NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चुनावपछि ५ वर्ष नै कांग्रेसको नेतृत्वमा सरकार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ४ मंसिरको निर्वाचनपछिको ५ वर्षसम्म कांग्रेस नेतृत्वको सरकार हुने दाबी गरेका छन् ।

पार्टी प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समिति संयोजक महतले सबैलाई सहज पनि हुने हुँदा ४ मंसिरको चुनावपछि कांग्रेसको नेतृत्वमा ५ वर्ष सरकार चल्ने दाबी गरेका हुन् ।

देशभर कांग्रेसको जित सुनिश्चत रहेको पनि महतले प्रष्ट्याए ।

‘विभिन्न जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, जिल्ला नेतृत्व र उम्मेद्वारहरुले दिएको जानकारी अनुसार नेपाली कांग्रेस र नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा उत्साहजनक माहोल सिर्जना भएको छ’ उनले पत्रकार सम्मेलन गर्दै महतले भने, ‘गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता तथा कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनुभएकोले गठबन्धनको विजय सुनिश्चित छ ।’ महतले भने ।

पाँच वर्ष कांग्रेस नेतृत्वमा सरकार हुने कारणसमेत उनले खुलाए ।

‘गठबन्धनको पक्षमा औचित्यका बारेमा यहाँहरु जानकार नै हुनुहुन्छ । संविधानको रक्षा, राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासको साझा लक्ष्य हासिल गर्न कायम भएको गठबन्धन जसरी निर्वाचनमा तालमेल गरेर जान सहमत भयो, निर्वाचनपछि पनि यही गठबन्धनले निरन्तरता पाउने छ । निर्वाचन पछिको सरकारको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्छ र त्यो सरकारले ५ बर्ष निरन्तरता पाउने छ’ महतले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वको सरकार गठबन्धनका सबै दलको रोजाई पनि हो । नेपाली कांग्रेसको लचिलो नीति र व्यवहारका कारण कांग्रेसको नेतृत्वमा बस्न सबैलाई सहज पनि छ ।’

केपी ओली नेतृत्वका देशमा अराजकता र निरंकुशता देखिएको भन्दै महतले गठबन्धनपछि त्यो क्रम हटेको बताए ।

‘ओली नेतृत्वको सरकारले स्थायित्व दिन सकेन किनकी जुन संविधान अनुरुप निर्वाचित भएको हो त्यसका विरुद्ध योजनाबद्ध आक्रमण गर्यो । निरंकुशताको बाटोमा लाग्यो । देशमा धेरै आर्थिक अनियमितता र ठूला ठूला काण्ड भए’ महतले भने, ‘गठबन्धन सो प्रक्रियाको विरुद्धमा उभियो र सो प्रवृत्ति रोकियो । सो प्रवृतिलाई रोकेर पद्धति र विधिभित्र रहेर स्थायित्व ल्यायो । देशमा सुशासन कायम गर्ने क्रममा अनियमितताहरु रोकिएका छन् ।’

ठूलो पार्टी र दुई तिहाई बचाउन नसकेर निरंकुशता लाद्ने केपी ओलीले बहुमतको राग अलाप्नुमा कुनै औचित्य नभएको पनि उनले प्रष्ट्याए ।

‘एकीकृत पार्टीको नेतृत्व गर्दा समेत असफल भएको ओली नेतृत्वले अहिले बहुमतको माग गर्नुको औचित्य देखिदैन । उहाँको नेतृत्व झण्डै दुई तिहाईको सरकार चलाउन असफल भएको हो । पार्टी एकीकृत राख्न पनि असफल रह्यो । पाँच बर्षलाई पाएको म्याण्डेट पूरा गर्न सकेन । त्यस्तो पार्टी र त्यसको नेतृत्वलाई नेपाली जनताले किन जिताउने भन्ने प्रश्न सर्बत्र उठेको छ’ महतले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भावि सरकारले लगानी भित्र्याउने, उद्योग कलकारखानाको तीव्र विकास गर्नेे,रोजगारी बढाउने, आर्थिक उन्नति, सामाजिक सुरक्षा र लोककल्याणकारी राज्यको परिकल्पना साकार गर्नेछ । आर्थिक बृद्धिलाई तीव्र पार्ने छ ।’

चुनावपछिको सरकार स्थिर

महतले आफूहरूले निक्कै समन्वय गरेर देशभर गठबन्धन गरेको भन्दै चुनावपछि देशमा स्थिर सरकार बन्ने पनि ठोकुवा गरे ।

‘मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका ९१ सीटमा हामीले उम्मेदवारी दिएका छौ भने ७४ स्थानमा गठबन्धनमा सम्मिलित दलका उम्मेदवारहरुलाई समर्थन गरेका छौ । त्यस्तै प्रदेश सभाका १ सय ७८ सीटमा हामीले प्रत्यक्षमा उम्मेदवारी दिएका छौ भने १ सय ५२ स्थानमा गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छौ’ महतले भने, ‘गठबन्धन भनेको समर्थन दिने र समर्थन लिने समझदारी तथा विश्वास हो । गठबन्धनका दलहरुबीचको समझदारी अनुरुप हुने आपसी सहयोगात्मक मत आदान प्रदानले लोकतन्त्रप्रति प्रतिबद्ध स्थिर सरकार बन्ने विश्वास छ ।’

गठबन्धन प्रत्यक्षतर्फ भएकोले समानुपातिकतर्फ सबै पार्टीले भोट माग्नु स्वभाविक भएको पनि उनले प्रष्ट्याए ।

‘यो गठबन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकोले समानुपातिक तर्फ सबै पार्टीहरुले आ–आफ्नो पक्षमा मत माग्नु स्वाभाविक हो । प्रत्यक्ष तर्फ सहमति अनुसार पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेद्वारहरुका लागि मत माग्दै गर्दा समानुपातिक तर्फ रुख चिन्हमा मत माग्नु नेपाली कांंग्रेसका सबै उम्मेद्वार, नेता र कार्यकर्ताको परम दायित्व हो’ महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अतः यो निर्वाचनमा समानुपातिक तर्फ प्रदेश सभाका ३ सय ३० र प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रबाटै नेपाली कांग्रेसका पक्षमा रुख चिन्हमा मतदान गर्न आम मतदातालाई घरघर गई अनुरोध गर्न पार्टीका सबै तहका नेतृत्वमा रहनुभएका साथीहरु र भातृ तथा शुभेच्छुक संस्थाका साथीहरुलाई अनुरोध गर्दछु ।’