NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जसले प्रेमिकालाई ३५ टुक्रा पारे, फ्रिजमा हाले र हरेक दिन जंगलमा फ्याके

एजेन्सी । भारतको नयाँ दिल्लीमा ६ महिना पुरानो हत्याबारे सनसनीपूर्ण खुलासा भएको छ । प्रेमी आफताब अमीन पुनवालाले आफ्नी लिभ–इन पार्टनर तथा प्रेमिका श्रद्धाको हत्या गरेको खुलासा भएको छ । यतिमात्रै होइन, उनले प्रेमिकाको शवलाई ३५ टुक्रा पारेर १८ दिनसम्म महरौलीको जंगलमा लगेर फ्याकेको पाइएको छ ।

प्रहरीले आरोपी अफताबलाई शनिबार गिरफ्तार गरिसकेको छ । एक वर्ष पहिला श्रद्धा अफताबसँग बस्नका लागि मुम्बईबाट दिल्ली बसाइ सरेकी थिइन् । २६ वर्षिया श्रद्धा मुम्बइस्थित एक मल्टिनेसनल कम्पनीमा कल सेन्टरमा काम गर्दै आएकी थिइन् ।

अफताब पनि त्यहीं काम गर्थे । दुवैको भेट सन् २०१९ मा त्यहीं भयो । तर, दुवैको परिवार उनीहरूको सम्बन्धबाट खुसी थिएनन् । परिवार सन्तुष्ट नभएपनि उनीहरू दुवैजना सँगै बस्ने निर्णय गरे र मुम्बइबाट दिल्ली आएर बस्न थालेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रद्धा आफ्नी आमासँग फोनमा कुरा गर्थिन् । उक्त कुराकानीमा अफताबले आफूमाथि हातपात गर्ने गरेको सुनाउथिन् । आमाको मृत्युपछि उनी घर फर्किएको बेलामा पनि बुबालाई पनि यो कुरा सुनाएकी थिइन् ।

साउथ दिल्लीका एडिसनल(डिसीपी) अंकित चौहानका अनुसार गत १८ मेमा झगडा परेपछि अफताबले श्रद्धाको घाँटी रेटेर हत्या गरे । त्यसपछि उनले शवलाई ३५ टुक्रा पारेर फ्रिजमा राखे । प्रहरीका अनुसार उनी हरेक रात दुई बजे घरबाट निस्किएर उक्त टुक्रालाई दिल्लीको अलग–अलग ठाउँमा लगेर ठेगान लगाउने गर्थे ।

प्रहरीका अनुसार अफताबले शव टुक्रा गर्नका लागि आरीको प्रयोग गरेका थिए । उनले सुरूमा हातलाई तीन टुक्रा पारे । त्यलाई फेरी तीन टुक्रा बनाए । ती टुक्रालाई ब्यागमा राखेर उनी हरेक रात घरबाट निस्किन्थे ।

प्रेमिकाको हत्या गरेपछि नै शवका टुक्रा राख्नका लागि उनले तीन सय लिटरको फ्रिज खरिद गरे । गन्ध नआवोस् भनेर उनी धूपबत्ती बाल्थे ।

श्रद्धाका बुबाले प्रहरीमा खबर गरेपछि अफताबलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । सोधपुछको क्रममा उनले आफूहरूबीच झगडा परिरहने गरेको बताए ।

उनका अनुसार श्रद्धाले उनलाई विवाहका लागि दबाब दिइरहेकी थिइन् । अफताबको अन्य महिलासँग पनि सम्बन्ध थियो र यसबारे श्रद्धाले शंका गर्न थालेकी थिइन् ।

यही विषयलाई लिएर दुबैबीच विवाद भइरहन्थ्यो । त्यही क्रममा आक्रेशित बनेर अफताबले श्रद्धाको हत्या गरिदिए । अहिले प्रहरीले उनीमाथि हत्याको मुद्दा चलाएर श्रद्धाको लाश खोज्न सुरू गरेको छ ।