NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर २२ गते

हामीले उजुरी गरेपछि रेडियो नेपालका कलाकारको भागाभाग भयो

रायन एक सिद्धहस्त जनवादी कलाकार हुन् । २० को दशकबाट जनवादी गायन यात्रा थालेका उनले पञ्चायतको कालरात्रि चिर्न होस् या २४० वर्षे राणा शासन ढाल्न, निरन्तर संगीतमार्फत जनतालाई झक्झकाइरहे ।

जनवादी गायन र शिक्षण पेसालाई समानान्तर रूपमा अघि बढाएका रायनले आफ्नो सांगीतिक यात्राका उकाली ओराली यसरी सम्झिए :

सांगीतिक वातावरणले गीत–संगीततिर

मेरो जन्म ओखलढुंगामा भएको हो । ओखलढुंगाको रमाइलो वातावरणमा म जन्मेँ, हुर्कें । यहाँ जात्रा/मात्रामा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । यस्ता हरेक कार्यक्रममा हामी सांगीतिक प्रस्तुति दिन्थ्यौं । यसले गीत/संगीततर्फको रुचि ह्वात्तै बढायो । त्यसो त, मेरो पारिवारिक माहोल पनि त्यस्तै थियो । बाजे रोयल सिंगर हुनुहुन्थ्यो । बुबा पनि गीतसंगीतमा चासो राख्नुहुन्थ्यो । घरको वातावरण र ओखलढुंगाको सांस्कृतिक वातावरणले म गीतसंगीतमा लागेँ ।

रामेश र म ओखलढुंगामा सक्रिय थियौं । ०१९ सालमा रेडियो नेपालले पहिलोपटक कार्यक्रम गर्यो । नाम थियो, अखिल नेपाल राष्ट्रिय लोकगीत सम्मेलन । स्थानीय रूपमा हामी जिल्लामा चर्चित भएकाले बडा हाकिमले हामीलाई सगरमाथा अञ्चलको प्रतिनिधित्व गराएर पठाइदिए । रेडियो नेपालमा त्यतिबेला टेक्न पाउनु नै सौभाग्यको कुरा हुन्थ्यो । चर्चित कलाकार भेट्ने उत्सुकता र रेडियोबारे जान्ने चासो बोकेर हामी गीत गाउन काठमाडौं छिरेका थियौं । रेडियो नेपालको त्यो कार्यक्रममा हामीले गीत गायौं, जसलाई धेरैले मन पराए । तथापि, पुरस्कार नै त पाएनौं तर प्रशस्त स्यावासी पायौं । जुन हामीलाई उत्साहित पार्न पर्याप्त थिए ।

त्यो समय काठमाडौं भोटेबहालको सानो घरमा एकेडेमी भाडामा बसेको थियो । माधव घिमिरेले हामीलाई त्यहाँ लैजानुभयो अनि हाम्रो गीत रेकर्ड गरिदिनुभयो । ठूला साहित्यकार भेट्न पाउनु ठूलो कुरा थियो, तर हाम्रो गायकीले यी सबै सम्भव भए । यसले सांगीतिक क्षेत्रमा लाग्न थप प्रेरणा प्रदान गर्यो ।

गीत रेकर्डपछि हामी गाउँ फर्कियौं । त्यतिबेला हामीले गाएको गीत रेडियो नेपालमा बज्न थालिसकेको थियो । यसले हामीलाई अझै ऊर्जा मिल्यो । पछि रेडियो नेपालको कन्ट्याक्ट कलाकारकै रूपमा हामीले काम थाल्यौं ।

ठालुले पारिश्रमिक हडपेपछि सडकमा

रेडियो नेपालबारे हामीले जस्तो परिकल्पना गरेका थियौं, त्यस्तो पाएनौं । थिचोमिचो र अपमान गर्ने, अघि बढ्न नदिने काम भए । कतिसम्म भने, ठूलाबडा कलाकारहरूले हामीले प्रतिगीत पाउने १० रूपैयाँ नै नदिने र आफैं खाइदिने गर्न थाले ।

