NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्ता गठबन्धनको चुनावी सभामा किन देखिँदैनन् माधव–झलनाथ ?

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढाल्न निर्णायक शक्ति मानिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्लो समय गठबन्धनको चुनावी सभामा देखिएका छैनन् । निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म उम्मेदवारहरूका लागि चुनावी सभा गर्न अनुमति दिएको छ । १५ दिनको यो समयलाई सदुपयोग गर्दै सत्ता गठबन्धन र एमालेका शीर्ष नेताहरू देश दौडाहामा निस्किएका छन् ।

कात्तिक १८ गते एमाले अध्यक्ष केपी ओलीले कालापानी क्षेत्र रहेको जिल्ला दार्चुलाबाट निकै तामझाम गरी सभाको शुरुवात गरे । ६० दशकको राजनीतिक दौरानमा पहिलोपटक खलङ्गा पुगेका ओलीले दार्चुलाबाट नै राष्ट्रवादी शक्ति निर्माणदेखि आर्थिक विकासको अभियान शुरू भएको घोषणा गरे ।

ओली नेतृत्वको सरकारले भारतको कब्जामा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालको भूमि समेटेर चुच्चे नक्सा जारी गरेको थियो । राष्ट्रियतालाई मुख्य चुनावी एजेण्डा बनाएका ओलीले त्यसैदिन सुदूरपश्चिमका बैतडी र कञ्चनपुरमा सम्बोधन गरे । एकहप्ता नपुग्दै ओली पुनः सुदूपश्चिमका डोटीलगायत जिल्लाका चुनावीसभामा भाग लिन पुगे । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ४० जिल्लाका मुख्य शहरमा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ ।

ओलीलाई चुनौती दिँदै कात्तिक २३ गते प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्डलगायतका गठबन्धनका शीर्ष नेताहरू दार्चुला पुगे । सम्बोधनलगत्तै उनीहरू सुदूरपश्चिमका कैलाली र बैतडी पुगेका थिए । चुनावी सभालाई सम्बोधन गर्न गठबन्धनका नेताहरू पश्चिम नेपालदेखि, कर्णालीका विभिन्न जिल्ला पुगिसकेका छन् । तर यी सबै कार्यक्रममा एकीकृत समाजवादीका नेताहरू सहभागी छैनन् ।

वैशाखमा भएको स्थानीय तह निर्वाचमा गठबन्धनका शीर्ष नेता, देउवा, प्रचण्ड र माधव नेपालसँगै देश दौडाहामा निस्किएका थिए । योपटक माधव, झलनाथलगायत नेकपा एसका कुनै पनि नेताहरू गठबन्धनको चुनावी सभामा नदेखिनुलाई आश्चर्य मानेका छन् । भोट माग्न देउवा, प्रचण्डसँगै माधव, झलनाथ नदेखिनुलाई उनी निकट नेताहरूले आन्तरिक व्यस्तताको कारण देखाएका छन् ।

गतवर्ष एमालेसँग विद्रोह गरी नयाँ दल खोलेका नेकपा एसले १५ महिनामा दोस्रोपटक निर्वाचनमा भाग लिएको हो । भर्खर वामे सर्न लागेको पार्टी, त्यसमा पनि चार दलसँग गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बाध्यताका कारण सबै नेताहरू यतिबेला आ–आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित रहेका छन् । गठबन्धनको भागबण्डामा नेकपा एसले १९ सिट पाएको छ । तीमध्ये प्राय सबै उम्मेदवार एमालेका बलिया उम्मेदवारसँग चुनावी मैदानमा आमनेसामने हुँदैछन् । गठबन्धनको सहयोग भएपनि आफ्नो विरासत जोगाउन उनीहरूका लागि हम्मेहम्मे देखिन्छ ।

त्यसैले आफ्नो सिट सुरक्षित गर्न नेकपा एसका नेताहरू आ–आफ्ना मतदातासँगको भोट माग्न व्यस्त छन् । नयाँ दल भएकाले एकीकृत समाजवादीलाई गठबन्धनको सहयोगमा बहुसंख्यक उम्मेदवारको सिट सुरक्षित गरी राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ ३ प्रतिशत थे्रसहोल्ड कटाउनैपर्ने बाध्यता छ ।

