमा पनि पुल बनाइदिने र मंगल ग्रहमा धान रोप्ने व्यवस्था मिलाउने वाचा गरिएको छ ।

भक्तपुरमा आइतबार मञ्चन गरिएको निर्वाचनकेन्द्रित नाटक चुनावदेखि चुनावसम्ममा खोया पार्टीले यो प्रतिबद्धता जनाएको हो । आममतदातामाझ जनचेतना जगाउने उद्देश्यले तयार यस नाटकका पात्र नेता र पार्टीले आफ्ना उम्मेदवारलाई चुनाव जिताउन भन्दै असम्भव सपना देखाएर राजनीतिक दलहरूलाई व्यंग्य गरेका हुन् ।

चुनावमा राजनीतिक दलहरूले जनतालाई ठूला आश्वासन र असम्भवप्रायः सपना देखाएको तर पूरा नगरेको विषयमा नाटक केन्द्रित छ ।

नाटक कुनै वाद र विचारबाट प्रभावित छैन । नाटकले कुनै पार्टीको पक्ष लिएको पनि छैन । नाटकका पात्र स्वतन्त्र उम्मेदवार पनि कसैको पक्ष–विपक्षमा छैन । राजनीतिक दलहरूले गरेका वाचा र जनताका वास्तविक अवस्था नाटकका माध्यमबाट देखाउन खोजिएको छ । कलाका माध्यमबाट मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिउको जनाइएको छ, आजको नागरिक दैनिकमा खबर छ ।