रेडियो नेपालमा हामीले गीत गाउँदा प्रतिगीत पारिश्रमिक १० रूपैयाँ थियो । जसको भ्यालु त्यतिबेला निकै ठूलो थियो । तर हामीले धेरै गीतको पारिश्रमिक नै पाएनौं, ठूला बडाले खाइदिए । यी तिनै कलाकार हुन् जो अहिले वरिष्ठ कलाकारका रूपमा चिनिन्छन् । पछि हामीले विशेष प्रहरीमा यसबारे मुद्दा नै हाल्यौं । रेडियो नेपालमा छापा मारियो । कलाकारहरूको भागाभाग भयो । कतिपय कलाकार यही कारण राजीनामा दिन बाध्य भए । हामीलाई कुट्ने, पिट्ने र मार्ने धम्की आउन थालेपछि हामी रेडियो नेपालबाट बाहिरियौं ।

यसपछि हाम्रो भेटघाट पारिजातसँग हुनपुग्यो । हाम्रो गीतले उहाँ प्रभावित हुनुहुँदो रहेछ । विचार मिल्ने भएपछि राल्फा आन्दोलन सुरु भयो र हामी सडकमा गीत गाउन थाल्यौं । पारिजात दिदीकोमा समकालीन साहित्यकार, लेखक आउनुहुन्थ्यो , त्यहीबाट राल्फा आन्दोलन सुरु भयो । पञ्चायत स्थापित हुन भर्खर–भर्खर लागिपरेका बेला शोषितपीडितका गीत गाउन थालेपछि सामन्तले खेद्ने र जनताले माया गर्न थाले । सानो खोलीबाट नदी, नदीबाट सागर र सागरबाट महासागर बनेजस्तै हामी स्थापित हुन पुग्यौं ।

पहिचान लुकाएर बालमन्दिरमा शिक्षण

कठीन समयमा हामीले जनताका गीत गायौं । संघर्ष त कति हो कति ? ज्यान हत्केलामा राखेर हिँड्यौं । एउटा प्रसंग । त्यतिबेला म बालमन्दिरमा गणित विषय पढाउँथें । मेरो औपचारिक नाम नारायणभक्त हो । बाल मन्दिरको अध्यक्ष तत्कालीन रानी रत्नराज्यलक्ष्मी थिइन् । त्यस्तो ठाउँमा म काम गर्थेँ । मैले ४८ वर्ष अविछिन्न शिक्षण गरेँ । नयाँ शिक्षा योजना लागू गर्नुभन्दा अगाडि मोडल स्कुल भनेर अधिराज्यमा पाँच स्कुलको खोजी भयो । त्यसमध्ये बालमन्दिर पहिलो नम्बरमा परेको थियो । त्यो विद्यालयमा म अन्तरवार्तामार्फत छानिएर पुगेको थिएँ । परिचय लुकाएर त्यहाँ ा काम गर्थेँ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म काम गर्थें र त्यसपछि जनताको गीत गाउँथेँ ।
पुलिसहरू यही पसेको छ भन्दै बालमन्दिरमा मलाई खोज्न आउँथें तर हाम्रै साथीहरूलाई पनि मेरो अर्को परिचयबारे थाहै थिएन । बाहिर सशक्त रूपमा सामन्ती राजाविरुद्ध काम गर्ने तर त्यहाँ गएर उनीहरूसँगै मिलेर काम गर्नुपर्ने ! मलाई सधैं थाहा पाएर केही गर्ने पो हुन् कि भन्ने आसन्न त्रासले सताइरहन्थ्यो ।

म मन पराइएको शिक्षक थिएँ । मैले पढाएका कैयन विद्यार्थी डाक्टर, सचिव, इन्जिनियर छन् । परिचय लुकाएर गरेको यो काम अविष्मरणीय लाग्छ ।

त्यसपछि तान्यो कम्युनिस्ट विचारले

गाउँमा थिचोमिचो, अन्याय, अत्याचार, अभाव, गरीबी सबै देखेँ मैले । सानैदेखि यस्तो दुःख देखेको हुनाले मलाई यस्तो परिवेशले छुन्थ्यो । सात सालको परिवर्तनपछि ओखलढुंगामा कांग्रेसहरूको उपस्थिति बलियो भयो । मामाको छोरा मेघबहादुर श्रेष्ठ जिल्लामा कांग्रेसको संगठन सुरु गर्ने नेता हुनुहुन्थ्यो । तैपनि, ठूलो भएपछि दुःखी गरिबबारे बोल्ने कम्युनिस्ट रहेछन भनेर बुझियो । नेपाललाई भारतबाट आउने दबाबविरुद्ध कम्युनिस्टहरु बोलिराख्ने भएकाले कम्युनिस्ट विचारले तान्यो ।

