NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

‘लो प्रोफाइलमा चम्किएका हिरा’ गैरैले पहिलो प्रयासमै पाल्पामा मार्लान् बाजी ?

काठमाडौं । एमालेका चर्चित युवा नेता तथा पोलिटब्युरो सदस्य ठाकुर गैरे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पा–२ बाट उठ्दै गर्दा अनेक संयोग जोडिएका छन् । गैरे एमालेकै पूर्व नेता सोमप्रसाद पाण्डेसँग पहिलोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यतिमात्रै होइन अघिल्ला अघिल्ला चुनावमा पाण्डेलाई जिताउन लाग्ने गैरे यसपटक उनैलाई हराउन आफैं चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमाले विभाजनअघि पार्टीमा पाण्डेको वर्चश्वका कारण अवससरबाट बञ्चित भएका गैरेले पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएका हुन् । यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा गैरेको थियो । तर अन्तिममा टिकट पाण्डेले हात पार्ने गरेका थिए । त्यसतिबेला गैरेको भूमिका पाण्डेलाई जिताउन चुनावी कमाण्डरको थियो । तर कुनै समयका पाण्डेका तिनै कमाण्डर गैरे यसपटक हराउन चुनावी मैदानमा प्रतिस्पर्धी बनेर उत्रिएका छन् ।

एमाले विभाजनपश्चात् पाण्डेले एकीकृत समाजवादी रोजेपछि योपटक गैरेले उम्मेदवार बन्ने अवसर पाएका हुन् । उनलाई पार्टीभित्र ‘लो प्रोफाइलमा चम्किएका हिरा’का रुपमा विद्यार्थी नेताहरूले बुझ्ने गरेका छन् । राष्ट्रियता, जनजीविकाको पक्षमा आफूले गरेको निरन्तर संघर्षलाई योपटक पाल्पा–२ का मतदाताले आफूलाई उचित मूल्याङकन गर्ने गैरेको विश्वास छ ।

‘जिल्लाबासी दाजुभाइ–दिदीबहिनीहरूसँग मेरो अनुरोध के छ भने अहिलेसम्म हामीले अधिकार लडेर ल्यायौं । अब त्यसको अनुभूति दिलाउन कुशलतापूर्वक मैंले त्यसको अगुवाइ गर्नेछु । त्यो सफलताका लागि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकास लगायत क्षेत्रमा अहिलेसम्म हुन नसकेका कामलाई पहिलो प्राथमिकतामा राख्नेछु । सँगसँगै राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिकासहित इमान्दारिताकासाथ काम गर्नेछु’, उनले भने ।

अघिल्ला निर्वाचनमा पाण्डेलाई विजयी गराउन कमाण्डर बनेर सक्रिय रहेका गैरे योपटक पूर्वनेतालाई हराउन चुनावी मैदानमा कम्मर कसेर लागेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पारिवारिक सदस्य रहेका पाण्डे यो क्षेत्रका ‘हेवीवेट’ उम्मेदवारका रूपमा रहेका छन् । २०७४ को निर्वाचनमा वामपन्थी गठबन्धनबाट उम्मेदवार रहेका उनले प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई १० हजार ३४५ को फराकिलो मतान्तरले पराजित गरेका थिए । पाण्डे ३४ हजार ८९९ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपालले २४ हजार ५५४ मत पाएका थिए ।

२०२७ देखि वामपन्थी राजनीतिमा सक्रिय रहेका पाण्डे २०५१ देखि लगातार संसदीय राजनीतिमा भाग लिएका नेता हुन् । २०५१ को निर्वाचनमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०६४ को निर्वाचनबाहेक सबै निर्वाचन जित्न सफल भएका छन् ।
पाण्डे २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादीकी उम्मेदवार लिलाकुमारी बगालेसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा हारको बदला लिएका पाण्डेलाई जिताउन गैरेले महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस निर्वाचनमा पाण्डेले १३ हजार १९३ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरबहादुर रानाले १३ हजार ९८ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमासमेत गैरेलाई रोक्न सफल भएका पाण्डे गैरेको सक्रिय सहयोगकै कारण जित निकाल्न सहज भएको थियो । गठबन्धनलाई चुनौतीका रुपमा नलिएका गैरेले पुराना पुस्तालाई गाली गरेर वा आलोचना गरेर नयाँ पुस्ताले सुख नपाउँने बताउँछन् । त्यसका लागि नयाँ पुस्ताले पुराना पुस्ताकोभन्दा धेरै योग्य काम गर्नुपर्ने उनको बुझाइ छ । सँगसँगै पुराना पुस्ताले विस्तारै आफूलाई अभिभावकीय र सल्लाहकारको भूमिकामा लैजान जरुरी रहेको उनी बताउँछन् । ‘मलाई लाग्छ पार्टीभित्रको संयन्त्रलाई विस्तारै परिवर्तन गर्दै लगियो भने त्यसले पछिको पुस्तालाई सजिलो बनाउँछ । आगामी दिनमा महाधिवेशन प्रक्रियाबाट नै विस्तारै समाधान हुँदै जानेमा म विश्वस्त छु’, उनले भने ।

