NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

यसरी थाहा पाउन सकिन्छ मतदाता नामावलीमा नाम भए/नभएको (भिडियोसहित)

काठमाडौं । आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यो दिन मतदाताहरूले आफ्नो अमूल्य मतमार्फत प्रदेश तथा प्रतिनिधिसभाका सांसद चयन गर्नेछन् ।

गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भने करिब चार लाख ७५ हजार ८०५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचन सम्पन्नपछि गत असार १ गतेबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन खुला गरेकोमा यी नयाँ मतदाता थपिएका हुन् । यसमध्ये अधिकांशले पहिलो पटक आफ्नो मत जाहेर गर्दैछन् ।

निर्वाचन आयोगले अघिल्लो पटक निर्वाचन हुनुभन्दा केही दिनअघि मतदाता कार्ड वितरण गर्ने गरेको थियो । तर यस पटक मतदाता कार्ड वितरण नगरिने भएको छ ।  जनशक्ति व्यवस्थापन र खर्चका हिसाबले बोझिलो भएकाले आयोगले भोटर कार्ड नबाँड्ने निर्णय गरेको बताइएको छ ।

मतदाता कार्ड वितरण नगरिने भएपछि परिचय खुल्ने आधिकारिक सरकारी परिचयपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था आयोगले मिलाएको छ । आयोगका अनुसार नागरिकता, सवारी लाइसेन्स, लालपुर्जालगायत परिचय खुल्ने सरकारी कागजात खुलाएर मतदाता नामावलीमा नाम रहेका मतदाताले मतदान गर्नसक्नेछन् ।

आयोगले यस पटक देशभरका मतदाताको नामावली अनलाइनमार्फत हेर्न मिल्नेगरी प्रविष्टसमेत गरेको छ । आउनुहोस् जानौं, मतदाता नामावलीमा आफ्नो नाम भए/नभएको थाहा पाउने तरिका :

मतदाता नामावलीमा आफ्नो नाम भए/नभएको थाहा पाउन सबैभन्दा पहिले निर्वाचन आयोगको आधिकारिक बेवसाइट https://election.gov.np मा जानुपर्ने हुन्छ ।


आयोगको वेबसाइट खुलेपछि होमपेजमै मतदाता नामावली क्याटागोरी देख्न सकिन्छ । त्यसलाई क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेपछि  प्रदेश, जिल्ला, पालिका, वडा, मतदान केन्द्रको विवरण उल्लेख गरिएको पेज खुल्नेछ ।

यसमा विवरण भरेपछि तपाईं मतदाता रहेको मतदान केन्द्रका सम्पूर्ण मतदाताको नामावलीसहितको विवरण देखिनेछ ।

मतदाता नामावलीमा भरिएको विस्तृत विवरण  बेवसाइटबाट प्रिन्ट गरेर निकाल्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसका लागि तपाईंले मतदाता नामावलीमा रहेको आफ्नो नाममा क्लिक गर्नुपर्नेछ । त्यहाँ क्लिक गरेपछि तपाईंको जन्ममिति, नागरिकता नम्बर भर्नुपर्ने पेज खुल्नेछ । त्यसलाई भरेर कपी क्याप्चा गरेर सबमिट गर्नुस्, तपाईंको सबै विवरण कम्प्युटर स्क्रिनमा देखिनेछ ।

हेर्नुहोस् भिडियो