अध्यक्ष नेपाल अघिल्लोपटक विजयी भएको काठमाडौं–२ निर्वाचन क्षेत्र छाडेर गृहक्षेत्र रौतहट–१ बाट उम्मेदवार बनेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहट दुवै क्षेत्रबाट पराजित भएका थिए ।

२०७० को दोस्रो निर्वाचनमा उनी दुवै क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा राज्य पुनर्संरचना भएपछि एक उम्मेदवारले एक निर्वाचन क्षेत्रमात्र रोज्न पाउने भएकाले अघिल्लो निर्वाचनमा नेपाल काठमाडौं–२ बाट उठेका थिए । वामगठबन्धनबाट उम्मेदवारी दिएका उनले निर्वाचनमा विजयी भए । तर योपटक काठमाडौंमा असुरक्षित देखिएपछि मधेश झरेका नेपाल प्रायः उतै व्यस्त छन् । २०५१, २०५६, २०७० र २०७४ को निर्वाचन जितेका नेपाल पाचौंपटक संसदमा जाने दाउमा छन् ।

नेपालका सचिवालय सदस्यका अनुसार कात्तिक १७ गते रौतहट गएका थिए । दुईदिन बसेर काठमाडौं आएका उनी २४ गतेदेखि रौतहटमै चुनावी कार्यक्रममा व्यस्त छन् । अझै केही समय उतै बस्ने योजना उनले बनाएका छन् ।

‘उहाँ आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त भएकाले गठबन्धनको चुनावी सभामा जान भ्याउनुभएको छैन’, नेपालका सचिवालयका एक सदस्यले भने, ‘केही समय मतदातासँग भेटघाटमा व्यस्त रहनेहुँदा अर्कोमहिना मात्र उहाँ काठमाडौं आउनुहुन्छ ।’

त्यस्तै पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल गतसाता आफ्नै निर्वाचन क्षेत्र इलामा–१ का मतदाताहरूसँग भेटघाटमा व्यस्त रहे । त्यहाँ केही दिन बसेर उनी काठमाडौं फर्किएका नेकपा एसका विदेश विभागका सचिव डा. शंकर पोखरेलले जानकारी दिए । उनी २०५६ को निर्वाचनबाहेक २०४८ देखि सबै निर्वाचनमा विजयी हुँदै आएका छन् ।

‘सबै शीर्ष नेताहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा भ्याइनभ्याइ छ । गठबन्धनको चुनावीसभालाई समय दिन सक्नुभएको छैन’, उनले भने, ‘गठबन्धनसँग सम्बन्ध बिग्रिएर सभामा नगएको होइन । उहाँहरूलाई आफ्नै मत सुरक्षित गर्नुपर्ने बाध्यता छ ।’

योपटक निर्वाचन आयोगले यसअघिका नियम परिवर्तन गरी उम्मेदवारहरूलाई प्रचारप्रचार गर्ने समय जम्मा १५ दिनको दिएको कारण पनि समस्या आएको खतिवडाले बताए ।

एमाले अध्यक्ष ओलीले माधवको नामै लिएर एकीकृत समाजवादीको अस्तित्व मंसिर ४ सम्म हुने भविष्यवाणी गरेका छन् । आइतबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘माधवको एस पार्टीको म्याद मंसिर ४ सम्म हो । त्यसपछि त्यो पार्टीको अस्तित्व रहँदैन । त्यहाँ रहेका सबै साथीहरूलाई निर्वाचन अगावै एमाले फर्किन आग्रह गर्छु । एमाले फर्किनका लागि सबैलाई उचित जिम्मेवारी दिइनेछ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि निर्वाचनपछि एमालेको साइज माओवादीभन्दा पनि कम हुने दाबी गरेका छन् । शीर्ष नेताहरूको व्यक्तिगत टकरावका कारण नेकपा हुँदै एमालेसमेत विभाजन भएको अवस्थामा आगामी निर्वाचनमा एकले अर्कालाई भित्तामा पुर्याइदिने चेतावनी दिँदै आएका छन् । यसरी एकले अर्कालाई सिध्याउने नाममा को कति सिद्धिने हो त्यसका लागि मंसिर ४ सम्म कुनैपर्ने हुन्छ ।