NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर २२ गते

सूचनाको हक र पारदर्शिताबीचको सम्बन्धबारे बरालको समाधान

जनतामा विश्वास देखिन्छ–लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपमहालेखा नियन्त्रक विष्णुहरि बरालले सूचना हक र पारदर्शिताको अन्तरसम्बन्धबारे प्रश्नको समाधान पहिल्याउनुभएको छ ।

सूचनाको हक र पारदर्शिताको अन्तरसम्बन्ध उल्लेख गर्दै सूचनाको हकले सार्वजनिक क्षेत्रमा पारेको प्रभावमाथि चर्चा गर्नुहोस् ।

 सूचनाको हक र पारदर्शिताको अन्तरसम्बन्ध

सार्वजनिक निकायबाट सम्पादित कामकारबाहीको सम्बन्धमा आमनागरिक सुसूचित हुन पाउने अधिकार सूचनाको हक हो भने यस्तो कार्य नागरिकसमक्ष प्रस्तुत गर्नु, देखाउनु, सञ्चार वा सम्प्रेषण गर्नु पारदर्शिता हो। राज्य प्रणालीका हरेक क्रियाकलापमाथि नागरिकको सहज पहुँच स्थापित गर्न सूचनाको हक अपरिहार्य छ भने सूचनाको हकको प्रवर्द्धन गर्न पारदर्शी कार्यसंस्कृति आवश्यक छ। यिनीहरूबीचको अन्तरसम्बन्धलाई देहायअनुसार उल्लेख गरिएको छ।

  • सूचनाको हकले पारदर्शितालाई प्रवर्द्धन गर्दछ भने पारदर्शिताले सूचनाको हकको कार्यान्वयनमा सहजता प्राप्ति हुन्छ।
  • सुशासनको आधार पारदर्शिता हो भने पारदर्शिताको आधार सूचनाको हक हो ।
  • दुवै लोकतन्त्र, मानवअधिकार र सुशासनका आधार स्तम्भ हुन्।
  • सूचनाको हक र पारदर्शिता दुवैले नागरिकको सूचनामाथिको सहज पहुँचको सुनिश्चितता प्रदान गर्दछ।
  • सरकारका कामकारवाहीमा नागरिक पहुँच तथा सहभागिता हुनु पारदर्शिता हो भने नागरिकलाई यस्तो पहुँचको सामर्थ्यता सूचनाको हकले प्रदान गर्दछ।
  • सूचनाको हकले सार्वजनिक निकायका पदाधिकारीलाई सूचनाको सार्वजनिकीकरण र Proactive Disclosure गर्न बाध्य बनाउँछ। क्षतिपूर्ति, नियामक निकाय तथा पुनरावेदनको व्यवस्थाले पारदर्शिताको प्रर्वद्धन हुन्छ। यसले सूचना अधिकारी, प्रवक्ताको व्यवस्था गरेको हुन्छ, जसको माध्यमबाट सूचनाको प्रवाह भई पारदर्शिता कायम हुन पुग्दछ।
  • पारदर्शिताले नागरिकको जान्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्दछ। सूचनामुखी कार्यसंस्कारको विकास गराउँछ। नागरिकहरूलाई सरोकारवाला वर्गसँग प्रश्न उठाउन सक्ने वातावरण सिर्जना गर्दछ। नागरिकहरूलाई सशक्तिकरण र सचेतीकरण गरी नागरिकको काम, कर्तव्य अधिकार र जिम्मेवारीको बोध गराउँछ। 

सूचनाको हकले सार्वजनिक क्षेत्रमा पारेको प्रभाव

सूचनाको हकले सार्वजनिक क्षेत्रमा पारेको प्रभावलाई देहायअनुसार उल्लेख गरिएको छ।

  • सूचनाको हक कार्यान्वयनले सार्वजनिक क्षेत्रमा खुला संस्कृतिमा काम गर्ने नवीन संस्कारको विकास भएको छ।
  • जनतामा सूचनाको हकप्रति जानकारी बढेको छ। सुविधावादी अवधारणाबाट अधिकारमुखी अवधारणाको विकास भएको छ। सूचनामुखी कार्यसंस्कृतिको क्रमश: विकास हुँदै गएको छ।
  • सूचना प्रवाह सुपरिवेक्षकलाई मात्र दिने पद्धतिबाट जनताको मौलिक हकको रूपमा स्थापित भएको छ।
  • नागरिकप्रति सार्वजनिक निकायलाई जवाफदेही र जिम्मेवार बनाउन सहभागितामूलक र पारदर्शी निर्णय प्रक्रियामा बढोत्तरी हुँदै आएको छ । आर्थिक अनियमितताको अन्त्य गर्दै वित्तीय अनुशासन कायम गर्न मद्दत पुगेको छ ।
  • सूचनाको हकले माथि उल्लिखित सकारात्मक प्रभाव पार्दापर्दै पनि कतिपय अवस्थामा निहित स्वार्थको लागि सूचना माग्ने, दबाब तथा प्रभावको आधारमा सूचना माग्ने, सूचनाको दुरूपयोग गर्ने, व्यक्तिगत गोपनीयतामाथि आँच ल्याउनेजस्ता नकारात्मक प्रवृत्तिहरूसमेत देखापर्न थालेका छन ।

निष्कर्ष

सूचना प्राप्त गर्नु नागरिकको अधिकार हो भने सूचना प्रवाह गर्नु तथा कार्यसम्पादनमा पारदर्शी कार्यसंस्कृतिको अवलम्बन गर्नु सार्वजनिक निकायको दायित्व हो । यसले राज्यका कामकारवाहीलाई सुसूचित गर्ने मात्र नभई सार्वजनिक निकायलाई जनताप्रति जवाफदेही बनाउँछ । अतः सूचनामुखी र पारदर्शी कार्यसंस्कृतिको विकास गर्दै आमनागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउनु आजको दायित्व  र आवश्यकता दुवै हो ।

ताजा अपडेट

नेपालवाच विशेष