NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

यी हुन् आफैंलाई मत हाल्न नपाउने चर्चित उम्मेदवार

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा योपटक चर्चित उम्मेदवारहरू आफैंलाई मतदान गर्नबाट वञ्चित हुने भएका छन् ।

यसरी भोट हाल्न नपाउने उम्मेदवारहरूमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख ओनसरी घर्ती, बहालवाला सूचना तथा प्रसारणमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, युवा नेता प्रदिप पौडेल रहेका छन् ।

त्यस्तै लोकतान्त्रिक समाजवादी(लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमालेका नेता भानुभक्त ढकाल, एकीकृत समाजवादीका नेता किसन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि योपटक आफैंलाई भोट हाल्न पाउने छैनन् ।

एमाले अध्यक्ष ओली झापा–५ का उम्मेदवार हुन् । तर उनको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिका–२ मा रहेको छ । ओलीले भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई मतदान गर्नेछन् ।

२०७४ को निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड योपटक  भोट हाल्न पाउने छैनन् । उनी चितवन–३ छाडेर योपटक गोरखा–२ बाट उम्मेदवार बनेका छन् । उनको मतदाता नामावली भरतपुर–४ मा रहेको छ । उनले आफ्नै उम्मेदवार डा. भोजराज पोखरेललाई मतदान गर्नेछन् ।

त्यस्तै पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । रोल्पामा स्थायी घर भएकी घर्ती योपटक काठमाडौं–२ बाट उम्मेदवार रहेकी छिन् ।

यसैगरी बहालवाला सञ्चारमन्त्री कार्कीले योपटक पनि  मतदान गर्न पाउने छैनन् । सुनसरी–४ बाट उम्मेदवार बनेका उनको मतदाता नामावली गृहजिल्ला भोजपुरमा रहेकोछ ।

माओवादी केन्द्रका महासचिव गुरुङ योपटक आफ्नो मतदान अन्य उम्मेदवारलाई गर्नुपर्ने छ । अघिल्लोपटक पनि उनले आफूलाई भोट  हाल्न पाएका थिएनन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेका गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा रहेको छ ।

लोसपा अध्यक्ष ठाकुर योपटक पनि  महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा रहेको छ ।

जसपा अध्यक्ष यादवले पनि आफैंलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी–२ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा रहेको छ ।

एमाले स्थायी कमिटी सदस्य ढकालको पनि मतदाता नामावली गृहजिल्ला तेह्रथुममै रहेकाले योपटक आफूलाई मत हाल्न पाउने छैनन् । उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

पूर्वमन्त्री तथा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले योपटक  रामचन्द्र पौडेललाई मत दिने भएका छन् । तनहुँ–१ का मतदाता रहेका उनी गठबन्धनका कारण बारा–४ बाट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा तनहुँ–१ बाट  नेता  पौडेललाई पराजित गरेका थिए । गठबन्धनले साविक क्षेत्रबाहेक अन्यन्त्र रोज्न आग्रह गरेपछि उनी बारा पुगेका हुन् ।

कांग्रेसका नेता डा. शशांक कोइरालाको काठमाडौं–३, महाराजगन्जमा मतदाता नामावली भएकाले आफूलाई भोट हाल्न पाउने छैनन् । उनी नवलपुर–१ बाट कांग्रेसका उम्मेदवार रहेका छन् ।

कांग्रेसका युवा नेता प्रदिप पौडेलले योपटक काठमाडौं–५ बाट उम्मेदवारी दिएका छन् ।  अघिल्लो निर्वाचनमा तनहुँ–२ प्रदेशसभा सदस्यमा पराजित भएका उनले काठमाडौं राेजेपिछ मतबाट वञ्चित भएका हुन् ।

पहिलोपटक निर्वाचनमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने आफ्नो मत गुमाउने भएका छन् । काठमाडौं–३ का मतदाता रहेका उनले चितवन–२ बाट उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष