NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

काभ्रेका स्थानीयलाई मतदाता शिक्षा दिइदैँ

धुलिखेल । आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रममा प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ ।

आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको निर्वाचन अकिारी उमेश राईले जनाकारी दिए ।

निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि घर-घरमा पुगी मतदातालाई शिक्षा दिइएको उनको भनाइ छ । विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणनायोग्य बनाउने उद्देश्ये मतदाता शिक्षा कार्यक्रम लागू गरिएको उनले बताए ।

जिल्लाका सबै स्थानमा स्थानीय स्वंयमसेविकाहरुको अग्रसरतामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । हाल जिल्लाका सबैजसो ठाउँमा नमूना मतदान भइसकेको र परिणाम सन्तोषजनक रहेको आयोगको भनाइ छ ।

स्थानीय स्रोतको परिचालनबाट सञ्चालित कार्यक्रमको अनुगमन स्थानीय तहले तोकेका निर्वाचन सम्पर्क व्यक्तिले गरिरहेका छन् । स्थानीय वडा सचिवको संयोजकत्वमा सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी भएको रोशी गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति धनबीर तामाङले बताए ।

निर्वाचन सफल बनाउन स्थानीय स्तरबाटै मतदाता शिक्षामा जोड दिइएको नवबुद्ध नगरपालिका वडा नम्बर २ का सचिव मुरारी सत्यालको भनाइ छ । साथै, भुम्लू गाउँपालिकामा भने मतदाता शिक्षा तूलनात्मक रुपमा कम प्रभावकारी भएको सम्पर्क व्यक्ति प्रेमकुमार पुरीले उल्लेख गरे ।

‘गाउँपालिकाका माझी समुदायका मतदातामा शैक्षिक अवस्था कमजोर हुँदा कार्यक्रम अपेक्षाकृत रुपमा प्रभावकारी हुन सकेको छैन’, उनले भने । जिल्लामा १३ वटा स्थानीय तह छन् । ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा अधिकांश मानिसहरु कृषिमा आबद्ध छन् । दिउँसोको समयमा व्यक्तिहरु काममा हुने भएकाले बिहान र दिउँसोको समयमा घरदैलो गर्दै शिक्षा दिइरहेको तामाङको भनाइ छ ।

निर्वाचन आयोग काभ्रेका अनुसार जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन् । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा ३१ वटा राजनीतिक दल तथा केही स्वतन्त्रहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा तीन सय ८९ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा तीन हजार एक सय १२ जना कर्मचारी खटाइने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेश सभाका ६ पदका लागि दुई महिला र एक दलितसहित ६४ जना उम्मेदवार छन् ।