NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रचण्ड : विश्वास गुमाएका सत्ताका ‘स्ट्राइकर’

काठमाडौं । उमेरले ६८ वर्ष पार गरेका माओवादी अध्यक्ष प्रचण्ड योपटक गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी २५ वर्ष भूमिगत राजनीति गरी २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०५२ सालमा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरे । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा २०६२÷६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले नेपालबाट २४० वर्षे राजसंस्था अन्त्य गरायो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट अत्याधिक मतसहित विजयी भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–५ बाट निर्वाचनमा उठेका थिए । काठमाडौंबाट शर्मनाक हार व्यहोरेका उनी सिराहाबाट भने विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गरी वाम गठबन्धनबाट निर्वाचनमा भाग लिएका थिए । आफ्नै गृहजिल्ला चितवन–३ बाट उनले चुनाव जितेका थिए । उनी २०६५ र २०७३ मा दुईपटक प्रधानमन्त्री भएका थिए । युद्धबाट आएका नेता सत्तामा पुगेपछि आफू र परिवारबाहेक केही नगरेको भन्दै उनीसँग जनता आक्रोसित रहेका छन् । प्रत्येकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका उनी चितवन–३ मा पराजित हुने डरले गोरखा पुगेका हुन् ।

उनी निर्वाचनपछि तेस्रोपटक प्रधानमन्त्री हुने दाउमा छन् । उनीमाथि भ्रष्टाचारलाई संरक्षण गरेको, राजनीतिक अस्थिरता कारक भएको, जनतासँग धेरै प्रतिवद्धता जनाउने तर काम कुनै पूरा नगर्ने नेताको रुपमा उनी चिनिएका छन् । समकालीन राजनीतिका चतुर खेलाडी रहेका उनी एमाले र कांग्रेसको अन्तर्विरोधमा खेलेर फाइदा लिने गरेको आरोप छ । जनतामाझ चर्को आलोचनाको शिकार हुँदै आएका उनलाई योपटक संसदमा देख्न जनताले चाहेका छैनन् । तर जित्नकै लागि उनी सहज निर्वाचन क्षेत्र खोज्दै गोरखा पुगेका हुन् । सत्ता राजनीतिको खेलमा तेस्रो दल हुँदै फेरि प्रधानमन्त्री हुने र आफूलाई केन्द्रमा राख्ने दाउमा उनी छन् ।