यस्तो छ स्थानीय तहको अंकगणित

युवामाझ निकै लोकप्रिय रहेका गैरे पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकाले निर्वाचन जित्नेमा ढुक्क छन् । चुनावी घरदैलो कार्यक्रममा सक्रिय रहेका उनी योपटक निकटतम प्रतिद्वन्द्वीभन्दा पाँचदेखि १० हजार मतान्तरले जित्ने उनका छोरा निर्वाचन गैरेले दाबी गरे ।
‘आम मतदातामा बुवाप्रति निकै अकर्षण छ । हामी घरदैलो कार्यक्रमको अन्तिम चरणमा आएका छौं । बुवाको उम्मेदवारीको विषयलाई लिएर सबैको सक्रिय र सकारात्मक भूमिका देखिएको छ’, उनले भने, ‘अहिलेसम्मको घरदैलो कार्यक्रमको आधारमा हामीले करिब ५ हजारको मतान्तरले जित्ने आकलन गरेका छौं । चुनावको दिनसम्म थप वृद्धि भएर १० हजारसम्मको मतान्तर हुन सक्ने आकलन छ ।’

बगनासकाली गाउँपालिका, रिब्दिकोट गाउँपालिका, रैनादेवि छहरा गाउँपालिका, तिनाउँ गाउँपालिकाका १, २, ३, ४, ६ नम्बर वडा, माथगढी गाउँपालिकाका १ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । तानेसेन नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३ र १४ नम्बर वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।

वैशाखमा भएको स्थानीय तह निर्वाचमा वडाअध्यक्षले पाएको मतको आधारमा पाल्पा २ मा एमाले ३० हजार ५६६ मतसहित पहिलो दल रहेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले २९ हजार ३९ मत पाएको छ । माओवादीको ४ हजार ३१३, नेकपा एसको ४३३ र राप्रपाको ३३६ मत रहेको छ ।

यो क्षेत्रमा नेकपा एसको नगन्य मत रहेको देखिन्छ । पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको सबै मत तान्नैपर्ने देखिन्छ । यहाँ गठबन्धनको जम्मा मत ३३ हजार ७८५ रहेको छ । एमाले गठबन्धनभन्दा ३ हजार २१९ मतले मात्र पछाडि रहेको छ । यसैले सत्ता गठबन्धन एकातिर हुँदै गर्दा लोकप्रियय युवा नेता गैरैले पाण्डेलाई कडा चुनौती दिने देखिएको छ । प्रतिनिनिधिसभा निर्वाचनमा स्थानीय तह निर्वाचनमा पाएको मत नै उम्मेदवारले जित्ने आधार होइन ।

उम्मेदवारको व्यक्तित्व, उसको भूमिका र मतदाताको छनोट प्रक्रियाले महत्वपूर्ण प्रभाव पारेको हुन्छ । पछिल्लोपटक उमेर ढल्केका होइन युवा र अवसर नपाएकोको पक्षमा माहोल सिर्जना भइरहेको छ । यसैले पनि गैरेले यसपटक पटकपटक परीक्षण भइसकेका पाण्डेलाई चुनौती दिने देखिन्छ ।

यसअघि प्रतिनिधिसभा सदस्यका लागि कहिल्यै अवसर नपाएका गैरे योपटक सर्वसम्मत उम्मेदवार भएकोमा युवापंक्ति खुशी छन् । स्थायी घर पाल्पा रहेका उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएका हुन् । २०४६ देखि राजनीतिमा सक्रिय रहेका गैरे अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा २०४९ र २०५१ मा दुईपटक अनेरास्ववियुका सचिव भएका थिए ।

२०५५ मा तत्कालीन अध्यक्ष योगेश भट्टराई नेतृत्वमा भएको राष्ट्रिय स्वाधीनताका लागि कालापानी मार्चपासमा उनी सक्रियतापूर्वक लागेका थिए । २०६३ मा अनेरास्ववियुको १८ औं महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नै कार्यकालमा गैरेले ‘सुस्ता बचाउ’ अभियानको नेतृत्व गरेका थिए । त्यतिबेला झण्डै ५५ सय विद्यार्थी लिएर मार्चपास गरेपछि उनी चर्चामा आएका थिए । २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंबाट सक्रियपूर्वक सहभागी भएका थिए ।

कुनै विवादमा नदेखिएका गैरे पार्टीभित्र र बाहिर निकै रुचाइएका युवा नेतामा पर्छन् । अहिलेसम्म कुनै राजकीय पदमा उनी पुगेका छैनन् । सरल जीवनशैली र स्पष्ट वक्ताको रुपमा परिचित रहेका उनी पार्टीभित्र किनारामा पर्दै गए । बुटवलमा भएको आठौं महाधिवेशनमा केपी ओली र झलनाथ खनाल दुवैको प्यानलमा नपरी उनले केन्द्रीय सदस्य जितेका थिए । ९ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य रहेका उनी १० औं महाधिवेशनपछि पोलिटब्युरो सदस्य भए ।

स्थानीय तहको परिणामले गठबन्धन अगाडि देखाए तापनि जिल्लामा एमालेको बलियो संगठन छ । त्यसमा उनी नयाँ र सम्भावना बोकेका क्षमतावान उम्मेदवार भएकाले उनले जित्ने सम्भावना बलियो छ । राजनीतिमा समीकरण, एजेण्डा, विपक्षीको रणनीति र गणितलेसमेत ठूलो महत्व राख्ने हुँदा चुनाव जित्न उनले उत्तिकै मेहनत गर्नुपर्ने देखिन्छ । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका गैरे योपटक चुनाव जित्नेमा निकै उत्साहित छन् ।