NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

देशभर हाम्रो जित सुनिश्चित भइसक्यो : गठबन्धनका शीर्ष नेता

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध चार दलले ४ मंसिरमा हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानको रक्षा र गणतन्त्रको संस्थागत विकासको लागि पनि आफूहरूलाई जिताउन अपिल गरेका हुन् ।

‘गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्’ उनीहरूले भनेका छन्, ‘यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पुर्याउँदैन । गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो ।’

निर्वाचनको मार्फत् प्रतिगमनका पक्षधरलाई उदांगो पार्न पनि उनीहरूले अपिल गरेका छन् । ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढेको भन्दै लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएकोले गठवन्धनको विजय सुनिश्चित रहेको उनीहरूको भनाई छ ।

‘आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनु भएबाट गठवन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिंदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं ।’ उनीहरुले संयुक्त विज्ञप्तिमा भनेका छन् ।

देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार बिरुद्ध २०७८ असारमा यो गठवन्धन बनाउनु परेको उनीहरुको भनाई छ ।

‘यो गठवन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्’ उनीहरुले भनेका छन्, ‘झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ । मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्राशबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ ।’