NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

निर्वाचनपछि एमालेसँग सहकार्य हुँदैन, वर्तमान गठबन्धन २० वर्षसम्म कायम रहन्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि अर्को गठबन्धन नबन्ने स्पष्ट पारेका छन् । निर्वाचनपछि अहिलेको गठबन्धन के हुन्छ ? अर्को गठबन्धन बन्छ कि भन्ने अनुमान गरिरहेको भन्दै उनले वर्तमान गठबन्धनलाई नै २० वर्षसम्म निरन्तर दिने बताए ।

लमजुङमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीसँगको संगतले आफूले दिव्य ज्ञान प्राप्त गरिसकेकाले अब एमालेसँग अर्को गठबन्धन नहुने स्पष्ट पारेका हुन् ।

‘यो गठबन्धन चुनावसम्म मात्रै बनेको होइन। कतिपयले चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि भनेर अनुमान गरेका छन्’, उनले भने, ‘जबसम्म संविधान, लोकतन्त्र र व्यवस्थामाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। बीस वर्षसम्म यो गठबन्धन रहोस्, अर्को गठबन्धन रहँदैन ।’

गठबन्धनप्रति विस्तारै लहर आएको जिकिर गर्दै निर्वाचनपछि मुलुकको आर्थिक वृद्धि, समृद्धि र सुशासनमा ध्यान दिने बताए ।