बमप्रसाद कोइराला र नारायणबहादुर गुरुङ मेरा शिक्षक हुनुहुन्थ्यो । उहाँहरूले बारम्बार कम्युनिस्टबारे बताउनुहुन्थ्यो । धनी गरिब भन्ने कम्युनिस्ट पार्टीमा हुँदैन भन्ने उहाँहरूबाटै थाहा पाएको हुँ । यसले मनमा कम्युनिस्टबारे राम्रो छाप पार्यो । ठूलो हुँदै जाँदा कोसी, गण्डकमाथि भारतले गरेका अतिचारबारे बुझियो । यी कुरा कम्युनिस्टले उठाएकाले यसमा आउन विशेष प्रभाव पार्यो होला भन्ने लाग्छ ।

महेन्द्रको त्यो निम्ता

२०२४ सालमासांगीतिक रूपले चर्चित समूह थियो, राल्फा । एक दिन राजा महेन्द्रले हाम्रो गीत सुन्ने इच्छा राखे । पुस १ गते पञ्चायत दिवस मनाइने गरिन्थ्यो । रेडियो नेपालमा सँगै काम गर्दाका साथी महेन्द्र खनाल प्रज्ञा प्रतिष्ठानका महाप्रबन्धक थिए । राजाले अमेरिकामा हाम्रै शैलीको गीत सुनेका रहेछन् । यो सुनेर राजा महेन्द्रले खनाललाई ‘हाम्रोमा यस्ता कलाकार छैनन्’ भनी सोधनी गरेछन् । खनालले राल्फा भएको बताएपछि राजाले प्रस्तुत गर्न आदेश दिएछन् । उनले साथी भएकाले ल्याउने वचन राजालाई त दिए तर हामी त्यस्तो कार्यक्रममा गीत गाउन जानेवाला थएनौं । किनकि, जनताको मायाले हामीभित्र अहं बढिसकेको थियो । हामीबीच उक्त कार्यक्रममा जाने/नजाने विषयमा लामो विवाद नै भयो । अन्तिममा हामी जाने निष्कर्षमा पुग्यौं । तर हाम्रो यसमा आफ्नै सर्त थिए । सर्त अनुसार हामीले गीत गायौं । कुन गीत गाएका थियौं, त्यो त अहिले बिर्सिएँ, तर हामीले राजाको बीचमा अन्य कार्यक्रममा जस्तै गरी गीत गाएका थियौं । यो कुरा मलाई अविष्मरणीय लाग्छ ।

परिचय खुल्दा सबै चकित

शिक्षण पेसामा लागेको, त्यो पनि रानी नै अध्यक्ष भएको विद्यालयमा काम गरेर तिनका विरुद्ध गीत गाउन सजिलो थिएन । बिदाको समयमा म अधिराज्यव्यापी अभियानमा लाग्थेँ । ०४६ को आन्दोलनपछि मात्रै मानिसहरूले यसबारे थाहा पाए । यो आन्दोलन शिथिल हुँदै गएपछि लेखक, कवि, कलाकारलगायतले चैत्र ३ गते एउटा अभियान चलाएका थियौं । त्रिचन्द्रमा कालोपट्टी लगाएर विरोधसभा गरेका थियौं । यो विषयलाई देशविदेश सबैतिर पुर्याउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डाकिएको थियो । पारिजात दिदीलाइ म आफैंले बोकेर लगेको थिएँ । तर हाम्रो कार्यक्रम विथोलियो । सबैलाई जेलमा लगियो । जेलबाट छुट्ने बेला टिभीले हाम्रो अनहार देखायो । त्यसपछि बल्ल म परिचित भएँ ।

गाउँले परिवेश, भोगाइ नै हाम्रो सिर्जनाको स्रोत हो । ०६२/०६३ मा नेताहरू बदनाम भएका बेला हामीले नागरिक आन्दोलन उठायौं । तर अहिले हामीले गाएका जनमुखी गीत कसैले बजाउँदैन । हाम्रा रेडियो, टिभी जनमुखी नै छैनन् । सरकार पनि हामीले गाएका गीत संरक्षण गर्ने पक्षमा छैन । किनकि, हाम्रा गीत अहिले नेताहरूलाई पोल्ने भएको छ ।

(कुराकानीमा आधारित)